नेपालको खेलकुदको इतिहासमा नौलो पाना थपिएको छ । गत असार ३ गते राष्ट्रिय खेलकुद परिषद्मा नेपाल आइस हक्की सङ्घ दर्ता भएको हो । राखेपमा एक सय ४२औँ राष्ट्रिय सङ्घको रूपमा दर्ता भएको नेपाल आइस हक्कीको प्रवेशपछि अहिले नेपाली खेलकुद तरङ्गित भएको छ । नेपाली खेल जगत्को उज्ज्वल भविष्यमा थप टेवा दिने उद्देश्यसहित यो खेलको विकास र विस्तार गर्न खेलकुद विकास ऐन २०४८ को दफा १५(१) बमोजिम नेपाल आइस हक्की सङ्घ राखेपको स्वीकृति भई गठन भएको हो । नेपालको परिवेशमा आइस हक्की खेल नितान्त नौलो र चुनौतीपूर्ण भए तापनि सङ्घले चुनौती र कठिनाइलाई सहज रूपमा आत्मसात् गरेको छ । युवापिँढीलाई यस खेलप्रति आकर्षित गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराई सफलतासमेत हासिल गरी नेपालको नाम उच्च राख्ने लक्ष्य लिएको छ ।
हिमालैहिमालको देश नेपालमा हिउँमा खेलिने खेलहरूको प्रचुर सम्भावना छ । यतिबेला साहसिक पर्यटकीय खेलको विकासमा नेपालले लगानी गर्नु नितान्त आवश्यक भइसकेको छ । त्यसैले यो खेलमार्फत नेपालमा पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने देखिएको छ । मरुभूमिको देश यूएईले त कृत्रिम स्टेडियम बनाएर आइस हक्की खेलको विकासमा योगदान पु-याइरहेको अवस्थामा नेपालमा थोरै प्रयास र न्यूनतम लगानीमा पनि यो खेलको विकास र विस्तारमा अहम् भूमिका खेल्न सकिन्छ भन्ने सङ्घले विश्वास लिएको छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घमा विश्वका ७२ राष्ट्र आबद्ध रहेका छन् । एसियाबाट कुवेत, हङकङ, जापान, भारत, मलेसिया, मकाउ, इजरायल, कतार, सिङ्गापुर, थाइल्यान्ड, यूएईलगायतका राष्ट्रहरू महासङ्घमा आबद्ध रहेका छन् । कुनै पनि खेलको विकासका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग तथा मुख्यत अन्तर्राष्ट्रिय महासङ्घले पारित गरेको नियमअनुसार नै विभिन्न खेलहरू खेलाइने भएको हुँदा नेपालमा आइस हक्की खेलको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय आबद्धता नभइनहुने भएको हुँदा सङ्घले -IIHF_ मा सदस्यताका लागि तोकिएको मापदण्ड पु-याई आबद्धताका लागि पहल गरिसकेको छ ।
आइस हक्की खेलको इतिहासलाई दृष्टिगत गर्दा १८औँ शताब्दीको मध्यतिर क्यानडाको पूर्वीक्षेत्रमा आइस हक्की खेलको सुरुआत भएको पाइन्छ । सन् १८७० मा जेम्स जी. क्रेइटनले सो क्षेत्रमा सीमित रहेको आइस हक्कीलाई मोन्ट्रियलमा भित्याएका थिए । त्यसपछि सो खेलले केही गति लिन थालेको थियो । क्रेइटनकै पहलमा पहिलोपटक आइस हक्की खेलको प्रतियोगिता आयोजना भएको थियो । १८७५ को ३ मार्चमा मोन्ट्रियलमा पहिलोपल्ट आइस हक्की प्रतियोगिता भएको थियो । त्यसपछि १९०५ मा बेल्जियम र फ्रान्समा दुईवटा अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यसको तीन वर्षपछि अर्थात् सन् १९०८ मा फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घ -IIHF_ गठन भएको थियो । महासङ्घले ओलम्पिक्समा हुने आइस हक्की खेलको नेतृत्व गर्दछ । साथै -IIHF_ ले विश्व च्याम्पियनसिपअन्तर्गत हुने सबै विधाका प्रतियोगिताको पनि नेतृत्व गर्दछ । जसमा महिला, पुरुष, जुनियर, यू–२०, जुनियर यू–१८, महिला यू–१८ लगायतका विधा पर्दछन् । ओलम्पिक्समा पहिलोपटक १९२० मा आइस हक्की खेल प्रवेश गरेको हो ।
हरेक वर्ष ९क्ष्क्ष्ज्ँ०ले स्थानीय आयोजक कमिटीसँग सहकार्य गरेर विभिन्न पाँच विधामा २५ वटा विश्व च्याम्पियनसिप आयोजना गर्ने गर्दछ । विश्व च्याम्पियनसिपको अलावा युरोपियन क्लब च्याम्पियनसिप र इनलाइन हक्कीको विश्व च्याम्पियनसिप पनि गर्ने गर्दछ । सन् २००८ मा ९क्ष्क्ष्ज्ँ० ले आफ्नो १०० वर्ष पूरा गरेको अवसरमा केही महत्वाकाङ्क्षी योजना पनि घोषणा गरेको थियो । जसअन्तर्गत एसिया क्षेत्रमा आइस हक्कीको विकास र विस्तार गर्ने उद्देश्यले एसियन डेभलेपमेन्ट प्रोजेक्ट खडा गरिसकेको छ । सो प्रोजेक्टबाट नेपालमा आइस हक्की खेलको विकासमा टेवा पुग्ने सङ्घले विश्वास लिएको छ ।
सङ्घले आफ्नो भावी योजना र कार्यक्रममा पहिलो चरणमा इनलाइन हक्कीबाट आफ्नो अभियान सुरु गर्ने भएको छ । सामान्य मौसम भएका र हिउँ नभएका स्थानमा समेत इनलाइन हक्की खेल्न सकिने भएकाले सङ्घले त्यसकालाई विशेष प्राथमिकतामा राखेको छ । चिल्लो समथर स्थलमा स्केट गर्दै खेलिने इनलाइन हक्कीको परिचय रहेको छ । त्यस्तै आइस हक्की खेलका लागि चाहिने भौतिक पूर्वाधारका लागि आवश्यक जमिनको खोजी तथा सम्बन्धित निकायबाट स्वीकृति र हस्तान्तरणतर्फ कदम चालिने बताउँदै भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यसैगरी आइस हक्की खेलका लागि युवा खेलाडीको टिमहरू तयार गर्नेक्रममा स्कुलहरूमा पहल गरिनेछ । आइस हक्की खेलका लागि चाहिने व्यवस्थापक, प्राविधिक, प्रशिक्षक र निर्णायकहरूलाई प्रशिक्षण, तालिम दिनका लागि मित्रराष्ट्रहरूबाट प्राविधिक झिकाउने तथा मित्रराष्ट्रहरूमा प्रशिक्षण एवम् विविध पक्षहरूमा सहभागिता जनाई जनशक्ति तयार गर्दै जाने लक्ष्य लिएको छ । नेपालको आइस हक्की टिमलाई जुनियरस्तरमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउँदै सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै यो खेलको विकासमा अहम् भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेको छ ।
नेपाल आइस हक्की सङ्घ गठन
लोकबहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय नेपाल आइस हक्की सङ्घ, तदर्थ समिति गठन भएको छ । कमलादीस्थित होटल रोयल सिङ्गीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल आइस हक्की सङ्घ राष्ट्रिय खेलकुद परिषद्मा असार ३ गते १ सय ४२औँ सङ्घका रूपमा दर्ता भएको जानकारी गराइएको थियो । नवगठित सङ्घको उपाध्यक्षमा भुवन पाठक, मनोज मल्ल ठकुरी, मदन केसी, श्रीविक्रम भण्डारी र सुरजविक्रम शाही, महासचिवमा राधेश्याम दाहाल, सचिवमा रामसुदन तिमल्सिना र कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् । त्यस्तै सदस्यहरूमा मणिविक्रम शाह, अञ्जना रावल (शाह), विपिका अधिकारी, मुकेश शाही, जीवनबल लामा, अर्जुन लामा तथा राखेप प्रतिनिधि दामोदर अर्याल रहेका छन् । सङ्घ गठनको घोषणा कार्यक्रमअघि राखेपका सदस्यसचिव युवराज लामाले दरबारमार्ग रहेको सङ्घको कार्यालयको एक कार्यक्रमबीच विधिवत उद्घाटन गरेका थिए ।
सङ्घको कार्यालय उद्घाटनपछि सदस्यसचिव युवराज लामाले आइस हक्की सङ्घले आफ्नै पहलमा उत्कृष्ट कार्यालय स्थापना गरेर नमुना प्रस्तुत गरेको बताएका थिए । ‘आइस हक्की सङ्घले आफ्नै पहलमा काम सुरु गरेको छ । यसले अन्य सङ्घलाई पनि उदाहरण प्रस्तुत गरेको छ,’ लामाले भने, ‘हिमालको देश नेपालमा आइससम्बन्धी खेलहरूको सम्भावना छ । त्यसका लागि प्याकेजमा काम गर्नुपर्छ । जसका लागि राखेप भौतिक पूर्वाधारलगायत अन्य खेलसम्बन्धी पक्षहरूलाई सहयोग गर्न तत्पर छ ।’ सङ्घका अध्यक्ष लोकबहादुर शाहीले सुरुवातमा इन लाइनर हक्कीबाट यसको परिचय गराउने बताए । ‘समथर स्केट गर्न सकिने जुनसुकै स्थानमा पनि इन लाइन हक्की प्रतियोगिता गर्न सकिने भएकाले यसले छोटो समयमा नै नेपालमा लोकप्रियता पाउनेमा हामी विश्वस्त छौँ,’ शाहीले भने, ‘आइस हक्कीको रिंकका लागि पनि जग्गाको खोजीकार्य भइरहेको छ । छिट्टै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत हामी रिंक बनाउने प्रयासमा छौँ ।’ ‘एकैपटक आकाशको तारा झार्ने कुरा हामी गर्दैनौँ । नियमपूर्वक दीर्घकालीन रूपमा हामी काम गर्दै जान्छौँ,’ शाहीले भने, ‘सुरुवातमा बलियो जग बनाएर ग-यो भने मात्र बलियो घर बन्छ, सङ्घले पनि प्रारम्भमा बलियो जग बनाउने कामको थालनी गरेको छ ।’ उनले नेपालका लागि आइस हक्की चुनौतीपूर्ण भए पनि असम्भव नभएको बताए । सो अवसरमा सङ्घका महासचिव राधेश्याम दाहालले सङ्घले तयार गरेको भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले नेपालमा प्रतिभाको पहिचान गरी खेलाडी, प्रशिक्षक, प्राविधिक तयार पार्ने बताए । सङ्घका सचिव रामसुदन तिमल्सिनाले नेपाललाई आइस हक्कीमार्फत पहिचान गराउन पहल गर्ने बताएका थिए ।
खेलकुदमन्त्री पौडेलको निद्रा हराम
युवा तथा खेलकुदमन्त्रीमा पदभार ग्रहण गरेदेखि नै खेलकुद क्षेत्रमा विवादमा आएका मन्त्री पुरुषोत्तम पौडेल एमालेको नवौँ महाधिवेशनमा समेत पराजित भएपछि फेरि चर्चामा छाएका छन् । पुरुषोत्तम पौडेलसहित नवौँ महाधिवेशनका केन्द्रीय सदस्यमा पराजित हुने मन्त्रीको सङ्ख्या तीन रहेको छ । जसमा उद्योगमन्त्री कर्ण थापा, स्वास्थ्यमन्त्री खगराज अधिकारी पनि पराजित हुने कोटीमा परेका छन् । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल यसअघिका केन्द्रीय सदस्य हुन् उनी सचिवका समेत दाबेदार थिए । तर, पछि पौडेल माधव नेपालको प्यानलबाट केन्द्रीय सदस्यमा उठेका थिए । खेलकुदमा पौडेलले गरेको अलोकप्रिय र गैरकानुनी निर्णयहरूकै कारण पराजित हुन पुगेपछि अहिले पौडेलको रातका निद्रासमेत हराम भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई लखेट्दालखेट्दै एमाले कार्यकर्ताद्वारा आफैँ लखेटिएपछि मन्त्री पौडेल अहिले भ्यागुतोझैँ उत्तानो परेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पौडेलले सर्वप्रथम त सदस्यसचिव युवराज लामालाई पद सकिएको भन्दै गैरकानुनी पत्राचार गरेपछि उनी विवादमा तानिएका थिए । राखेपबाट लामालाई केही दिनका लागि हटाउन सफल भए पनि अदालतको अन्तरिम आदेशले मन्त्रीको दुस्साहस बीचैमा तुहिएको थियो । यो गैरकानुनी निर्णयसँगै मुद्दा खेप्दै आएका मन्त्री पौडेलले त्यसपछि लगातार मुद्दा खेप्दै आएका छन् । मन्त्रीले राखेपलाई गरेका तीनवटै पत्र गैरकानुनी ठहरिएपछि उनको छविसमेत धमलिन पुगेको छ । यति हुँदाहुँदै पनि चेत नखुलेका मन्त्री पौडेलले आफ्नो हर्कत बारम्बार दोहो-याउने क्रममा सर्वोच्च अदालतको मानहानिसमेत गर्दा अहिले मन्त्री पौडेलमाथि मानहानिको मुद्दासमेत परेको छ । जसको अन्तिम सुनाइ भएको छैन ।
पछिल्लो समयमा राखेपको क्षेत्रअधिकारको काममा समेत अनावश्यक दख्खल र हस्तक्षेप गरी एसियाडको तयारी समिति गठन गरेका मन्त्री पौडेल अहिले पुन: विवादमा तानिएका छन । मन्त्री पौडेलले राखेपको कार्यविधि र ऐनलाई धोती लगाउँदै व्यक्तिगत स्वार्थसिद्ध गर्न सो निर्णय गरेपछि राखेपका सदस्यसचिव युवराज लामाले मन्त्री पौडेलको निर्णयलाई गैरकानुनी निर्णयको संज्ञा दिँदै अदालतमा मुद्दा दायर गरेका छन् । उनका यस्ता गैरकानुनी निर्णयकै कारण पौडेल एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएको प्रतिनिधिहरूले नै बताएका छन । सार्वजनिक पदमा बसेको व्यक्तिले एमाले पार्टीको कार्यककर्ताभन्दामाथि उठन नसक्दा उनको यस्तो हरिविजोग भएको एमाले कार्यकर्ताहरूले नै बताएका छन् । मन्त्रीजस्तो पदमा आसीन व्यक्तिले नियम–कानुनको खिल्ली उडाउँदा समाजमा के सन्देश जान्छ त्यसको परिणाम अहिलेको एमालेको महाधिवेशनवाट पौडेलले राम्रो शिक्षा लिएको हुनुपर्छ । अब पनि उनले आफ्नो योग्यतालाई प्रमाणित गर्न नसके अर्थात् गल्ती सच्याउन नसके योभन्दा ठूलो दुस्परिणाम भोग्नुपर्ने निश्चित छ । अबको विकल्प एमालेले आगामी दिनमा खेलकुदको सट्टा कानुनमन्त्रीमा पौडेललाई पदासीन गराए देश र पार्टीको साँच्चिकै कल्याण हुने देखिन्छ ।
गत वर्ष पूर्वाञ्चलमा आयोजना हुनुपर्ने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संविधानसभाको निर्वाचनका कारण सरेको थियो । त्यसको बदलामा राष्ट्रिय खेलकुद परिषद्ले प्रथम लुम्बिनी च्याम्पियनसिपको आयोजना गरेर राष्ट्रिय प्रतियोगिताको झल्को दिने प्रयास गरेको थियो । यसपालि पूर्वाञ्चलमा धुमधामका साथ राष्ट्रिय प्रतियोगिता आयोजना गर्न राखेपको बोर्ड बैठकको निर्णयअनुसार राखेपले २१ करोड बजेटको प्रस्ताव गर्दै खेलकुद मन्त्रालयमा पठाएको थियो । तर, खेलकुदमा अराजकता फैलाउँदै गैरकानुनी कार्य गर्दै आएका खेलकुदमन्त्री पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि घाँटी रेट्न पछि परेनन् । उनले राखेपले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि २१ करोडको बजेट प्रस्ताव गरे पनि मन्त्री पौडेलले त्यसलाई काटेर खेलकुद विकासप्रतिको आफ्नो धारणालाई प्रस्ट पारेका छन् । यसबारे मन्त्रालयले आफू चोखिन राखेपले कुनै कार्यक्रम नै पेस नगरेको आरोप लगाएको छ । तर, वास्तविक रूपमा भन्नुपर्दा राखेपका सदस्यसचिव युवराज लामा र मन्त्री पौडेलको जुँगाको लडाइँले गर्दा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बलि चढेको सोझै अनुमान र अड्कल लगाउन सकिन्छ । अन्यथा बोर्ड बैठकमै निर्णय भइसकेको र निर्वाचनका कारणले सारणी भएको सातौँ राष्ट्रिय प्रतियोगिता राखेपको कार्यक्रममा थिएन भनेर मन्त्रालयले भन्नु हास्यास्पदबाहेक अन्य केही हुन सक्तैन । अर्को कुरा यदि राखेपले आफ्नो कार्यक्रममा सातौँलाई नसमेटेको थियो भने मन्त्रालय किन मौन बस्यो यहाँ षड्यन्त्रको गन्ध आउँछ । साँचो अर्थमा भन्नुपर्दा सदस्यसचिव लामालाई असफल बनाउन मन्त्री पौडेलले चालेको चाल हो भन्दा फरक नपर्ला ।
कमल र दिनेशको राष्ट्रिय कीर्तिमान
कमलबहादुर अधिकारी र दिनेश श्रेष्ठले तेस्रो ग्राँपी सिनियर पुरुष÷महिला तथा जुनियर पुरुष भारोत्तोलनको सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाली सेनाका द्वयले स्न्याचमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । नख्खुस्थित सहकारी कृषि बजारमा भएको पुरुषको ६९ केजीको स्न्याचमा कमलले एक सय १८ केजी भार वहन गर्दै कीर्तिमान बनाएका हुन् । उनकै नाममा एक सय १७ केजीको कीर्तिमान थियो । कमलले क्लिन एन्ड जर्कमा एक सय ४५ केजी गरी दुई सय ६३ केजी उचाल्दै स्वर्ण जितेका थिए । पुरुषको ९४ केजीको स्न्याचमा कीर्तिमान रचेका दिनेशले एक सय १३ केजी वजन उठाए । यसअघि एक सय १२ केजीको कीर्तिमान दिनेशकै नाममा थियो । उनले क्लिन एन्ड जर्कमा एक सय ४० गरी जम्मा दुई सय ५३ केजी भार उचाल्दै पहिलो भए । कमल र दिनेश दुवैले गत जेठमा सम्पन्न १७औँ एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा कीर्तिमान राखेका थिए ।
सेरिमोनी ब्युटिपार्लरको सहआयोजनामा नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रामेछापका गोपाल श्रेष्ठ र महिलामा नेपाल प्रहरी क्लबकी तारादेवी पुन स्ट्रोङगेस्ट चुनिएका छन् । पुरुषको एक सय पाँच केजीमाथिको स्न्याचमा गोपालले एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ५२ गरी कुल दुई सय ६४ केजी भार उठाउँदै पहिलो भएका थिए । स्न्याचमा ६५ र क्लिन एन्ड जर्कमा ९० गरी कुल एक सय ५५ केजी भार उचालेकी तारा महिलाको ७५ केजीमाथि वजन समूहमा पहिलो भएकी थिइन् । पुरुषमा कमलबहादुर अधिकारी र महिलामा प्रहरीकी उत्तम खत्री उत्कृष्ट लिफ्टर चुनिए । उत्तम महिलाको ६३ केजीको स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७८ गरी कुल एक सय ४१ केजी भार वहन गर्दै पहिलो भएकी थिइन् ।
जुनियर पुरुषमा बाँकेका प्रकाश केसी उत्कृष्ट लिफ्टर ठहरिए । अघिल्लो दिन उनले जुनियर ५६ केजीको क्लिन एन्ड जर्कमा एक सय १० र कुलमा एक सय ९३ भार उचाल्दै कीर्तिमानी स्वर्ण जिकेका थिए । उनले सिनियरको सोही तौल समूहमा पनि शीर्ष स्थान हात पारेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा र सदस्य सुरेन्द्रबहादुर हमाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा हमाललाई राखेपको सदस्यमा नियुक्त भएकोमा दोसल्ला ओढाइ भारोत्तोलन सङ्घले सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा ५३ पुरुष र १० महिला गरी ६३ खेलाडीले सिनियरमा १५ र जुनियरमा नौ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
गौरिकाद्वारा चार नयाँ राष्ट्रिय कीर्तिमान
गौरिका सिंहले १९औँ राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ चार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सातदोबाटोस्थित पौडीपोखरीमा गौरिकाले दुई सय मिटर व्यक्तिगत मिड्ले दुई मिनेट ५३:५७ सेकेन्ड, एक सय मिटर बटरफ्लाई एक मिनेट १९:३४ सेकेन्ड, एक सय मिटर ब्याकस्ट्रोक एक मिनेट १७:९७ सेकेन्ड तथा दुई मिटर फ्रिस्टायल दुई मिनेट २६:२८ सेकेन्डमा पूरा गर्दै थप चार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
गौरिकाले व्यक्तिगत मिड्लेमा सन् २००२ मा बुसानमा भएको १४औँ एसियाली खेलकुदमा नयना शाक्यले बनाएको दुई मिनेट ५८:६१ सेकेन्ड र बटरफ्लाईमा सन् २००८ मा काठमाडौंमा भएको १०औँ ग्यालेक्सी कपमा करिश्मा कार्कीले बनाएको एक मिनेट २१:८७ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी थिइन् । त्यस्तै गौरिकाले ब्याकस्ट्रोकमा सन् २००१ मा काठमाडौंमा भएको १५औँ खुला राष्ट्रिय पौडीमा शैलाराज्यलक्ष्मी राणाले बनाएको एक मिनेट २२:११ सेकेन्ड तथा फ्रिस्टायलमा गत वर्ष काठमाडौंमै भएको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पौडीमा सोफिया शाहले बनाएको दुई मिनेट २९:७२ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी थिइन् ।
अघिल्लो दिन तीन कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगितामा कुल ७ कीर्तिमान बनाएकी थिइन् । त्यस दिन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक (दुई मिनेट ४८:१६ सेकेन्ड), ५० मिटर बटरफ्लाई (३२:९७ सेकेन्ड) तथा ५० मिटर ब्याकस्ट्रोक (३५:८५ सेकन्ड) मा कीर्तिमान रचेकी थिइन् । कीर्तिमानी सात स्वर्णबाहेक गौरिकाले एक सय मिटर ब्याकस्ट्रोक (एक मिनेट ३१:१९ सेकेन्ड) मा पनि पहिलो दिन स्वर्ण जितेकी थिइन् । गौरिकाको नाममा थप एक रजत पनि रह्यो । प्रत्येक कीर्तिमानबापत पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । शिरीश पुरुष तथा सोफिया शाह महिलामा उत्कृष्ट खेलाडी बने । गौरिकाले उदीयमान खेलाडीको उपाधि हात पारिन् ।
एलए च्याम्पियन १२औँ ग्यालेक्सी कप अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा लिटिल एन्जल्स स्कुल टिम च्याम्पियन बनेको छ । एलएले ७५ अङ्क बटुल्यो । ५८ अङ्कका साथ लिङ्कन दोस्रो तथा ४३ अङ्कका साथ हिम्स तेस्रो भएका थिए । ग्यालेक्सी कपतर्फ पुरुषमा जोन डीबीका नाजिर हुसैन तथा महिलामा लिङ्कनकी नेहारिका तुलाधर उत्कृष्ट खेलाडी चुनिए ।
रक्षा तेक्वान्दो डोजाङका खेलाडी फर्किए
दक्षिण कोरियाको मुजुमा भएको आठौँ विश्व तेक्वान्दो एक्स्पोका पदक विजेता नेपाली खेलाडी स्वदेश फर्किएका छन् । लैनचौरस्थित रक्षा तेक्वान्दो डोजाङका खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए । जुलाई ४ देखि ९ तारिखसम्म भएको उक्त एक्सपोमा नेपालले तीन स्वर्ण, पाँच रजत र तीन कास्य जितेको थियो । स्वर्ण जित्ने खेलाडीमा पुम्सेतर्फ बसन्ती बोहोरा, मिश्माकुमारी छन्त्याल र अशोक खड्का रहेका छन् । मिश्माले ३० केजीमुनि रजत तथा टिम प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका अशोकले ६८ केजीमुनि कास्य पनि हात पारेका थिए । अशोक उत्कृष्ट प्रशिक्षक पनि घोषित भए । पुम्सेमा तेजबहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री र ईश्वरी थापाले रजत हात पारे । शिशिर लिम्बू ३० केजीमुनि दोस्रो भए भने पुम्सेमा तेस्रो स्थानमा रहे । पुम्सेमै कास्य जित्ने अर्का खेलाडीमा विशाल गुरुङ हुन् । प्रशिक्षक अशोकका अनुसार एक्स्पोमा विभिन्न २५ राष्ट्रका पाँच सयभन्दा खेलाडीले सहभागिता जनाएका थिए
थापा खेविवि प्रमुख
कुलबहादुर थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । विद्यालय खेलकुद विकास विभागका प्रमुख थापालाई परिषद्को साउन १ गतेको निर्णयानुसार खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको हो । थापाको स्थानमा खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेलाई ल्याइएको छ ।
थापाले परिषद्को महत्वपूर्ण मानिने प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, प्रचारप्रसार शाखालगायतमा प्रमुख भई काम गरिसकेका छन् । थापालाई समारोह विज्ञका रूपमा पनि चिनिन्छ । थापासँग पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद तथा पर्यटन वर्ष– २०११ जस्ता बृहत् कार्यक्रममा समारोह समितिको महत्वपूर्ण पदमा रही काम गरेको अनुभव छ ।
मिस्टर हिमालय हुने
नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घको आयोजनामा पाँचौँ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता असोज पहिलो साता उपत्यकामा हुने भएको छ । प्रतियोगिता असोज ३ र ४ गते हुने आयोजक सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । दुई वर्षको अन्तरालमा हुने यो प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ माथि गरी जम्मा ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ । प्रि–जजिङबाट प्रत्येक तौल समूहबाट पाँच–पाँच खेलाडी फाइनल चरणमा पुग्नेछन् । फाइनलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २५, १५ र १० हजार नगद पुरस्कार पाउनेछन् ।
फाइनल चरणको हरेक तौल समूहमा पहिलो हुने खेलाडी (६ जना) पुन: मिस्टर हिमालय उपाधिका लागि भिड्नेछन् । मिस्टर हिमालय उपाधि विजेतालाई दुई लाख नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । उक्त पुरस्कार गत संस्करणको भन्दा दोब्बर हो । चौथो संस्करणका उपाधि विजेता रामबहादुर दाहालले एक लाख नगद पुरस्कार पाएका थिए । चौथो संस्करण सुनसरीको धरानमा ०६९ असोजमा भएको थियो । प्रतियोगिताअघि बृहत् निर्णायक रिफ्रेसर कोर्स हुने महासचिव राजभण्डारीले जानकारी गराएका छन् ।
प्रतिक्रिया