बृहत पोखरा सफाई अभियानमा पोखरेलीको सक्रियता

बृहत पोखरा सफाई अभियानमा पोखरेलीको सक्रियता


पोखरामा जारी बृहत सफाई अभियानमा पोखरेली जनसमुदायको सक्रियताकासाथ सहभागिता रहँदै आएको छ । यसैअन्तर्गत शनिबार १२९औं श्रृंखला पोखरा–५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदी खोलासम्म झण्डै १० टन फोहोर मैला संकलन गर्दै उल्लेख्य सहभागितासहित सम्पन्न भएको छ ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यसपटकको सफाई अभियानमा पोखरेलीमाझ परिचित वडा सचिव लोकदर्शन कोइरालाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए भने वडा नं. ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यसअघि सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले आफ्नो घरवरपर सफा राख्ने दायित्व सवैको भएको हुँदा घर, टोल सफा राख्न आग्रह गरेका थिए । उनले भने– ‘अटेर गरि जथाभावी टोल फोहर गर्ने कार्य गरेमा जो कसैलाई पनि कानुनको दायरामा ल्याइनेछ, त्यसैले समाजको हितविपरीतका गतिविधि नगर्नुहोस् र नगराउनुहोस् ।’

यसपटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वडा नं. ५, ६ र ७ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, पोखरा महानगरपालिका कार्यालय, मुक्तिनाथ विकास बैंक, स्थानीय युवा क्लब तथा आमा समूहहरु, टोल विकास समिति, विभिन्न सामाजिक संघसंस्था, टोलवासी लगायत सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएका थिए भने सफाई अभियानमा सन्चो मेडीकलका संचालक कृष्ण पाण्डेले डिस्पोजल पन्जा र मास्क सहयोग गरेका थिए ।

आगामी हप्ताको सफाई कार्यक्रम पोखरा महानगरपालिकाको कार्यालय अगाडीबाट शुरु हुने जनाइएको छ ।