फन टाइम

फन टाइम


funtimeअभिनेता श्रीकृष्ण श्रेष्ठको निधन
नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा शनिबार राति अल्पायुमै निधन भएको छ । लामो प्रेमसम्बन्धपछि एक महिनाअघि मात्र नायिका श्वेता खड्कासँग वैवाहिक बन्धनमा बाँधिएका स्वर्गीय श्रेष्ठ हनिमुनका लागि भारत गएका बेला निमोनिया भएर गत असार २७ गते नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका थिए । त्यहीँ उनलाई बोन क्यान्सरले गलाएको खुलासा हुन पुगेको थियो । कुशल नृत्यकार रहेका स्वर्गीय श्रेष्ठ पछिल्लो समयमा फिल्म निर्माणमा समेत संलग्न थिए । उनको निर्माण तथा अभिनय रहेको ‘कोहिनुर’ चलचित्र यतिबेला विभिन्न हलमा प्रदर्शनमा छ ।
व्यक्तिगत रूपमा सबैको प्रिय रहेका नायक श्रीकृष्ण साना तथा ठूला सबैसँग समान व्यवहार गर्ने र कसैलाई नबिझाउने स्वभावका विनम्र व्यक्ति थिए । नवविवाहिता पत्नी श्वेताका व्यावसायिक पार्टनरसमेत रहेका श्रीकृष्ण फिल्म निर्माण, अभिनयका अलावा होटल तथा रेस्टुरेन्टलगायतका व्यवसायमा संलग्न थिए । ०४५ सालमा चलचित्र भूमरीबाट चलचित्र अभिनयमा उत्रिएका श्रीकृष्ण मूलतः रङ्गकर्मी थिए । सानै उमेरमा रङ्गमञ्चबाट अभिनय यात्रामा लागिपरेका श्रीकृष्णको नृत्य सबैलाई मोहनी लगाउने खालको थियो । गम्भीर भूमिकाको अभिनयमा पोख्त श्रीकृष्णले नृत्यका माध्यमबाट नै आफ्नो पहिचान उठाएका थिए । अन्तिम चलचित्र कोहिनुरसम्म आइपुग्दा उनले सयभन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । श्रीकृष्ण श्रेष्ठ अभिनीत अधिकांश फिल्मले व्यावसायिक रूपमा पनि सफलता हासिल गरेका छन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै चलचित्र एवम् कलाक्षेत्रका व्यक्ति–व्यक्तित्वहरूले शोक तथा समवेदना व्यक्त गरेका छन् ।

अधुरै रहे श्रीकृष्णका योजना‘के म तिम्रो होइन र …’
यतिबेला विभिन्न सिनेमा हलमा प्रदर्शनमा रहेको चलचित्र ‘कोहिनुर’का नायक श्रीकृष्ण श्रेष्ठले उल्लेखित बोलको गीतमा चलचित्रकी नायिका श्वेता खड्कालाई प्रश्न गर्दा श्वेताले पनि गीतमार्फत नै पर्दामा ‘हो हजुर…’ भन्ने जवाफ नदिएकी होइनन् । यसरी सिनेमाको गीतमा मात्र नभई वास्तविक जीवनमा नै गत असार २३ गतेका दिन दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै वैवाहिक सम्बन्धको गाँठो बाँधेका थिए । त्यस दिन श्री र श्वेताले खुसीका साथ आफ्ना सहकर्मी र शुभचिन्तकहरूलाई खुवाएको बिहेभोज र भोजको निहुँमा भएको भेट नै अन्तिम होला भनी कसले चिताएका थिए र ? अन्ततः यस्तै अकल्पनीय घटना घटिदियो ।
असार २३ गते विवाहभोज खुवाएर २५ गते हनिमुनका लागि भारतको सिमला पुगेको श्री र श्वेताको जोडी काठमाडौं फर्कंदा श्वेता मात्र एक्ली भइन् । दैवले भारतको नयाँदिल्लीमा उपचारकै क्रममा अभिनेता श्रीकृष्ण श्रेष्ठलाई चुँडेर लग्यो । आइतबार निधन भएका श्रेष्ठको पार्थिव शरीरलाई सोमबार दिल्लीबाट काठमाडौंमा ल्याउँदा चलचित्र क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि शोकाकुल बन्न पुगेको थियो । गत सोमबार नै उनको अन्त्यष्टि गरियो । नेपाली सिनेमा क्षेत्रमा विवादरहित र स्वच्छ छविका नायकको रूपमा चिनिएका यी सदावहार नायक विशेष गरेर पारिवारिक चलचित्रहरूमा बढी जम्ने नायक हुन् । निर्देशक स्वर्गीय शिव रेग्मीको क्याम्पमा छिरेपछि श्रीकृष्णको प्रतिभा अझै विस्तारित हुन पुगेको अनुभूति सिने–समीक्षकहरूले गरेका थिए । आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुःख–दुःख, पाहुना र कहाँ भेटिएलाजस्ता उनका चलचित्र एकपछि अर्को गरी निरन्तर हिट हुन पुगेका थिए ।
रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका अभिनेता श्रेष्ठ ०४५ सालमा चलचित्र पुकारबाट खलनायकको भूमिका निभाएपछि सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । उनलाई कलाकार, लेखक एवम् निर्देशक मोहन निरौलाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । निरौलाले नै अर्को निर्माता छवि ओझासँग चिनाएका थिए । त्यसपछि छविले चलचित्र नातामा नायक बनाएपछि अभिनेता श्रेष्ठको सिनेमा यात्रा अगाडि बढेको थियो । पछिल्लोपटक बाहिरका चलचित्रभन्दा आफैँ लगानी गरेर चलचित्र निर्माण गर्नेतर्फ उनी बढी अग्रसर देखिन्थे । उनले भन्ने गरेका थिए, ‘अब दर्शकहरूलाई राम्रा–राम्रा चलचित्र निर्माण गरेर दिने योजनामा लागेको छु ।’ नभन्दै श्रीले बनाएको पहिलो चलचित्र कहाँ भेटिएलाले साँच्चै दर्शकहरूको मन मात्र जितेको थिएन कि दर्शकहरूले लामो समयपछि राम्रो चलचित्र हेर्न पाएको अनुभूति पनि गराएको थियो । त्यही चलचित्रमार्फत नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री श्वेता खड्कासँग श्रीको पे्रमप्रसङ्ग चलेको थियो र आफूले बनाएको दोस्रो चलचित्र कोहिनुरसम्म आइपुग्दा यो जोडी श्रीमान्–श्रीमतीमै परिणत पनि भएको थियो ।
करिव १५ वर्ष अगाडि पनि श्रीकृष्ण नराम्ररी थला परेका थिए । तर, त्यो समय काललाई जितेका उनलाई यसपटक भने निष्ठुरी दैवले चुँडाएर लगिछोड्यो । बोन क्यान्सरका कारण लामो समयदेखि पीडित श्रीकृष्ण श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रमा भलाद्मी अभिनेताको रूपमा चिनिने गरिन्छ । विवादरहित र अन्य केही नायकहरू जस्तो युवतीसँगको अफेयरमा कहिल्यै मुछिएनन् उनी । कलायात्रामा जुन युवतीसँग पहिलोपटक नाम जोडियो अन्ततः उनले तिनै युवती अर्थात् श्वेता खड्कालाई बिहे गरेर आफ्नो इमानदारीको परिचय दिए । हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने श्रीको योजना एकातिर अब अधुरै रह्यो भने आफूले निर्माण गरेको दोस्रो चलचित्र कोहिनुर दर्शकहरूमाझ चलिरहँदा श्री भने कहिल्यै नआउने गरी संसारबाट बिदा भए । तै पनि उनले दिएका राम्रा चलचित्र र उनको आकर्षक अभिनयलाई भने दर्शकहरूले पछिसम्म सम्झिरहनेछन् ।

रियल खलनायक बन्दै थिए ‘रिल’मा नायक
सिनेमा क्षेत्र यस्तो मनमोहक, आकर्षक र रङ्गीन क्षेत्र हो कि यस क्षेत्रप्रति आकर्षित नहुनेको सङ्ख्या सानै मात्र होला । हरेक विधा, क्षेत्र, वर्ग र पेसामा लागेकाहरूलाई सजिलै आकर्षित गर्न सक्ने चमकधमकयुक्त क्षेत्रको रूपमा लिइन्छ सिनेमा क्षेत्रलाई ।
प्रसङ्ग प्रहरीको इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’को हो । यदि उनी केही महिना अरू बाँचेका भए उनको परिचय फेरिएर सिनेमा निर्माता तथा कलाकारको रूपमा प्रकट हुँदै थिए उनी । झट्ट सुन्दा आश्चर्य लागे पनि यो कुरा वास्तविक हो, आफैँ लगानी गरेर सिनेहिरो बन्ने ताकमा थिए दिनेश ‘चरी’ । नेपाली सिनेमाका प्रशंसक मात्र नभई उनी चलचित्रका नियमित दर्शक पनि थिए । हलमा नयाँ चलचित्र फेरिना साथ गोप्य रूपमा गएर नेपाली चलचित्र हेर्ने चरीको लत थियो । नेपाली सिनेमाका चलेका केही नायकहरूसँग उनको राम्रो चिनाजानी पनि थियो । अन्य क्षेत्रमा ‘अपराधी’का रूपमा चिनिए पनि उनी कलाकारहरूको सम्मान गर्दथे, निकै सम्मान र भाउ पनि दिन्थे कलाकर्मीहरूलाई । यसरी सिनेक्षेत्रसँग नजिक रहेका डन चरी आफ्नै लगानीमा चलचित्र निर्माण गर्न लालायित पनि थिए भन्ने खुलासा भएको छ ।
चरीले नेपाली चलचित्रका कुशल चलचित्र लेखक शिवम अधिकारीसँग चलचित्र बनाउनका लागि कथा तयार पार्न आग्रह गरेका थिए । चलचित्रका कथा लेखक र चरीबीच चारपटकसम्म कथाको बारेमा छलफलसमेत भएको थियो । ‘म व्यावसायिक चलचित्र लेखक हुँ । कसको पछाडि को छ या कसको विगत के हो, त्यो खोतल्ने मेरो काम पनि होइन । यस्तो कथामा चलचित्र लेख भनेपछि मैले आफ्नो पारिश्रमिक लिएर चलचित्र लेख्ने हो,’ लेखक अधिकारीले भने ।
दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा पर्नुभन्दा केही दिन अगाडिसम्म पनि शिवमले चरीले निर्माण गर्न लागेको चलचित्रको लागि कथा तयार पार्दै थिए । ‘जसको लागि कथा तयार पार्दै थिएँ उही मरेको खबर सुनेपछि झसङ्ग भएँ,’ अधिकारी भन्छन् । एउटा सिनेमा लेखेबापत आफूले लिने गरेको पारिश्रमिक चरीलाई भनेको तर अग्रिम रकम भने लिन नपाएको शिवमले बताए । उनका अनुसार डन चरीले शिवमलाई चलचित्रको पूरै जिम्मा लिन आग्रहसमेत गरेका थिए । तर, शिवमले आफूले त्यो जोखिम नउठाउने र लेखनको मात्र पारिश्रमिक लिने कुरा चरीलाई बताएका थिए । समयले साथ दिएमा चलचित्र निर्माणसँगै आफू पनि सिनेमाको हिरो बन्ने इच्छा चरीले व्यक्त गरेका थिए । उनी चलचित्र लेखक शिवम अधिकारीसमक्ष भन्ने गर्दथे, ‘जिम गरेर शरीर बनाएपछि हिरो बन्न त बेरै लाग्दैन नि, कि कसो ?’ तर, यसरी शरीरका मांशपेसी फुलाएर चलचित्रको हिरो बन्ने चरीको सपना इन्काउन्टरसँगै उडेर गएको छ ।

ओमराजले ल्याए राधाकृष्ण भजन
मूल पेसा वा पहिचान त उनको एक सरकारी अधिकृत हो । पोखरा उपमनपामा शाखा अधिकृत छन् उनी । उनी अर्थात् ओमराज पौडेल । तर, एक लेखकका रूपमा समेत पहिचान बनाएका सर्जक पौडेलले ‘राधाकृष्ण’ नामको भजन एल्बम बजारमा उतारेर आफ्नो पहिचानमा नयाँ आयाम थपेका छन् । पौडेलको रचना रहेको राधाकृष्ण भजन एल्बम गत शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । वरिष्ठ लोकगायिका एवम् प्राज्ञ हरिदेवी कोइरालाबाट विमोचित उक्त एल्बममा राधा र कृष्णका महिमा भजनमार्फत प्रस्तुत गरिएका छन् । गीत लेख्नु सामान्य कुरा नभएको बताउँदै आगामी दिनमा पनि सङ्गीत क्षेत्रमा कलम चलाउन वरिष्ठ गायिका कोइरालाले पौडेललाई कार्यक्रमबीच उत्प्रेरित गरिन् ।
भजनसङ्ग्रहबारे समीक्षा गर्दै वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले गीत कृष्णचरित्रबारे लेखिएको र एल्बममा समेटिएका गीत सुनिरहुँजस्ता रहेका बताए । गीतको भिडियोमा नृत्य, शब्द र छायाङ्कन सबै उत्कृष्ट रहेको उनको भनाइ थियो । कस्केली अधिकृत समाज पोखराका पूर्वअध्यक्ष दुर्गाबहादुर शाहले कर्मचारीका रूपमा परिचित पौडेललाई गीतकारका रूपमा चिन्न पाउँदा खुसी लागेको बताए । कस्केली अधिकृत समाजका अध्यक्ष दीर्घराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष शिवहरि कोइरालाले गीतकार पौडेलको परिचय गराएका थिए भने पौडेलका पिता देवीप्रसाद पौडेलले समेत मन्तव्य दिएका थिए । एल्बममा नवराज बरालको सङ्गीत रहेको छ भने स्वर सर्वज्ञमान शाक्य, लक्ष्मी पौडेल, सीता बराल, मनु खत्री र सुकु हिराचनको रहेको छ ।