सन् २०१० को कुरा हो, न्युयोर्कमा एकजना दिदीकोमा रातिको खाना खाएर फर्कंदै गर्दा ट्याक्सीड्राइभरले हाम्रो बोलीचालीको कारण ‘कुन देशको हो ?’ भन्दै परिचय गरे । आफूहरूको परिचय दिँदै सँगै रहेकी साथीले संयुक्त राष्ट्रसङ्घमा कार्यक्रममा भाग लिन आएको बताएपछि ‘ए, तिमीहरूले हिलारी क्लिन्टनलाई भेट्नुपर्ने’ भन्दै उनले उहाँ हिजो मात्रै न्युयोर्कबाट बाहिरिनुभएकाले चार दिनपछि भए आफूले भेट गराइदिने बताए । यहाँका ट्याक्सीड्राइभरहरू राम्रै गफ दिँदारहेछन् भन्ने सोच्दै मैले ‘हिलारी क्लिन्टनसँग तपाईंको पहुँच कसरी भयो नि ?’ भनेर सोधेँ । अलिअलि हाँस्दै उनले ‘म र उहाँसँगै काम गर्छौं’ भने । उनी डेमोक्र्याटिक पार्टीसम्बद्ध नेता रहेछन्, न्युयोर्कमा काम गर्दारहेछन् । ‘म दिउँसो पार्टीको काम गर्छु, तिमीहरूलाई थाहै छ, पार्टीको काममा आम्दानी हँुदैन, त्यसैले म पैसाका लागि राति ट्याक्सी चलाउँछु’ भने । हामीलाई छोड्ने बेलामा उनले अलगअलग दुईवटा भिजिटिङ कार्ड दिँदै भने यो मेरो पार्टीको कार्ड हो, दिउँसो फोन ग¥यौ भने यो नम्बरमा मलाई पाउँछौ, योचाहिँ मेरो व्यवसायको, राति ट्याक्सी चाहियो भने यसमा गरे हुन्छ । विकसित मुलुकका राजनीतिकर्मीहरू कसरी चलेका हुँदारहेछन् भन्ने बुझ्नका लागि यो राम्रो दृष्टान्त थियो । विभिन्न पेसा र व्यवसायमा संलग्न रहेर आफू धानिएपछि बाँकी रहेको समय राजनीतिमा दिने गजबको कुरा थियो । तिनै ट्याक्सीड्राइभरले भनेका थिए, हाम्रा साथीहरू कोही पढाउँछन्, कसैको व्यापार–व्यवसाय छ, मचाहिँ पहिल्यैदेखि ट्याक्सी चलाउँछु । तर, हाम्रो सन्दर्भ फरक छ ।
राजनीतिलाई पेसाझैं ठानिने हाम्रो मुलुकमा राजनीतिकर्मीहरूको काम राजनीतिभन्दा अरू हुने गरेको छैन । अधिकांश राजनीतिकर्मीको आफ्नै कमाई छैन । सैद्धान्तिक दृष्टिकोणले राजनीति र अपराध दुई विपरीत ध्रुवीय तत्व् हुन् । तर, व्यवहारमा भने यी दुईबीच गहिरो सम्बन्ध रहने गरेको छ । अल्पविकसित मुलुकमा सत्तालाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्ने गरिएकाले राजनीतिमा अपराधले प्रश्रय पाएको हो । राजनीतिकर्मीहरूले आपराधिक क्रियाकलापमा संलग्नहरूलाई प्रश्रय नदिने हो भने अहिले हुने गरेका धेरै अपराध आफँै किनारा लाग्ने थिए । तर, यहाँ त राजनीतिकर्मीको अन्य कुनै पेसा–व्यवसाय नहुने, राजनीति गर्नका लागि पैसा चाहिने र पैसाको जोहो गर्नलाई अपराधीहरूको सहारा लिनुपर्ने भएका कारण राजनीति र अपराधबीच गहिरो सम्बन्ध रहँदै आएको छ । यदि राजनीतिकर्मीहरूको पदमा रहँदाबाहेक पनि आम्दानी हुने आफ्नै काम या व्यवसाय हुँदो हो त स्थिति फरक हुन सक्थ्यो भन्न सकिन्छ । आयआर्जनको मुख्य स्रोत राजनीति नहुँदो हो त यो मुलुकमा भ्रष्टाचार स्वतः घट्ने थियो तथा जवाफदेहिताको कुनै अर्थ हुने थियो भन्न सकिन्छ । त्यसोत, यो मुलुकमा भ्रष्टाचारमा संलग्न राजनीतिकर्मीभन्दा बढी कर्मचारीतन्त्र छ । तर, यदि राजनीतिकर्मीहरू स्वच्छ भएर कानुनको शासन स्थापना गर्न लागेमा गैरकानुनी कार्य गर्नमा कर्मचारीको मनोबल यति धेरै बढ्ने थिएन । पैसाबिना सरकारी कामहरू कमै मात्रामा हुने गरेका छन् । सरकारी बजेटको दुरुपयोग या सदुपयोग हुनै नपाउने अवस्था आउनुमा राजनीतिकर्मी र कर्मचारी दुवैको समान भूमिका रहँदै आएको छ । अपराधलाई प्रश्रय दिन या अपराधीको मनोबल बढाउनमा भने राजनीतिकर्मीकै भूमिका बढी छ । नेपाल प्रहरीद्वारा इन्काउन्टरमा मारिएका भनिएका ‘चरी’को मृत्युपछि राजनीतिकर्मीका आवाज संसद्मा जसरी प्रस्तुत भए त्यो हेर्दा यो मुलुकको राजनीति कसरी चलेको रहेछ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । उनी नभएको भए आफूहरूले चुनाव जित्न गाह्रो पर्नेसम्मका अभिव्यक्ति दिएर नेताहरू उदाङ्गिएका छन् । यस विषयमा एमाले पार्टी अध्यक्षको भनाइसमेतलाई हेर्दा हाम्रा राजनीतिक दलहरू कसरी चलिरहेका छन् भन्ने प्रस्ट हुन्छ । नीतिहरूको मूल नीति राजनीति धमिलिनुमा ‘चरी’ प्रवृत्ति मात्र होइन, अन्य धेरै कुराको हात छ ।
नेपालमा पछिल्लो समय राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण बढेको छ । अपराध गरेर सजायका लागि थुनिएकाहरूलाइ राजनीतिक दबाबका कारण धमाधम छोड्नुपर्ने अवस्था एकातिर छ भने आपराधिक घटनालाई राजनीतिक रङ्ग दिने काम पनि त्यत्तिकै हुने गरेको छ । ज्यान जोखिममा राखेर पक्राउ गरेका आपराधिक गिरोहका नाइकेलाई राजनीतिक दबाबमा छोड्नुपरेका अनेक दृष्टिान्त प्रहरीसँग छन् । अपराध गरेर राजनीतिमा प्रवेश गर्नेहरूको सङ्ख्या पनि कम छैन । राजनीतिक दलहरूमा आबद्ध कतिपय मानिसलाई ‘राजनीतिकर्मी’को आवरणबाट मुक्त गरिदियो भने अपराधीबाहेक हर्को आवरण पाइँदैन । त्यस्तै, कैयन अपराधीले राजनीतिको आवरणमा आफ्नो निजी स्वार्थका लागि राजनीतिक दलहरूलाई सेल्टर बनाएर आफ्नो धन्दा चलाइरहेका छन् । राजनीतिमा अपराध र अपराधमा राजनीतिको यसप्रकारको चलखेलले सत्जन मानिसलाई राजनीतिमा प्रवेश गर्न हिच्किचाउनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । आफ्नो सानोतिनो व्यवसाय गरेर बसेकाहरूले त राजनीतिमा जाने हिम्मत गर्न पनि सक्दैनन् । चुनावहरू महँगा हुँदै जानुमा पनि यस्तै आपराधिक गतिविधिबाट प्राप्त पैसाकै कारण हो । साधारण राजनीतिकर्मीले चुनाव लड्नका लागि अब सोच्नैपर्ने अवस्था छ । अझ तराईमा त अपराध र राजनीतिको सम्बन्ध झनै गहिरो छ । खुल्ला सिमानाको फाइदा उठाउँदै गरिने आपराधिक क्रियाकलाप र त्यसमा राजनीतिकर्मीको छत्रछाया, तराईवासीका लागि सामान्य कुरा हुन् । कुरा ‘चरी’ या चरीहरूको मात्र होइन, ती चरीहरूलाई भुर्रर उडाउन मद्दत गर्ने राजनीतिकर्मीहरूको पनि हो । चरीहरूलाई आफूले गरेको गल्तीको सजायका लागि पिँजडामा हाल्न नपाउने अवस्थाको हो । एक–अर्काका पूरकझैं बनेका अपराध र राजनीति जबसम्म एक–अर्काबाट टाढा हुँदैनन् तबसम्म यो देशको राजनीति उत्तम नीति बन्न सक्दैन । त्यसैले राजनीतिलाई खत्तम नीति भनिनबाट माथि उठाएर नीतिहरूको पनि नीति बनाउनका लागि अपराधको दुनियाँबाट यसलाई अलग गर्नैपर्छ । साथै चरीहरूको भर नपर्नका लागि राजनीतिकर्मीहरूले आफ्नै आम्दानीको स्रोत बनाउनुपर्छ ।
प्रतिक्रिया