१३ लाख रुपैयाँको लागतमा २२७ किलोको कागको मूर्ति स्थापना

१३ लाख रुपैयाँको लागतमा २२७ किलोको कागको मूर्ति स्थापना


कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने कागतिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्पराअनुसार पूजा गराएको थियो । मन्दिर २२७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित भएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी रु. १३ लाखको लागतमा २२७ किलो पित्तललगायत धातुबाट सो मूर्ति बनाइएको हो ।

यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । प्रदेश सभा सदस्य फुयाँलले गोकर्णेश्वरस्थित राष्ट्रिय शहीद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, तारेभिर, श्वेतवाराही, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी, लोकतान्त्रिक शहीद उद्यान, मणिचूड, चिसापानी, गोल्सेभञ्ज्याङ, झुले, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायांकनस्थलका रूपमा विकास गर्न प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख विन्दु सिंखडा, नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेललगायतले उपत्यकाको सेरोफेरोमा रहेका पर्यटकीय स्थलको विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न तीनै तहका सरकारकाबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

०४८ को संसदीय निर्वाचमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले संसदमा बोल्ने क्रममा पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्ने बताउएका थिए । जननेता भण्डारीको यो विचार ‘संसदमा मदन भण्डारी’ नामक पुस्तकमा पनि उल्लेख गरिएको छ ।

नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी–शहीद उद्यानसम्मको सडक निर्माणका लागि ३ नं. प्रदेश सरकारले रु. ३८ करोड बजेट छुट्याएको छ । केही दिनमै यो मार्गको बोलपत्र आह्वान हुन लागेको जनाइएको छ । यो सडकलाई गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्य रहेको प्रदेश सभा सदस्य फुयाँलले बताए । शहीद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाउने अभियान शुरु भएको जनाइएको छ । वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ ।