छटपटीमा प्रचण्ड, अनेक खेलका सङ्केत

छटपटीमा प्रचण्ड, अनेक खेलका सङ्केत


प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको असफलताको प्रतीक्षा विपक्षीहरूभन्दा बढी सत्तारुढ पक्षभित्रै ज्यादा भइरहेको पाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेताहरू सरकारबाट परिणाममुखी काम नभइरहँदा कसरी सरकारलाई सफल बनाउनेभन्दा पनि असफल प्रमाणित गरेर नेतृत्व बदल्ने घडीको प्रतीक्षामा रहेका छन् । पार्टीका मुख्य नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड र वामदेव गौतम केपी ओलीको सहयोगी भूमिकामा रहेको महसुस प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म गरेको छैन । बरु उनीहरू प्रधानमन्त्री असफलसिद्ध भएको हेर्ने दिनको प्रतीक्षामा रहेको महसुस सचिवालयसम्बद्ध अधिकारीहरूले गरेका छन् ।

त्यसो त प्रधानमन्त्री ओली स्वयम् पनि आन्तरिक बैठक तथा छलफलहरूमा पर्याप्त काम हुन नसकेको बताउने गर्दछन् । ओलीले पार्टीका कतिपय नेताहरू असहयोगी रहेको महसुस गरेका भए पनि उनीहरूको कारणले सरकार प्रभावकारी बन्न नसकेको उनी ठान्दैनन् । सरकारमा सम्मिलित कतिपय मन्त्रीहरूको कार्यशैली र कर्मचारीहरूको असहयोग सरकारको अप्रभावकारिताको मुख्य कारण बनेको ठम्याई प्रधानमन्त्रीको भएको बताइन्छ । माओवादी मन्त्रीहरूको भूमिका र क्रियाकलाप आफ्नो भावना र चाहनाभन्दा भिन्न रहेको ठम्याई पनि प्रधानमन्त्रीको छ ।

एमाले–माओवादी एकीकरणका क्रममा केपी ओली र प्रचण्डबीच भएको गुप्त सहमतिअनुसार ओलीले प्रधानमन्त्रीका रूपमा तीन वर्षसम्म काम गर्न सक्नेछन् । पाँचवर्षे कार्यकालको पछिल्लो दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । त्यस्तै, पार्टीको आगामी (एकता) महाधिवेशनमा निर्वाचन नगराई सहमतिका आधारमा अध्यक्ष चयन गर्ने भन्ने औपचारिक दस्तावेजमा उल्लिखित छ । तर, ओली–प्रचण्डबीचको गुप्त सहमतिमा प्रचण्डलाई नै पार्टी अध्यक्ष बनाइने व्यहोरा उल्लेख भएको बताइन्छ ।

यसप्रकारको सहमति बनेको भए पनि प्रचण्ड आफ्नो भविष्यप्रति ढुक्क हुन सकेका छैनन् । उनी ढुक्क हुन नसक्नुका केही कारण रहेका छन् । पहिलो, केपी ओलीले गुप्त सम्झौताको इमानदारीपूर्वक पालना गर्छन् भन्ने विश्वास प्रचण्ड गर्दैनन् । दोस्रो, ओलीसँग भएको गुप्त सम्झौता पालन गर्न एमाले पक्षका अन्य नेताहरू बाध्य नहुने प्रचण्डको बुझाइ छ । तेस्रो, कदाचित केपी ओलीलाई बीचैमा केही भइहाल्यो भने त्यस्तो अवस्थामा सजिलैसँग पार्टी र सरकार दुवैको नेतृत्व हात लाग्नेमा प्रचण्डलाई शङ्का छ । यस्तै कारणहरूले गर्दा प्रचण्ड वामदेव गौतमलाई संसद्मा प्रवेश गराएर वैकल्पिक प्रधानमन्त्रीका रूपमा राखिछाड्ने र खेल खेल्ने योजनामा थिए । एकप्रकारले पाँच वर्षका लागि थन्किएका वामदेव गौतम सांसद बन्ने र त्यसपछि अल्पकालकै लागि भए पनि प्रधानमन्त्री बन्न पाउने कुराले निकै हौसिएका थिए । गौतमलाई यसरी हौस्याउन प्रचण्डको मुख्य भूमिका थियो ।

रामवीरले राजीनामा दिइसकेपछि भएको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई कटाक्ष गर्दै ‘कसले के–के गर्दै छ र यसमा छिमेकी राष्ट्र कसरी लागेको छ’ भन्ने जानकारी आफूले पाएको बताएका थिए । ओलीको कटाक्ष आफूतिर भएको ठानेपछि प्रचण्डले तत्काल प्रतिक्रिया जनाउँदै ‘खोइ मलाई त भारत यसरी लागेको होला भन्ने लाग्दैन’ भन्ने जवाफ दिएका थिए ।

वामदेव आफ्नो निम्ति अनुकूल पात्र हुन सक्ने र उनलाई उपयोग गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने मार्ग सहज बनाउने जाल प्रचण्डले बुनेका थिए । कथंकदाचित सहमतिबमोजिमको तीन वर्ष नपुग्दै केपी ओलीले विश्राम लिने स्थिति बन्यो भने बाँकी अवधिमा एमाले पक्षको दाबी हुन सक्ने र त्यस्तो अवस्थामा माधवकुमार नेपाल प्रधानमन्त्री बने भने ओलीसँग भएको सम्झौताको कुनै अर्थ नरहने, बरु माधव नेपाल आफैँ पार्टी अध्यक्ष बन्न अग्रसर रहने बुझाइ प्रचण्डको छ । त्यसैले वामदेवलाई संसद्मा छिराएर माधव नेपालको समेत बाटो छेक्ने योजना प्रचण्डले बनाएका थिए । रामवीर मानन्धरलाई सांसद पदबाट राजीनामा दिन लगाएर उनको निर्वाचन क्षेत्रबाट वामदेवलाई सांसद बनाउने योजनामा मुख्य भूमिका प्रचण्डकै थियो । तर, केपी ओलीले रामवीर प्रकरणलाई सजिलै अन्त्य गराइदिए ।

रामवीरले राजीनामा दिइसकेपछि भएको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई कटाक्ष गर्दै ‘कसले के–के गर्दै छ र यसमा छिमेकी राष्ट्र कसरी लागेको छ’ भन्ने जानकारी आफूले पाएको बताएका थिए । ओलीको कटाक्ष आफूतिर भएको ठानेपछि प्रचण्डले तत्काल प्रतिक्रिया जनाउँदै ‘खोइ मलाई त भारत यसरी लागेको होला भन्ने लाग्दैन’ भन्ने जवाफ दिएका थिए । रामवीर प्रकरण असफल भएपछि प्रचण्डको छटपटी निकै बढेको छ । यस घटनापश्चात् भित्री छटपटी बढेको भए पनि प्रचण्ड बाहिरी रूपमा केपीलाई रिझाउन लागिपरेका छन् । केपीलाई भड्काउनु प्रत्युत्पादक हुने ठानेर प्रचण्ड सरकारको बचाउ गर्ने र केपीलाई बिझाउने प्रकारका कुनै पनि क्रियाकलाप केपीले सुइँको पाउने गरी नगर्ने निष्कर्षमा पुगेका छन् । रामवीर प्रकरणमा असफलतापछि प्रचण्ड मात्र होइन, वामदेव गौतम र माधवकुमार नेपालसमेत मत्थर बनेको ठहर प्रधानमन्त्रीको सचिवालयले गरेको छ ।

बालुवाटार सूत्रबाट प्राप्त जानकारीअनुसार वामदेव गौतम अन्ततः केपी ओलीकै खास सहयोगी भूमिकामा आउनेछन् र माधव नेपालबाट पनि अब ओलीलाई अप्ठ्यारो पर्ने भूमिका निर्वाह हुनेछैन । यदि बालुवाटारले विश्वास गरेजस्तै स्थिति बनेको हो भने यसले प्रचण्डमा थप छटपटी बढाउने निश्चित छ । तर, प्रचण्ड अन्तर्राष्ट्रिय सहयोग र समर्थन प्राप्त व्यक्ति भएकोले उनी सजिलै हार मान्ने स्थितिमा देखिँदैनन् । माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न सहयोग गरेर आफू पार्टी अध्यक्ष बन्ने र त्यसपछि माधवलाई विस्थापित गरेर प्रधानमन्त्री पदसमेत हात लगाउने रणनीतिक चालमा प्रचण्ड रहेको उनकै निकटवर्तीहरूले बताउन थालेका छन् । माधव नेपालसँग सहमति बनेमा संसदीय दलको नेताबाट ओलीलाई हटाउन माधवलाई अघि सार्ने सोच प्रचण्डले बनाएको बुझिन्छ । जे होस्, अहिले प्रचण्ड निकै ठूलो छटपटीमा छन् । बाहिरी शक्तिको बलियो साथ पाएर पनि पार्टीभित्रै आफ्नो अनुकूल परिस्थिति बनाउन नसकेकोले उनको छटपटी बढेको बुझिन्छ ।

यसरी सत्तारुढ दलभित्र एकप्रकारको तनाव बढिरहँदा विपक्षी नेपाली काङ्ग्रेसलगायतको भूमिका शिथिल देखिएको छ । यति नै बेला नेपालबाट कम्युनिस्ट सत्तालाई विस्थापित गर्ने योजना विभिन्न शक्तिकेन्द्रहरूले बनाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । शक्ति केन्द्रहरूले आगामी दुई महिनाभित्रै आप्mनो सामथ्र्य देखाउन थाल्ने बुझिएको छ । यसो भएमा सरकार मात्र होइन, संविधानकै विकल्प खोजिने निश्चित छ ।