दुई महिनामा २५ अर्ब शोधानान्तर घाटा

दुई महिनामा २५ अर्ब शोधानान्तर घाटा


नेपाली बस्तु निर्यातको तुलनामा विदेशी सामाग्रीको आयात दिनप्रतिदिन बढ्दो छ । जसका कारण मुलुकको व्यापार घाटा चुलिँदो अवस्थामा छ । अहिले बार्षिक झण्डै नौ खर्ब नजिक पुगेको नेपालको व्यापार घाटालाई समयमा समाधान गर्न नसकिए आगामी बर्षहरुमा यसको आकार बढ्ने निश्चित छ ।

अत्याधिक आयातका कारण व्यापारघाटा बढेको छ भने ६ वर्षपछिकै उच्च शोधानान्तर घाटा नेपालले भोग्नुपरेको छ । नेपाललाई दुई महिनाको अवधीमा २५ अर्ब शोधानान्तर घाटा छ । यता, बैंकहरुले पनि आफ्नो ऋण लगानी उपभोग्य वस्तुमा बढी केन्द्रीत गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्ममा नेपालले १४ अर्ब ७० करोड रुपैयाँको बस्तु निर्यात गरेको छ भने २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरका बस्तु आयात गरेको छ । डलर बढेका बेला रेमिटेन्स बढेपनि शोधानान्तर घाटा भने सुधार हुन सकेन् । वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।

अमेरिकी डलर संचय बढाउन र शोधानान्तर घाटा कम गर्न राष्ट्र बैंकले चार क्षेत्रमा नीतिगत परिवर्तन गरेको छ । राष्ट्र बैंकले तिहार बिदा हुने अघिल्लो दिन बैंकहरुले दिदै आएको अटोलोनमा कडाई गरेको छ । यस्तै, राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सटही सुविधा कटौतीदेखि टिटीमार्फत गरिने आयातको भुक्तानीमा समेत रकम कटौती गरेको छ । देशमा भित्रिने रकमभन्दा बाहिरिने रकम बढेको र अमेरिकी डलरको बढ्दो मूल्यले विदेशी मुद्रा सन्चिती घटेको तथ्यांक समेत राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।