सकियो गोदावरी पुष्प मेला, ६२ लाखको कारोबार

सकियो गोदावरी पुष्प मेला, ६२ लाखको कारोबार


१२ औं गोदावरी पुष्प मेला सकिएको छ । मेलामा ६२ लाखको कारोबार भएको हो ।

फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४४ हजार ५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरेका थिए ।

साथै प्रदर्शनीमा ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेला आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेलाको आयोजना गरेको थियो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४ सय ५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकारका स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर पूmल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।