सांसदप्रति सांसदको आपत्ति

सांसदप्रति सांसदको आपत्ति


सांसद अनिल झाको कार्यशैलीप्रति सांसद रेखा झाले गम्भीर आपत्ति जनाएकी छिन् । संसदीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा एकलौटी गरेको भनी सांसद रेखा झाले आपत्ति जनाएकी हुन् । अनिल र रेखा दुवै रौतहट क्षेत्र नं. १ का सांसद हुन् । अनिल राजपाका निर्वाचित सांसद हुन भने रेखा नेकपाकी समानुपातिक सांसद हुन् ।

संसदीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरूले एक–अर्काको सहमतिमा चार करोड खर्च गर्न पाउने व्यवस्था छ । निर्वाचन क्षेत्र विकासका लागि उक्त रकम कहाँ, कसरी खर्च गर्ने भनी खाका बनाएर छलफल गरी एक–अर्काको सहमतिमा लागू गर्नुपर्नेमा सांसद अनिल झाले उक्त क्षेत्रका अन्य दुईजना सांसदसँग कुनै छलफल नगरेको बताइएको छ ।

रौतहट क्षेत्र नं. १ बाट समानुपातिकका रेखा झा र सरलाकुमारी यादव सांसद छन् । दुवै सांसदले नेकपालाई प्रतिनिधित्व गर्छन् । संसदीय विकास पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदहरूलाई समेत समान रूपमा सहभागी गर्नुपर्ने सम्बन्धित निर्देशिकामा उल्लेख छ । सांसद अनिलले निर्देशिकामा उल्लेखित कुनै पनि मापदण्ड पूरा नगरेको भनी आलोचना गरिएको छ ।

घटना र विचारसँग कुरा गर्दै सांसद रेखा झाले आफू सत्ता पक्षको सांसद भएका कारण पनि जनताले आफूबाट विकास कार्यक्रमको अपेक्षा गरेको, तर संसदीय पूर्वाधार कार्यक्रमको बजेट खर्च गर्दा आफूहरूसँग छलफल र सल्लाह नगरिएकाले यसमा सरकारले खोजीनिती गर्नुपर्ने बताएन् । उनले भनिन्, ‘आफ्नो नाममा आएको रकम केमा, कसरी खर्च हुँदै छ भन्ने कुरा सांसदहरूले मात्र होइन स्थानीय जनताले पनि जान्न पाउनुपर्छ ।’