फिल्म बनाउँदै नेपाली चलचित्रकी प्रथम नायिका

फिल्म बनाउँदै नेपाली चलचित्रकी प्रथम नायिका


नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गरेकी हुन् ।

चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिने जानकारी दिँदै नायिका चन्दले ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध रहेको बताइन् ।

उक्त चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा छन् भने चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहने छ ।

अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको र सो भूमिकालाई न्याय दिने दाबी गरिन् भने नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताए ।

‘साइनो’ मा भुवन चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतको अभिनय रहने बताइएको छ । चलचित्रको छायाङ्कन काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायत स्थानमा गरिनेछ ।