भियनामा नेपाली चलचित्र छक्का पन्जा-३ हेरेर दर्शक सन्तुष्ट

भियनामा नेपाली चलचित्र छक्का पन्जा-३ हेरेर दर्शक सन्तुष्ट


Sagar Subedi, Austria

अष्ट्रियाको राजधानी भियनामा भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विदेशस्थित संगठित वैचारिक सामाजिक संस्था ‘प्रवासी नेपाली एकता मञ्च’को आयोजनामा नेपाली चलचित्र छक्का पञ्जा-३ प्रदर्शन गरिएको छ । एउटा राजनैतिक विचारधारा बोकेको संस्थाले गरेको कार्यक्रम भए पनि फिल्म हेर्नको लागि अष्ट्रियाका विभिन्न संघीय राज्यमा बसोबास गर्दै आइरहेका नेपालीहरुका साथै भियनावासी नेपालीको बाक्लो सहभागिता देखिन्थ्यो । चलचित्रको प्रदर्शनीमा लगभग १८० भन्दा धेरै नेपालीहरूको उपस्थिति रहेको थियो र हास्यविधाका चिरपरिचित कलाकार भएको कारणले पनि हुनुपर्छ, योभन्दा अघि प्रदर्शित चलचित्रहरु भन्दा यसपटक अलिक बढि चासो र खुल्दुली पनि देखियो ।

मनोरन्जनात्मक तथा सन्देशमुलक चलचित्र भएर होला परिवारका सदस्यहरुका साथमा बालबालिका पनि आफ्ना बाबुआमासँग चलचित्र हेर्न हलसम्म आएको देखियो । चलचित्र हेर्न विभिन्न सामाजिक संस्थाका प्रतिनिधि मात्र नभएर नेपाली दुतावासबाट महामहिम राजदुतलगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । त्यसमाथि अष्ट्रियामा हरेक शनिबार र आइतबार छुट्टी हुने कारणले हुनसक्छ नेपाली राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो चलचित्रप्रति सबै क्षेत्र, मजदुरी, ब्यवसाय नेपाल सरकारको कुटनीतिक कर्मचारीहरुको लागि पनि उत्तिकै चासो रहेको बुझियो । हालसम्म आएकामध्ये जतिले चलचित्र हेरे अष्ट्रियावासी नेपाली दर्शकहरुले छक्का पञ्जा-३ प्रदर्शनबाट भरपुर मनोरञ्जन लिएका थिए ।

चलचित्र प्रदर्शनकै विषयलाई लिएर पंक्तिकारले चलचित्र हेरेर आएका दर्जन जति गैरआवासीय अष्ट्रियावासीसँग टेलिफोनमार्फत प्रतिक्रिया लिएको थियो । जसमध्ये संस्थाका वर्तमान प्रस्तावित महासचिव तथा पूर्व गैरआवासीय नेपाली संघ आइसीसी सदस्य रविन्द्र भट्टराईले परदेशमा बसेका नेपालीहरूलार्इ दशैं र तिहारको बीचमा नेपाली फिल्म देखाएर भरपुर मनोरञ्जन गराउने प्रमुख उद्देश्य भए पनि भर्खर स्थापना भएको संस्थालार्इ आर्थिक रूपमा मजबुत गराउनु पनि थियो भन्दै हाम्रै पहलमा हिजोका दिनमा पनि मनोरञ्जन तथा विभिन्न सामाजिक क्रियाकलापको लागि चलचित्र प्रदर्शन गरिएका हुन् र थिए, तर अब यदि हामीले बेलाबेलामा परिवारसंग बसेर हेर्न सकिने यस्तै खालका चलचित्रहरु नेपालमा बन्दै गए भने यहाँ जन्म लिएका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपालप्रतिको मायाले नजिक बनाउने बताए ।

उनले थपे, ‘यसो गर्दा नेपाल बुझ्न पनि मद्दत पुग्ने हुँदा आगामी दिनमा पनि हामी यस्ता सामाजिक सन्देशयुक्त तथा भरपुर मनोरन्जनात्मक चलचित्र अष्ट्रियावासी नेपालीमाझ प्रदर्शन गाराउने कोसिस गर्नेछौँ । नेपालीहरु जहाँ बसे पनि नेपाली कलाकार तथा चलचित्रलार्इ माया गर्दा रहेछन् भन्ने मैले बुझ्न पाएँ ।’

चलचित्र प्रदर्शनकै सन्दर्भमा जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष भुपेन्द्र गुरुङसँग प्रवासमा रहेर नेपाली चलचित्र हेर्नुको मज्जा कस्तो भयो र यसरी नेपाली चलचित्र प्रदर्शन गर्दै जाँदा नेपाली दोस्रो पुस्ताको लागि कस्तो सन्देश जाला भनी प्रतिक्रिया माग्दा गुरुङले भने, ‘सर्वप्रथम यो चलचित्र कुनै पार्टीविशेषले ल्याएर प्रदर्शनी गरेको कुरामा म अनविज्ञ नै थिएँ, तैपनि मलाई यो विषयले कुनै चाहिँ परेन । चलचित्र हेर्न जानु भनेको मनोरञ्जन लिनकै लागि हो । अर्को अर्थमा भन्नुपर्दा नेपाली चलचित्रहरु हामी नेपालीले हेरिदिँदा हाम्रा नेपाली कालाकारहरुप्रति न्याय हुन्छ, हाम्रा कलाकारको चलचित्र हामीले नेहेरे कसले हेर्ने त ? हामीले हेरेर हौसला दिने हो भने अर्कोपटक अझ राम्रो काम गरेर दर्शक माझ आउन सक्छन् । त्यसमाथि पनि मनोरञ्जन त हुँदै भयो, सन्देशमुलक चलचित्र बनिदिँदा हाम्रा बालबच्चाहरुले नेपाल, नेपाली परिवेश, थोरधेर चालचलन र संस्कृति पनि बुझ्ने मौका पाउँछन् । यसले बालबालिकाहरुमा नेपालप्रतिको नजिकपन अझ बढेर आउँ । त्यसैले यस्ता चलचित्रहरु डायस्पोरामा आइरहेकै राम्रो हुन्छ ।’

छक्का पन्जा-३ लाई हलमा चलाउने व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ अष्ट्रियाका वरिष्ठ उपाध्यक्ष विनोद चौलागाई तथा समाजसेवा गर्दै आइरहेका लोकबहादुर श्रेष्ठले लिएका थिए भने यो प्रदर्शनीबाट केही रकम बचाउन सकियो भने संस्था तथा आगामी दिनमा केही संस्थागत तथा सामाजिक क्रियाकलापमा लगाउने र यस्ता कृयाकलापहरूमा केही थप गरी नेपालीहरूलार्इ परदेशमा विभिन्न मनोरन्जनात्मक कृयाकलाप लगायत अन्य विशेष कृयाकलाप गर्नका लागि संस्थाले छलफल गर्ने आयोजकबाट जानकारी प्राप्त भयो।

छक्काा पञ्जा-३ पूर्णतया पारिवारिक फिल्म मात्र नभएर सामाजिक ज्ञान दिने फिल्म पनि रहेको कुरा फिल्म हेरेर आउने दर्शकहरूको प्रतिक्रियाबाट प्रस्ट बुझिन्थ्यो । चलचित्रमा गाउँघरमा सरकारी स्कूलमा हुने राजनैतिक प्रभाव र त्यसले बिगारेको शिक्षा प्रणालीलार्इ जोडदार ब्यंग्यात्मक ढंगले प्रहार गर्दै दर्शक हँसाउन कलाकारहरू पूर्ण रूपमा सफल भएको दर्शकहरूले बताए ।


तस्बिर : विनोद चौलागाई