इलाममा लगानी सम्मेलन, सुन्दरतामा भव्यता जोड्ने प्रयास

इलाममा लगानी सम्मेलन, सुन्दरतामा भव्यता जोड्ने प्रयास


यही कार्तिक अन्तिम साता इलाममा लगानी सम्मेलनको आयोजना गरिएको छ । राज्यले लिएको समृद्धिको नारालाई सार्थक तुल्याउन पूर्वी नेपालको इलाममा लगानी सम्मेलन गरिन लागिएको हो ।

इलाम नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला उद्योग बाणिज्य संघ इलामको संयुक्त आयोजनामा यही कात्तिक २५ गते सम्मेलनको आयोजना हुने भएको हो ।

सम्मेलनको पूर्व तयारीको क्रममा काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले लगानीको लागि इलाममा सम्पूर्ण आधार तय भइसकेकोले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उनले लगानीका लागि रहेका जटिलता केलाइदिन निजी क्षेत्रलाई आग्रह गर्दै भएका कमी कमजोरी हटाउन सरकार तयार रहेको बताए । कार्यक्रममा पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको सौन्दर्य, सुसंस्कृत समाज र सहयोगी वातावरण लगानीका लागि महत्वपूर्ण भएको बताए । उनले लगानीको सहजता लागि कस्तो कानून बनाउने हो त्यस्का लागि निजी क्षेत्रको सुझावको सरकारले सम्मान गर्ने प्रष्ट पारे ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले इलामको धेरै क्षेत्रमा महासंघले लगानी गरेको चर्चा गर्दै अर्को बर्ष महासंघकै अगुवाईमा इलाममा लगानी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

कार्यक्रममा सांसद एवं उद्योगी उमेश श्रेष्ठ, महासंघका पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, उपाध्यक्ष शेखर गोल्छा, चन्द्र ढकाललगायतले लगानीका लागि बन्नुपर्ने शर्त र वातावरणमाथि प्रकाश पारेका थिए ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले लगानीका लागि निजी क्षेत्रले खोजेको र चाहेको वातावरण नगरपालिकाले तयार गरिसकेको बताए ।