राष्ट्रिय चलचित्र अवार्ड पाउनुको महत्व बुझेका कलाकर्मीहरू पात्रचयनमा गम्भीरता नअपनाइएकाले पाउनुपर्नेले नपाएको भन्ने अत्तो थाप्दै दुःखी बनेका छन् । आश गरेर नपाउनेहरू दुःखी बन्नु स्वाभाविकै हो । तर, यहाँ त पुरस्कृत हुनेले पनि दुःख मनाउ गरेर सबैलाई आश्चर्यमा पार्न थालेका छन् । राष्ट्रपतिको हातबाट वितरण गरिएको राष्ट्रिय चलचित्र अवार्डको गरिमा, सम्मान र वजनप्रति नै नकारात्मक गफ गरेर कतिपय कलाकार उचालिन थालेका छन् । कतिपयचाहिँ सडकमा बसेर चिया पिउँदै अवार्डको बारेमा अनर्गल कुरा गर्दै भन्न थालेका छन्, ‘अवार्ड पाउने नै खुसी नभएको यस्तो अवार्डको के अर्थ ?’ नीता ढुङ्गाना नामकी नायिकाले आफूले पाएको अवार्डकै विरुद्धमा नराम्रो धारणा र गलत कुरा अभिव्यक्त गर्दै हिँडेपछि अवार्डविरोधीहरूलाई बल पुगेको हो ।
चलचित्र विकास बोर्डले पहिलोपटक भव्य रूपमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा चलचित्र ‘मसान’बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी नीता ढुङ्गानालाई यतिबेला आफूले पाएको अवार्डको गरिमालाई कसरी जोगाउने भन्नेमा नभई आफ्नाबारेमा बजारमा चलेका नानाभाँतीका कुराहरूबारे चिन्ता छ । चलचित्र मसानबाटै प्रतिस्पर्धामा उत्रिएकी अर्की अभिनेत्री केकी अधिकारीको पक्षमा बजारमा आवाजहरू बुलन्द हुन थालेपछि नीता भन्न थालेकी छिन्, ‘यो अवार्डले खासै खुसी ल्याउन सकेन । मलाई गौरव पनि लागेको छैन,’ नीताको यो भनाइले के प्रस्ट पारेको छ भने कि उनी अभिनेत्री रेखा थापाले भनेजस्तै अवार्डको भागीदार थिइनन् वा उनले अवार्डको महत्व बुझिनन् । यदि अवार्डको महत्व नीताले नबुझेको हो भने पहिले उनलाई अवार्ड दिनुको अर्थ नै थिएन भन्ने तर्कले बल पाएको छ । खुट्टा नहुनेलाई फुटबल दिनुको के अर्थ ? फुटबल त खुट्टा हुनेले खेल्ने खेल हो ।
नीताले अवार्डको पक्षमा भन्दा विपक्षमा बोल्न थालेपछि आयोजक नै रुष्ट हुन थालेका छन् । उनीहरूलाई लाग्न थालेको छ कि कस्तोलाई अवार्ड दिइयो ? अवार्ड दिए पनि नदिए पनि जस नपाइने व्यवहार देखेर आयोजक संस्था पनि दिक्क भएको बुझिन्छ ।
साताबीच क–कसको जम्यो जोडी
महानायक राजेश हमालबाट सुरु भएको विवाहको लर्को मिथिला शर्मा, श्रीकृष्ण श्रेष्ठ र अनुप बरालसम्म आइपुगेको छ । दुई महिनाअघि हमाल वैवाहिक सम्बन्धमा गाँसिएका थिए भने गत साता मात्रै अभिनेत्री मिथिला शर्मा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग वैवाहिक सम्बन्धमा गाँसिन पुगिन् । यी दुईबीचको पे्रमप्रसङ्गका कुरा बजारमा कतै सुनिएका थिएनन् । एक्कासि विवाहको प्रसङ्ग आउँदा सबै तीनछक परेका थिए । यो कारणले पनि मिथिला र मोतीलालबीचको विवाहलाई लिएर बजारमा ‘पे्रम र विवाह भनेको यिनीहरूको जस्तो हुनुपर्छ’ भनेर उदाहरण दिनेहरू थुप्रै देखिए । बजारमा मोतीलालसँग मिथिलाको पहिले नै पे्रम थियो भन्नेहरूको पनि कमी भएन, तर पनि आफूबीचको सम्बन्ध अनि पे्रमलाई वर्षांैसम्म गोप्य राखेर अन्ततः विवाहमार्फत मात्र सार्वजनिक गरेको यो जोडी यतिबेला उदाहरणीय जोडी सावित भएको छ ।
हल्का चिनजान र नजिक हुँदा पनि ‘पे्रम प¥यो, हामी त डेटिङमा’ भनेर हल्ला गर्ने वा गराउनेहरूको जमातमा ५० र ७४ वर्षको उमेरसम्म आइपुग्दा पनि गोप्य राख्न सक्ने बोहरा र शर्माको सम्बन्धलाई सफल पे्रमजोडीको रूपमा हेरिन थालिएको छ । आफूबीचको निकटतालाई रहस्यमै राखेर विवाहपछि मात्र आधिकारिक कुराहरूलाई बाहिर ल्याउन सफल मिथिला र मोतीलालले यसै साता एक विशेष कार्यक्रमबीच बिहे भोज खुवाउने भएका छन् ।
यसैगरी आफूबीचको लामो पे्रमप्रसङ्गलाई नाट्यकर्मी अनुप बराल र अभिनेता श्रीकृष्ण श्रेष्ठले पनि विवाहमा परिणत गरेका छन् । गत सोमबार श्रीको अभिनेत्री श्वेता खड्का र अनुप बरालको अभिनेत्री दिया मास्केसँग विवाह सम्पन्न भयो । सोमबार नै बिहान परम्परालाई साक्षी राखेर श्री र श्वेताबीचको विवाह सम्पन्न भएको थियो भने विवाह भोज भने सोही दिन बेलुका दिइएको थियो ।
नाट्यकर्मी अनुप बराल र अभिनेत्री दिया मास्केको पनि सोमबार नै विवाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । चाँडो वा ढिला, मागीविवाह या प्रेमविवाह, जसरी भए पनि आफ्नो पे्रमलाई विवाहमा परिणत गर्न सफल भएका र सुन्दर भविष्यको कल्पनामा मग्न जोडीलाई हाम्रो शुभकामना छ ।
पेरिसमा ‘झिल्के ड्राइभर’को सक्रियता
विश्वको जुनसुकै कुनामा रहे पनि आफू लागिपरेको क्षेत्र अनि आफ्नो इच्छा वा रहर मेटिँदैन रहेछ । अरूको जस्तै गायक नित्यानन्द आचार्यको जीवनमा पनि यो कुरा मेल खाएको छ । उनी विगत पाँच वर्षदेखि सुन्दर देश फ्रान्सको पे्ररिसमा बस्दै आएका छन् । नेपालमा बस्दा लोकगायन क्षेत्रमा नित्यानन्दको राम्रै नाम र चर्चा थियो । दाम पनि उनले रामै्र कमाएका हुन् । ट्राभल्स एजेन्सी सञ्चालन गर्दै गायन क्षेत्रमा पनि सक्रिय उनले त्यतिबेला बजारमा ल्याएको एल्बम ‘झिल्के डाइभर’ले साङ्गीतिक बजारमा रामै्र चर्चा कमायो । बजारमा त नित्यानन्दलाई ‘झिल्के ड्राइभर’कै नामले चिनिन थालिएको थियो । ‘विविध कारणले विदेश भाँसिनुपरे ता पनि गीत गाउने इच्छा र रहर मरेको छैन,’ नित्यानन्दले भने ।
आफ्नो पुरानो एल्बम ‘झिल्के ड्राइभर’मा रहेको शीर्षगीतलाई रिमिक्स गरेर नयाँ रूपमा ल्याउन थालेको बताउँछन् नित्यानन्द । यसैसँग केही नयाँ गीत पनि रेकर्ड गर्ने तयारीमा छन् उनी । ट्रयाक नेपालमा बनाएर गीतमा स्वर भने फ्रान्समा नै राख्ने उनको योजना पनि रहेको छ । नित्यानन्द फ्रान्सको पेरिसमा रहेका नेपालीले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरू आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्ने मामिलामा समेत अग्रसर मानिन्छन् ।
आमाको हत्याको बदला लिन खोज्दा
मोडल परिन् माकुरी जालमा
बदलाको भावना राखी परिवारका एकले अर्कोको हत्या गर्ने शृङ्खला सुरु हुन लागेपछि एउटी भर्भराउँदी मोडल युवतीको भविष्य अन्धकारको गर्तमा धकेलिएको छ भने सुन्दर भविष्य निर्माणका लागि अस्ट्रेलियामा सङ्घर्षरत उनकी एक दिदीसँगै आपराधिक कर्ममा लिप्त रहेका केही युवा पनि कानुनी कठघरामा उभिन पुगेका छन् । टिनएज पनि काटिनसक्दै हत्याप्रयासजस्तो गम्भीर मुद्दामा फसेकी यी मोडल अरू कोही नभई पाँच वर्षअघि मात्र आफ्नै पतिको हातबाट मारिएकी अम्बिका धमलाकी पुत्री ऋचा हुन् । ऋचाकी आमा अम्बिकालाई शरीरमा आगो लगाएर हत्या गर्ने मुरारी धमला यतिबेला जेलको हावा खाइरहेका छन् भने उनैकी कान्छी पत्नी ममता घिमिरे धमलालाई अपहरण गरेर हत्या गर्ने योजनालाई मूर्तरूप दिने क्रममै मोडल ऋचा प्रहरी फन्दामा परेकी छिन् ।
आफ्ना बाबुले विराटनगरकी ममतालाई सौतेनी आमा बनाएर भित्याएदेखि नै ऋचा र उनकी दिदी लिजा (हाल अस्ट्रेलियामा छिन्) सौतेनी आमा र आफ्ना बाबुप्रति असन्तुष्ट रहँदै आएका थिए । त्यसमाथि ममताकै उत्प्रेरणामा आएर बाबुले आफ्नी आमाको ०६५ जेठ ९ मा हत्या गरेपछि दुवै दिदीबहिनी बदलाको भावले भित्रभित्रै जलिरहेका थिए । आमाको हत्या हुन केही समयअघि मात्र लिजा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् भने बहिनी ऋचा काठमाडौंमै मोडलिङमा लागेर आफूलाई व्यस्त राख्थिन् । विभिन्न म्युजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेकी ऋचाको करिअर चढ्दो अवस्थामा थियो ।
तर आफ्नी आमासँगको वियोग र बदलाको भावले उनीहरू यति तड्पिएका थिए कि सौतेनी आमाको हत्या नगरेसम्म मनमा सल्किएको आगोको ज्वाला साम्य नहुने सोचमा उनीहरू पुगेका थिए । हृदयको यही ज्वाला शान्त पार्न बाबु जेलमै रहेको परिवेशमा सौतेनी आमा ममताको हत्या गराउने योजना धमला दिदीबहिनीले बनाए । दिदी विदेश रहेकीले योजनालाई मूर्तरूप दिने जिम्मा बहिनी ऋचाले आफ्नो काँधमा लिइन् । आफ्ना प्रेमी र उनका साथीहरूमार्फत ममताको अपहरण गरी हत्या गराउने ऋचाको योजना थियो । प्रेमीले उनलाई रोक्नुको साटो थप हौस्याए । दिदी लिजाले भने यसका लागि अस्ट्रेलियाबाट १५ लाख रुपैयाँ पठाउने भइन् । यसप्रकार योजना अघि बढ्दै थियो, तर अपहरणको प्रयासमै अभियुक्तहरूको पोल खुल्यो र यतिबेला ऋचा धमलासहित ६ जना युवा कानुनी कारबाहीको दायरामा आएका छन् ।
हाल गठ्ठाघर बस्दै आएकी ममतालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा पक्राउ पर्नेमा मोडल ऋचाका अलावा उनको प्रेमी आशमान तामाङ, सुरेश तामाङ, शेषमान तामाङ, सुशील नापित र राजेश गुरुङ छन् । तीन महिनाअघिदेखि ममताको अपहरण र हत्याको प्रयास हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अपहरण गर्न गएका सुरेश गुरुङ र शेषमान तामाङलाई प्रहरीले ममताकै कोठाबाट पक्रिएपछि यसमा ऋचा र लिजाको हात रहेको खुलासा भएको थियो । त्यसका आधारमा सोही दिन ऋचालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई नै प्रहरीले अपहरण गरी ज्यान मार्ने उद्योग र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ भने अस्ट्रेलियामा रहेकी लिजालाई समेत नेपाल झिकाएर कारबाही अघि बढाउने प्रहरी स्रोतले जनाएको छ ।
‘उदास शनिबार’मा प्रचण्ड, बादल र पम्फाहरू
एक समयका चर्चित वामपन्थी नेता एवम् पूर्वमन्त्री रवीन्द्र श्रेष्ठद्वारा लिखित उपन्यास ‘उदास शनिबार’ पुस्तकप्रेमीहरूबीच यतिबेला चर्चाको विषय बन्न पुगेको छ । ब्रदर्श बुक्स प्रकाशन प्रा.लि. काठमाडौंले प्रकाशन गरेको दुई सय एकतीस पृष्ठको उक्त उपन्यासमा माओवादीरचित युद्धकालका प्रतिनिधिमूलक घटना–सन्दर्भ, युद्धमा संलग्न योद्धा तथा कार्यकर्ताको मनोवैज्ञानिक स्थिति र खुला राजनीतिमा आइसकेपछि बदलिएको नेताको रूपलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ । माओवादी नेताहरू विशेषगरी प्रचण्ड, बादल र पम्फा भुसालको सन्दर्भमा वास्तविक पात्रको नाम नै उल्लेख गरी रवीन्द्रले उपन्यास सत्य घटनामा आधारित भएको सन्देश दिएका छन् । युद्ध किन सुरु गरिएको थियो, तर त्यसले देश र जनतालाई के दियो भन्ने प्रश्नको जवाफ उपन्यासले दिने प्रयास गरेको छ । कतिपय सन्दर्भमा गरिएको चित्रण चर्चित चिनियाँ उपन्यास ‘युवाहरूको गीत’लाई स्मरण गराउने प्रकारको बोध हुन्छ । प्रेमवियोगमा परेर आत्महत्या गर्ने निर्णयमा पुगेकी एक युवतीको व्यथा–कथाबाट सुरु भएको उपन्यास निकै रुचिकर किसिमले अघिबढेको छ र सभ्य तथा समृद्ध अनि शान्त समाजको परिकल्पना गर्दै यसले आफ्नो बिट मारेको छ ।
सनसनीपूर्ण यस उपन्यासका पात्रहरू रोचक छन् र पात्रका विविधता अझै रोचक छन् । विषय, प्रस्तुति र भाषामा साहित्यिक लालित्यको प्रचुरता छ । उपन्यास पढिरहँदा कुनै समयका अगुवा योद्धा नै यसका लेखक हुन् भन्ने अनुमान गर्न सकिन्न । नेपाली साहित्यमा एउटा सुनौलो इँटा थपेको मात्र नभई कथित ‘जनयुद्ध’को विकृत पाटो र त्यसका नकारात्मक परिणतिका बारेमा आमजनताबीच सूचना पु¥याउने कर्तव्य निर्वाह गरेर रवीन्द्र श्रेष्ठले ठूलो गुन लगाएको अनुभूति हुन्छ उपन्यास पढिसकेपछि । यस निम्ति रवीन्द्र बधाई र धन्यवादका पात्र बनेका छन् ।
प्रतिक्रिया