नेपाली खेलकुदका जिउँदो इतिहास जितबहादुर केसी

नेपाली खेलकुदका जिउँदो इतिहास जितबहादुर केसी


– श्रीविक्रम भण्डारी

उहाँ सेनामा हुनुहुन्थ्यो । त्यहाँको आन्तरिक प्रतियोगितामा दौडँदादौडँदै राष्ट्रिय खेलाडी बन्नुभयो । सेनाभित्रको एकजना सामान्य खेलाडीले देशकै प्रतिष्ठासँग गाँसिएको अन्तर्राष्ट्रिय कीर्तिमान राख्ला भन्ने कसैलाई अनुमानसम्म थिएन । तर, भयो त्यस्तै । उहाँ म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली धावक मात्र बन्नुभयो । र, नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाएर आफैँमा एउटा सिङ्गो इतिहास बन्नुभयो जितबहादुर केसी । रगतमा बगेको खेलकुदको नसाले होला अहिले पनि केसीले खेलकुदलाई माया मार्नुभएको छैन । उहाँ युवा अवस्थामा जति सक्रिय हुनुहुन्थ्यो अहिले पनि त्यति नै सक्रिय रूपमा खेलकुदको स्तरोन्नतिको लागि लागिराख्नुभएको छ । अहिले उहाँको दिनचर्चा भनेको नयाँ खेलाडीलाई प्रोत्साहन गर्नु र मार्गदर्शन गर्नेतर्फ केन्द्रित रहेको छ । यसरी खेलकुदमै लागेर तीतामीठा अनुभव संगालेका केसीले ओलम्पिक खेलकुदमा रगतको खोलो बगेको पनि प्रत्यक्ष रूपमा देख्नुभएको छ । जसले उहाँलाई खेलाडी भनेको के हो ? र, खेलाडीले राष्ट्रको गौरव अन्तराष्ट्रमा कसरी बढाउन सक्छ र त्यसको ठूलो पाठ सिकाएको छ ।

२००५ साल भदौ ४ गते दोलखाको पवटी गाविस वडा नम्बर ४ मा उहाँ जन्मँदा त्यहाँ कुनै हर्षबढाइँ भएको थिएन । तर, विर्खबहादुर केसीको परिवारमा जन्मिएको कान्छो करिब २५ वर्षपछि एकाएक चर्चामा आयो । रेडियोमा उसको नाम सुन्दा पवटीवासीहरू खुसीले उफ्रिए । त्यही कान्छो २०२१ सालमा गाउँबाट अचानक गायब भएको थियो । कान्छो अर्थात् जितबहादुर काठमाडौं आउँदा सेनामा भर्ती खुलेको रहेछ । उहाँ सेनामा भर्ती हुनुभयो । तालिमको बेला दौडँदादौडँदै उहाँले आफूलाई कुशल धावक सावित गर्नुभयो । त्यसपछि सेनाभित्रकै खेलाडी बनाएर उहाँलाई राष्ट्रिय टिममा पठाइयो । २०२८ सालमा वीरगञ्जमा आयोजित म्याराथन प्रतियोगिता केसीको खेलजीवनको आधारस्तम्भ बन्यो । उहाँले वीरगञ्जको उखरमाउलो गर्मीमा २ घन्टा ३८ मिनेटमा म्याराथन दौड पूरा गर्नुभयो । यसअघि कुनै नेपालीले यो दौड पूरा गर्न सकेको थिएन । पछि वीरगञ्जमा पाएको त्यो सफलता आफैँमा कीर्तिमान बनेको थियो ।

जितबहादुर रहरले भन्दा पनि बाध्यताले खेल क्षेत्रमा होमिनुभएको थियो । त्यतिबेला सेनाभित्रै गण– गणमा प्रतिस्पर्धा हुन्थ्यो । हरेक प्रतियोगितामा उहाँ पहिलो रोजाइमा पर्नुहुन्थ्यो । जागिरका लागि भए पनि खेल्नैपर्ने, दौडनैपर्ने बाध्यता थियो । दिनमा कम्तीमा ६०–७० किलोमिटर दौडनुपथ्र्यो । विस्तारै उहाँको नाम एथलेटिक्स क्षेत्रको अभिन्न अङ्ग बन्यो । उहाँले त्यसलाई छोड्नै सक्नुभएन । त्यतिबेला म्याराथन दौडने २–३ जना मात्र थिए । सन् १९७० मा बैंककमा आयोजित एसियन खेलकुद प्रतियोगितामा नेपालले पनि म्याराथनमा भाग लिने निर्णय ग¥यो । जितबहादुर केसी र गंगाबहादुर थापालाई त्यहाँ जाने अवसर जु¥यो । विदेश यात्राको पहिलो अनुभव, अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो अनुभव, नेपालले म्याराथनमा भाग लिएको पहिलो अनुभव हुँदाहुँदै पनि केसीले एसियाडमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँले उक्त म्याराथन दौड २ घन्टा ३५ मिनेटमा पूरा गर्नुभएको थियो । उहाँ त्यसबेला एसियाभरिका प्रतिस्पर्धीहरूबीच सातौँ हुनुभएको थियो ।

सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिन उहाँ जर्मनी जानुभयो । जर्मनीकै कोलनमीमा भएको छनोट चरणमा २ घन्टा २३ मिनेटमा म्याराथन दौड पूरा गर्दा उहाँ मात्र होइन, नेपाली टिमका सम्पूर्ण सहभागीहरू निकै उत्साहित भएका थिए । तर, फाइनलका दिन एउटा अस्वाभाविक घटना घट्यो । २१ किलोमिटर दूरी पार गरिसकेको अवस्थामा उहाँको खुट्टाको मसल फर्कियो र बीचैमा दौड टुङ्याउनुप¥यो । उहाँले जहाँ पुगेर दौड छोड्नुप¥यो त्यहाँभन्दा अगाडि दुई–तीनजना मात्रै थिए । अन्य सबैै प्रतिस्पर्धीहरूलाई उहाँले पछि पारिसक्नुभएको थियो । सन् १९७३ मा फिलिपिन्समा आयोजित एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा केसीले व्यक्तिगत जीवनमा मात्रै नभई नेपालको लागि एउटा उत्साहजनक प्रतियोगिता साबित भयो । त्यहाँ आयोजित म्याराथन प्रतियोगितामा उहाँले तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । त्यतिखेर उक्त म्याराथन दौड पूरा गर्न २ घन्टा २७ मिनेट लागेको थियो उहाँलाई । नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो नै पहिलो घटना थियो । विजयपछि खेलमैदानमा नेपालको झन्डा फहराइयो, केसीले पनि यो सफलतासँगै थुप्रै स्याबासी पाउनुभएको थियो । स्वदेश फर्कंदा केसीलाई एयरपोर्टदेखि नै सिन्दुरयात्रा गरेर शहर घुमाइएको थियो ।

खेलकुद क्षेत्रमै सीमित हुन जितबहादुर केसीले २०३७ सालमा सेनाको जागिर छोडनुभएको थियो । त्यतिखेरको ‘जम्दार जितबहादुर’ राखेपमा प्रवेश गरेपछि कहिले सहायक प्रशिक्षक बन्नुभयो त कहिले सडकछाप भूतपूर्व खेलाडी । परिषद्का पदाधिकारीहरूले उहाँलाई जहिले पनि भकुन्डो जस्तै खेलाइरहे ।

सन् १९७५ मा दक्षिण कोरियामा आयोजित एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा पनि उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँले दौड पूरा गरेको समय २ घन्टा २४ मिनेट मात्रै थियो । यसैबीच उहाँले १३ वटा राष्ट्रिय प्रतियोगितामा भाग लिनुभएको थियो । प्रायः सबैमा पहिलो स्थान हासिल गर्नुभयो । तीमध्ये दुईवटा म्याराथन प्रतियोगिता थिए र बाँकी ५ देखि १० हजार मिटरका दौडहरू । पछि बैंककमा आयोजित आठौँ एसियाली खेलकुदमा भाग लिएपछि उहाँले सक्रिय खेलजीवनबाट अवकाश लिनुभएको थियो ।

पहिले गंगाबहादुर थापा उहाँको सहकर्मी थिए, पछि वैकुण्ठ मानन्धर आए । मनिला र कोरियामा केसी तेस्रो हुँदा वैकुण्ठ चौथो भएका थिए । आफ्नै सहयात्री वैकुण्ठले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा लगातार पहिलो भएर नयाँ कीर्तिमान बनाउँदा केसीलाई निकै खुसी लागेको थियो । आफ्नो सङ्घर्षपूर्ण खेलजीवनको सम्झना गर्दै केसीले भन्नुभयो, ‘त्यतिबेला लक्ष्मण शाह र मधुशमशेर राणा कोच थिए । एक गिलास दूध खान पनि समस्या थियो, बजेट नै थिएन । बाहिर जाँदा ५ रुपैयाँको डाइट खुवाउँथे । एकजोर जुत्ता किन्न पनि समस्या हुन्थ्यो । सेनातर्फ ७० रुपैयाँको तलब थियो । मरिमरि छाक कटाइकटाइ चाइनिज सेतो जुत्ता किन्यो, त्यो पनि धेरै दिन टिक्दैनथ्यो । कहिलेकाहीँ फाटेको जुत्ता लगाएर पनि दौडनुपथ्र्यो । तर, अहिले त्यो स्थितिमा निकै सुधार आइसकेको छ । तर, खेलकुद परिषद्का मान्छेहरूसँग डाइटको कुरा लिएर अहिले पनि कचकच परिरहेको छ । तैपनि खेलाडीहरूले चित्त बुझाएर खेलिरहेका छन् ।’

खेलकुद क्षेत्रमै सीमित हुन जितबहादुर केसीले २०३७ सालमा सेनाको जागिर छोडनुभएको थियो । त्यतिखेरको ‘जम्दार जितबहादुर’ राखेपमा प्रवेश गरेपछि कहिले सहायक प्रशिक्षक बन्नुभयो त कहिले सडकछाप भूतपूर्व खेलाडी । परिषद्का पदाधिकारीहरूले उहाँलाई जहिले पनि भकुन्डो जस्तै खेलाइरहे । २०४९ सालमा त्यहाँका निर्दयीहरूले मेरो जागिर खाइदिए– केसी भन्नुहुन्छ । तर, केही समयपश्चात् फेरि उहाँलाई करारमा भर्ती गरियो, पछि स्थायी पनि बनाइयो । बाघदरबारको एउटा खोपीबाट शुरु भएको खेलकुद यति लामो समय बित्दा धेरै समुन्नत होला भन्ने आशा थियो, तर खै के हो, के हो ? तैपनि केही व्यक्तिहरूले खेलकुदमा गरेको योगदान मान्नैपर्छ । कुमार खड्गविक्रमले जग बसाउने काम गरे, शरदचन्द्रले सशक्त बनाए । यो कुरा नपत्याउने मान्छेले खेलकुद बुझेकै छैन– केसीले भन्नुभयो ।

जितबहादुरले पटकपटक निराशा र असन्तुष्टिका कुरा गर्नुभयो । आफ्नो प्रतिभाको यथोचित कदर नभएको पीडा सबैलाई हुन्छ– सायद यस्तै कुराले उहाँ पनि पीडित हुनुहुन्थ्यो । एउटा प्रसङ्ग यहाँ कोट्याऔँ– सन् १९७३ मा फिलिपिन्समा पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक ल्याउँदा उहाँलाई गोरखा दक्षिण बाहु तेस्रो दिने निर्णय भएको थियो । तर, पछि गोदवा पाँचौँ घोषणा भयो । उहाँ त्यतिबेला राष्ट्रिय प्रतियोगिताको सिलसिलामा विराटनगरमा हुनुहुन्थ्यो । शुरुमा एउटा आश्वासन दिने पछि अर्को निर्णय गर्ने परिपाटीसँग उहाँले असन्तोष व्यक्त गर्दै त्यो विभूषण अस्वीकार गर्नुभएको थियो । त्यतिखेर अधिराजकुमार बसुन्धरा, सुशीलशमशेर, खड्गजित बराल आदिले घर दिने, दिनको दश रुपैयाँ भक्ता दिने, मधेशमा जग्गा दिने आश्वासन दिएका थिए । त्यसैअनुसारको लेखापढी पनि भएको थियो, तर पछि कसले के गरे पत्तै भएन । यस्ता घटनाहरू धेरै भोगेका छन् जितवहादुरले । उहाँलाई २५ वर्षपछि तत्कालीन नेपाल खेलकुद मञ्चका अध्यक्ष श्रीविक्रम भण्डारीले सम्मान गरेका थिए । यसभन्दा अघि उनलाई कसैले सम्मान गरेको थिएन ।

लामो समय खेलकुदमा बिताएका जितबहादुरले जीवनमा कहिल्यै भुल्न नसक्ने एउटा अविष्मरणीय घटना सुनाए । जुन सन् १९७३ मा सम्पन्न म्युनिख ओलम्पिकमा घटेको थियो । ओलम्पिक स्पोर्टस् भिलेजको एउटा फ्ल्याटमा नेपाली टोली बसेको थियो । अर्को फ्ल्याटमा इजराली खेलाडीहरू बसेका थिए । मध्यरातमा नजिककैको फ्ल्याटमा गोली चल्योको आवाज आयो । कुमार खड्गविक्रम शाह, अधिराजकुमारी शारदा र शोभालगायत नेपाली टोलीका सबैलाई त्यो आवाजले स्तब्ध पा¥यो । भोलिपल्ट उज्यालो हुनासाथ बाहिर निस्कँदा पल्लो कोठामा रगतको खोलो देखियो । २–४ जना रगतपिच्छे भएर लडिरहेका थिए । अरू ९ जनालाई पाता फर्काएर एकै ठाउँमा बाँधिएको थियो र वरिपरि ४ जना अरबी घुमिरहेका थिए । एकजनाको हातमा ग्रिनेट थियो भने अरूले मेसिन गन बोकेका थिए । आफ्नै कोठाबाहिर त्यस्तो भयङ्कर दृश्य देख्दा जितबहादुरलाई सन्त्रासले छपक्कै छोपेको थियो । पछि मात्रै थाहा भयो केही अरबी आतङ्ककारीहरूले इजराली खेलाडीलाई बन्दी बनाएर इजरायलमा बन्दी बनाएका आफ्ना साथीहरूलाई छुडाउन यो आक्रमण गरेका रहेछन् । पछि सेनाले कारबाही गऱ्यो, गोली हानाहान भयो, हेलिकोप्टर जल्यो, देख्दादेख्दै केही मान्छे लास भए । यो घटनापछि ३–४ दिन नेपाली टोलीका सदस्यहरू सुत्न सकेनन् । ओलम्पिक खेल ३ दिन स्थगित भयो । कुनै पनि देशका खेलाडीले राम्रोसँग खेल्न सकेनन् ।