भत्किएको कोठामा कार्यालय प्रमुख, रङ्गशालामा उम्रियो घाँँस

भत्किएको कोठामा कार्यालय प्रमुख, रङ्गशालामा उम्रियो घाँँस


दाङ जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा-दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।

सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ । गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन बोर्ड उप्किए पनि त्यसको मर्मत हुन सकेको छैन । ‘हामीले मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा भनेका छौँ’, कार्यालय प्रमुख शान्ति सोमैले भन्नुभयो- ‘तर सुनुवाइ भएको छैन ।’ कतिबेला माथिबाट सबै खसेर चोट लाग्ने भन्ने डरैडरमा बस्ने गरेको प्रमुख सोमैले दुखेसो पोख्नुभयो । विसं २०७६ मा उक्त भवन निर्माण भएको हो । दुईवटा कोठामा त्यस्तो समस्या देखिएको प्रमुख सोमैले बताउनुभयो ।

रङ्गशालामा उम्रियो घाँँस

त्यस्तै, यहाँको फुटबल रङ्गशालामा पनि घाँस उम्रिएको छ । त्यहाँ उम्रिएको घाँस काट्ने औजार छैन । घाँस काट्नका लागि सेनालाई गुहार्नुपर्छ । केही महिनाअघि घाँस काटेको भए अहिले पुनः पलाएर ठूलो-ठूलो भएको छ । त्यो मेसिन खरिदका लागि पनि पटकपटक माग गरेको भए पनि प्राप्त हुन नसकेको कार्यालय प्रमुख सोमैले बताउनुभयो । त्यसले गर्दा पनि यसरी घाँस उम्रिने गरेको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रियस्तरको उक्त रङ्गशालामा अठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका थिए । रु. २४ करोड २४ लाख लागतमा रङ्गशाला निर्माण भएको हो । दिवा एवं प्रतिष्ठा जेभीले भिआइपी प्यारापिटसहित रङ्गशाला निर्माण गरेको हो ।

रङ्गशालामा भिआइपी प्यारापिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ । रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ भिआइपी प्यारापिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ ।

रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्यारापिटमा चार सय १२ सिट छन् । रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्यारापिट निर्माण गरिएको छ । भिआइपी प्यारापिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो ।

रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा ‘बरमुडा’ दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको थियो ।

photo: rss