हेटौँडा–इनरुवा विद्युत प्रसारण लाइनका चार सय ६० टावर निर्माण

हेटौँडा–इनरुवा विद्युत प्रसारण लाइनका चार सय ६० टावर निर्माण


चार सय केभी विद्युत प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु. पाँच अर्ब २० करोडको लागतमा सो काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणमार्फत ठेक्कामा एआईएल भारत तथा एलटीबी जर्मनीद्वारा संयुक्त रूपमा निर्माण भइरहेको हेटाँैडादेखि इनरुवासम्मको २८५ किलोमिटर क्षेत्रमा ८९२ विद्युत टावर निर्माण भइरहेका छन् । हालसम्म ४६० टावर निर्माण भएका छन् । दुवै निर्माण कम्पनीबीच ३० महिनाभित्र ८९२ टावर निर्माण सम्पन्न गर्न सन् २०१३ अप्रिल दुईमा सम्झौता भएको थियो ।

हेटौँडादेखि इनरुवासम्म प्रत्येक ४०० मिटरको दूरीमा विद्युत प्रतिरोधात्मक टावर निर्माण भइरहेको एआईएल कम्पनीका प्रमुख प्रबन्धक दिनेशमान चन्द्राले बताए । खम्बा बनाउन जमिनको नक्सांकन, जंगलमा रुख कटानी, मुआब्जा वितरणलगायत काममा स्थानीय प्रशासनको ढिलासुस्ती र राजनीतिक असहयोग तथा भूकम्प तथा बाढीपहिरोका कारणले ढिलाइ भएको उनको भनाइ छ । समयमै प्रसारण लाइनको टावर निर्माण गर्न मुख्य ठेक्केदार कम्पनीले पिलर बनाउनका लागि १५ टावर ठड्याउन आठ कम्पनीलाई जिम्मा दिएको छ । ती कम्पनीले समयमै सम्पन्न गर्न तीव्र रूपमा काम गरिरहेका छन् । एउटा टावरको उचाइ ४५ मिटरदेखि ७० मिटरसम्म तथा २५ वर्ग मिटरदेखि ४७ वर्ग मिटरसम्म जग्गा आगटेको छ ।