निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यबद्धता जनाउन कञ्चनपुर पुगेका कांग्रेस नेता गगन थापाले गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताएका छन् । उनले कार्यकर्तालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले अपराधीलाई संरक्षण दिएकोले गृहमन्त्रीले राजीनामा नदिएसम्म अपराधी पत्ता नलाग्ने बताएका हुन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै थापाले भने, ‘यतिबेला गृहमन्त्री बादल कालो बादलका रूपमा रहनुभएको छ, त्यसैले कालो बादल हटेर पानी नपरेसम्म फोहोर पखालिँदैन ।’
उनले सिंगो देश निर्मलाको अपराधी पत्ता लगाउन एकजुट हुँदा पनि अपराधी पत्ता नलाग्नु भनेको एक–दुईजना अपराधीले जितेर सारा नेपाली जनताले हारेको बताए । सोही अवसरमा थापाले गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रीबाट राजीनामा नदिएसम्म निर्मलाका वास्तविक हत्यारा पत्ता लाग्न नसक्ने जिकिर पनि गरे ।
कार्यकर्तालाई सम्बोधन गरेपछि थापा निर्मलाका बुबाआमा भेट्न जिल्ला प्रशासन कार्यालयअघि धर्नास्थल पुगेका थिए । सो अवसरमा उनले निर्मलाका बुबाआमालाई सरकारले यस विषयलाई गम्भीर रूपमा नलिएको बताउँदै निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलका नेताहरूलाई भेटेरै कुराकानी गर्ने आश्वासन दिए ।
तस्बिर रासस
प्रतिक्रिया