राजनीतिक शक्तिका अगाडि सधैँ बलि चढ्दै आएको खेलकुदले यसपटक भने राहत पाएको छ । करिब डेढ महिनाको घम्साघस्मी र रस्साकस्सीका बाबजुद खेलकुदमा यस्तो दृश्यालोकन भएको हो । एकले अर्कालाई पछार्ने अर्थात् एकले अर्काको अस्तित्वलाई स्वीकार नगर्दा पछिल्लो समय खेलकुदमा साँढे भिडन्त भएको थियो । अझ निषेधको राजनीति खेलकुदमा मौलाउँदा खेलकुदको मान, सम्मान र प्रतिष्ठा नै दाउमा लागेको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाबीच चर्किएको जुँगाको लडाइँले खेलकुदको विवाद छताछुल्ल हुँदा खेलकुद अराजकताको भुमरीमा परेको थियो । खेलकुदमा राजनीतिक हस्तक्षेप हुँदा विवाद चरम उत्कर्षमा पुगेको थियो । सो विवाद खेलकुदमा मात्र सीमित नरही अदालतसम्म पुगेको थियो । जसले गर्दा खेलकुदका दैनिक क्रियाकलापबाहेक अन्य नीतिगत कुराहरू ठप्प बनेका थिए । खेलकुद पदाधिकारीहरू खेलकुद सञ्चालन गर्नुभन्दा अदालतको चक्कर काट्न बाध्य भएका थिए । साँचो अर्थमा भन्नुपर्दा खेलकुद ‘पिँजडाको सुगा’ जस्तै बन्न पुगेको थियो । जसको प्रत्यक्ष प्रभाव खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई परेको थियो ।
खेलकुदको विवाद उत्कर्षमा पुगेको र प्रिय, अप्रिय जे पनि हुनसक्ने सम्भावना आवरणमा देखिएको अवस्थामा खेलकुदले राहत पाएको हो । यो राहत प्रदान गर्ने कार्य सम्माननीय सर्वोच्च अदालतले गरेको हो । सर्वोच्चले यही असार १० गते सदस्यसचिव लामालाई अन्तरिम आदेश जारी गर्दै खेलकुदको विवादलाई मत्थर गरेको हो । सर्वोच्चले यसअघि जेठ १९ गते अन्तरिम आदेश जारी गर्दै मन्त्री पौडेलको पत्रलाई कार्यान्वयन नगर्नू–नगराउनू भनेपछि लामाले पुन: राखेपको वागडोर सम्हालेका थिए । यसरी सोही अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म यही निर्णय कार्यान्वयन गर्न सर्वोच्चले पुन: आदेश दिएपछि खेलकुदका सम्पूर्ण विवाद सकिएका छन् । सर्वोच्चको यो दूरदर्शी निर्णयले कसैको पनि हार भएको छैन । उल्टै मन्त्री पौडेल, सदस्यसचिव लामा र खेलकुदको जित भएको छ । दुवैले राहत पाएका छन्, सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने अर्को अवसर प्राप्त गरेका छन् । जसलाई खेलकुदमा सकारात्मक रूपमा हेरिएको छ । सर्वोच्चको आदेशलाई लामाले राहतको संज्ञा दिँदै खेलकुदमा विवाद होइन, विकास गर्नुपर्छ भनेका छन् भने मन्त्री पौडेलले पनि सर्वोच्चको आदेशलाई सकारात्मक रूपमा ग्रहण गरेका छन् ।
मुद्दाको अन्तिम टुङ्गो लाग्ला या नलाग्ला त्यो आफ्नो ठाउँमा भए पनि अबको खेलकुदको दृश्य भनेको कानुनको पालना हो । जसका लागि मन्त्री पौडेल र सदस्यसचिव लामाले हात नमिलाई सुखै छैन । त्यसबाट मात्र समग्र खेलकुदको विकासको मार्गचित्र कोर्न सकिन्छ । अब पनि राजनीतिक निषेधलाई बढवा र प्राथमिकता दिने हो भने खेलकुद अराजकताको दलदलमा भासिने प्राय: निश्चित छ । तसर्थ भोलि प्रायश्चित गर्नुभन्दा आजै बुद्धिमतापूर्वक कार्य गर्दा खेलकुदको कल्याण हुनेछ । खेलकुदजस्तो सिर्जनात्मक ठाउँमा राजनीतिक दाउपेचको अवलम्बन गर्नु र व्यक्तिगत स्वार्थसिद्ध गर्नतर्फ अग्रसर हुनु आफँैमा अशोभनीय कुरा हो । तसर्थ पद र कुर्सीको भन्दा पनि खेलकुदको स्वार्थ के हो, त्यो दुवै पक्षले बुझ्नुपर्ने भइसकेको छ । असहयोगी भावनाले खेलकुदमा प्रत्युत्पादक असर पर्ने र खेलकुदको मर्ममाथि नै प्रहार हुने हुँदा खेलकुदका महारथीहरूले ठन्डा दिमागले सोच्नुपर्ने भइसकेको छ । अन्यथा बल्लतल्ल आशाको दियो जागेको खेलकुदमा पुन: आँधीको प्रवेश नहोला भन्न सकिँदैन ।
यतिबेला सर्वोच्चले आफ्नो निर्णय सुनाइसकेको अवस्था छ । त्यसको पालना गर्ने–नगर्ने त्यो अहिले अहम् विषय बनेको छ । सधैँ विवादको आगोले खेलकुदलाई झोसेर पीडा दिनुभन्दा नियम, कानुन र आपसी सहमतिले खेलकुदलाई निकासा दिनुपर्ने देखिएको छ । त्यसका लागि दुवै पक्षले खेलकुदलाई बलिको बोका बनाउनुभन्दा त्याग देखाउनुपर्ने अनिवार्य भइसकेको छ । राजनीतिक शक्तिको आडमा एउटाको रिसइबी साँध्न खेलकुदलाई अचानो बनाउन कदापि हुँदैन । तसर्थ अहिले पनि राम्रो कार्य गर्नका लागि केही ढिला भएको छैन । यो मुलुक सबैको हो, कुनै राजनीतिक दलविशेषको होइन, सरकार पनि मुलीजुलीको छ, खेलकुदमा पनि मिलेर कार्य गर्दा कुनै आकाश खस्नेवाला छैन । यो कुरा राजनीतिक दलदेखि कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता भइसकेको छ । खेलकुदलाई कुनै राजनीतिक दलको बिर्ताको रूपमा विकास गर्नुको साटो खेलकुदको विश्वव्यापी लोकप्रियतालाई आत्मसात् गर्दै खेलकुदको मात्र विकासमा लागे त्यो खेलकुदका लागि लाभदायक देखिन्छ । के थाहा– विश्व मानचित्रमा सार्वभौम राष्ट्रभन्दा पनि सगरमाथा र गौतमबुद्धको देशले चिनिने नेपाल भोलि खेलकुदको देशले पनि नचिनिएला भन्न सकिँदैन ।
आफ्नो स्थापनाको लामो समय दरबारको चार दिवारभित्र सीमित क्रिकेट खेलले छोटो समयमा पाएको सफलता अहिले नेपालका लागि गौरवको विषय बनेको छ । सीमित साधन–स्रोतका बाबजुद पनि ट्वान्टी–२० विश्वकपमा पुगेर ऐतिहासिक सफलता प्राप्त गरेको क्रिकेट टोलीले हालै अर्को ऐतिहासिक सफलता प्राप्त गरेको छ । हालै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ट्वान्टी–२० खेल्ने राष्ट्रको मान्यता दिएको छ । केही महिनाअघि बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले गर्दा आईसीसीले नेपाललाई यो मान्यता प्रदान गरेको हो । अब नेपालले एसोसिएट राष्ट्रसँग मात्र नभई टेस्ट क्रिकेट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, अस्टे«लिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, श्रीलंका, न्युजिल्यान्ड र बंगलादेशसँग ट्वान्टी–२० मा विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ जुन नेपालका लागि सुखद समाचार मात्र नभई मुलुको प्रतिष्ठाको विषयसमेत बनेको छ । तर, विडम्बना, यतिबेला क्रिकेट सङ्घका पदाधिकारीहरू भ्रष्टाचारको आरोपमा मुछिँदा यो ऐतिहासिक क्षण नुन नहालेको तरकारीजस्तै बनेको छ । सुनिनमा आएअनुसार क्रिकेट सङ्घको विघटन गर्नुपर्ने र नयाँ क्रिकेट सङ्घ गठन गर्नुपर्ने दबाबले क्रिकेट सङ्घको विवाद अझ पेचिलो बन्दै गएको छ । यहाँ पनि मन्त्री पौडेल र सदस्यसचिव लामाकै पौँठेजोरीले गर्दा क्रिकेट विवादले खेलकुदमा अर्को मल्लयुद्ध नहोला भन्न सकिँदैन ।
राखेपबाट सदस्यसचिव युवराज लामालाई हटाउन नसकेपछि क्रिकेटमा आँखा गाडेका मन्त्री पौडेलले लामालाई क्रिकेटको पुनर्गठन गर्न दबाबसहितको पत्र थमाइसकेका छन् । अख्तियारले पनि यस्तै पत्र राखेपलाई लेखेको छ । लामाले आफूले निर्वाचित कमिटीलाई कानुनविपरीत अर्थात् गैरकानुनी तरिकाले विघटन गर्न नसक्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । लामाले १० जना क्रिकेटका पदाधिकारीमाथि अख्तियारले मुद्दा चलाएको भन्दै २१ जनाको निर्वाचित कमिटीलाई कानुनविपरीत पुनर्गठन गर्न कसरी सकिन्छ ? उल्टै जवाफ मागेका छन् । क्रिकेटमा आन्तरिक समस्या छ, यसको हल पनि आन्तरिक सहमति र कानुनी प्रक्रियाबाट गर्न सकिन्छ । तर, आफ्नो मान्छे राख्न निषेधको राजनीति गरिन्छ भने त्यो कानुनसम्मत हुँदैन, यसले क्रिकेटको विवादमा आगोमा अझ घ्यू थप्ने कार्य हुन्छ । परिणाम हालै नेपालले हासिल गरेको ऐतिहासिक उपलब्धिसमेत धरापमा पर्न सक्छ ।
विद्यालय तेक्वान्दो महासङ्घमा भट्टराई
राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घको अध्यक्षमा टंकबहादुर भट्टराई चार वर्षका लागि निर्विरोध निर्वाचित चयन भएका छन् । हालै सम्पन्न महासङ्घको पहिलो साधारणसभाले भट्टराईको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको थियो । उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप शाह, उपाध्यक्षद्वयमा दीपिका थापा र सूर्य अधिकारी, महासचिवमा सूर्यलाल भण्डारी, उपमहासचिवमा शम्भुप्रसाद पोखरेल, चार सचिवमा प्रह्लाद दाहाल, सरस्वती रेग्मी, बुद्धिबहादुर थापा र दीपक सिलवाल तथा कोषाध्यक्षमा अक्कलबहादुर तामाङलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा केशव रिजाल, थानेश्वर बस्याल, पुस्कलराज पन्त, शंकर पौडेल, दिव्यराज कोइराला, विक्रम ढुकुचु, रवि श्रेष्ठ, शम्भुकुमार अधिकारी, विष्णुलक्ष्मी सिकर्मी, तप्तराज तिमल्सिना, हरिबहादुर माझी र थकिनकुमार गुरुङ रहेका छन् । साधारणसभाले राष्ट्रिय तेक्वान्दो युनियन, नेपालका अध्यक्ष शिव कोइरालालाई सर्वसम्मत संरक्षकमा चयन गरेको थियो । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद््का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । साधारणसभामा केन्द्र, मध्यमाञ्चल र १९ जिल्लाका जम्मा ५३ प्रतिनिधिको उपस्थिति रहेको थियो ।
धर्मश्री शारीरिक सुगठनको तयारी पूरा
तेह्रौँ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल व्यायाम मन्दिरले जनाएको छ । असार २० र २१ गते हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकका अध्यक्ष नारायण प्रधानले हालै पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विभिन्न ६ तौलसमूह ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथि प्रतिस्पर्धा हुनेछ । पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ । प्रि–जजिङबाट प्रत्येक तौलसमूहमा पहिलो हुने खेलाडी पुन: धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा पहिलो हुनेले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार, चौथोले ६० हजार, पाँचौँले ५० हजार र छैटौँले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रि–जजिङ राउन्डको प्रत्येक तौल समूहमा दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजारका दरले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितालाई हिरो मोटरबाइकको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गर्ने भएको छ । फाइनल चरण कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रि–जजिङ राउन्डका लागि प्रहरी तालिम केन्द्र, महाराजगञ्ज र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा कुरा भइरहेको अध्यक्ष प्रधानले जानकारी दिएका छन् । यो प्रतियोगिताको लोकेन्द्र परियार साविक विजेता हुन् । १२ संस्करणको समाप्तिसम्म नरेश महर्जन र सानु गुरुङले सर्वाधिक दुई–दुईपल्ट उपाधि जितेका छन् ।
तेक्वान्दोको दुई अन्तर्राष्ट्रिय सेमिनार हुँदै
नेपाल तेक्वान्दो सङ्घले असार महिनामा दुई अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ । हालै पत्रकार सम्मेलन गरी तेक्वान्दो सङ्घले सोको जानकारी गराएको हो । असार १७ देखि २२ गतेसम्म ३५औँ फोरेन इन्स्ट्रक्टर तेक्वान्दो मास्टर कोर्स हुनेछ । भारत, बंगलादेश, श्रीलङ्का र कतारका दुई सयजनाले भाग लिने सङ्घले बताइएको छ । त्यस्तै असार २१ र २२ गतेसम्म हान्मादाङ रेफ्री सेमिनार गर्ने तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले जानकारी दिए । सयभन्दा बढीले सहभागिता जनाउनेछन् । विगतमा कोरियामा मात्र हुने गरेको विश्व हान्मादाङ च्याम्पियनसिप अब नेपालमा पनि हुने भएकाले रेफ्री सेमिनार गर्न लागिएको तेक्वान्दो सङ्घले जनाएको छ ।
प्रतिक्रिया