माइक्रोबसका चालक र सहचालकले अनिवार्य फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

माइक्रोबसका चालक र सहचालकले अनिवार्य फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने


काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका माइक्रोबसका चालक तथा सहचालकले पनि आजबाट अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

केही महिना अगाडी उपत्यकामा संचालित ट्याक्सी चालकहरुलार्ई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गराएका थिए । फेरि महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिए । साथै माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको पन्तले बताए । प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेरी गर्दै आएका थिए ।

रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने महासंघका महासचिव सरोज सिटौलको भनाई छ । यस्तै, ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने सिटौलाले बताए । तत्काल काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था भएपछि आगामी दिनमा देशभर लागू गर्ने उनको भनाइ छ ।

यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । अहिले उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् ।