नेपालमा १३औँ सागको आयोजना अन्योलमा

नेपालमा १३औँ सागको आयोजना अन्योलमा


आगामी सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । उक्त निर्णय १३औँ साग तयारी तथा व्यवस्थापन समितिको बैठकले गरेको हो । कात्तिक ११ गते आइतबार बसेको बैठकले २०१९ को मार्चमा गर्ने भनिएको १३औँ सागलाई सोही वर्षको सेप्टेम्बरमा सार्न सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गराएका छन् ।

यसअघि भारतको गुहावटी र सिलोङमा सम्पन्न १२औँ सागको समापन समारोहमा नेपालले १३औँ सागको आयोजनाको जिम्मेवारी लिएको थियो । १३औँ सागको आयोजनाको जिम्मेवारी नेपालले लिए पनि सागको आयोजनासम्बन्धी कुनै कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले योजनाबद्ध रूपमा अहिलेसम्म कुनै कार्य गरेको छैन । भएको एउटा अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुनर्निर्माणसमेत समयमा गर्न सकेको छैन । अहिले ७० प्रतिशत कार्य सकिएको दशरथ रंगशाला पूर्ण रूपमा तयार हुन अझै ६ महिनाभन्दा बढीको समय लाग्ने निर्माणमा सम्बद्ध व्यक्तिहरूले जानकारी गराएका छन् ।

साँचो रूपमा भन्नुपर्दा नेपालमा आयोजना हुन गइरहेको र नेपालको प्रतिष्ठासमेत गाँसिएको १३औँ सागको आयोजनासम्बन्धी राखेपको बोर्ड बैठकसमेत दुई–तीनपटकभन्दा बढी बस्ने सकेको छैन । बोर्ड बैठक नै नबसी अर्थात् सरकारको आधिकारिक धारणा नै नआई खेलकुदका पदाधिकारीहरूले १३औँ साग नेपालमा निर्धारित समयमा हुने भन्दै ठोकुवा गर्दै आएका थिए । यो सवालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सबैभन्दा अघि देखिएका थिए । श्रेष्ठले नेपालमा मात्र नभई हालै इन्डोनेसियाको राजधानी जकार्ता र पालेवाङमा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगिताका क्रममा भएको ओलम्पिक कमिटी अफ एसिया (ओसीए) बैठकमा समेत नेपालमा निर्धारित समयमै १३औँ साग हुने दाबी गरेका थिए ।

उक्त ओसीएको बैठकमा नेपालले निर्धारित समयमा १३औँ सागको आयोजना गर्न नसक्ने भन्दै श्रीलङ्काले आफ्नो दाबीसमेत प्रस्तुत गरेको थियो । अब नेपालले सन् २०१९ को सेप्टेम्बर महिनामा १३औँ साग गर्ने प्रस्ताव सम्बन्धित निकायमा लाने निर्णय गरेपछि नेपालमा १३औँ सागको आयोजना अन्योलमा परेको छ । अब नेपालले सम्बन्धित निकायमा प्रस्ताव लगेपछि उसले कस्तो निर्णय गर्छ त्यो अहिले चासोको विषय बनेको छ ।

यसरी नेपालमा १३औँ सागको आयोजना हुने नहुने अन्योल कायमै रहेको अवस्थामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा व्यवस्थापन समितिको बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको समितिको तेस्रो बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सदस्यसचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जनाएका छन् ।

उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयम्सेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले, काठमाडौं महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पोखरा महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा पोखराका मेयर मानबहादुर जीसी र ललितपुर महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ ।

त्यस्तै मस्कट, लोगो, गीत र नारा मूल्याङ्कन तथा सिफारिस उपसमितिमा राखेपका सदस्यसचिव विष्ट, निर्देशिक तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्यसचिव विष्टलाई संयोजक तोकिएको छ ।