रामचन्द्रले नमान्दा विधान बन्न विलम्ब

रामचन्द्रले नमान्दा विधान बन्न विलम्ब


केही गम्भीर विषयमा सहमति बन्न नसकेपछि नेपाली काङ्ग्रेसको विधानले अन्तिम रूप लिन सकेको छैन । उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्ता पदहरूको हाल कायम सङ्ख्या बढाउने पक्षमा अधिकांश नेताहरू भए पनि रामचन्द्र पौडेललगायतका केही नेताहरू विरुद्धमा भएकोले यससम्बन्धी विषयको टुङ्गो लाग्न नसकेको हो ।

त्यसैगरी सदस्यता एकल गर्ने या हालकै व्यवस्था (साधारण र क्रियाशील) कायम राख्ने भन्ने विषयमा पनि रामचन्द्र पौडेलको फरक मत रहेको छ । नेपाली काङ्ग्रेस ‘मासबेस्ड’ (जनआधारित) पार्टी भएकोले यसको सदस्यता एकल (साधारण मात्र) हुनुपर्ने पक्षमा काङ्ग्रेसका अधिकांश नेताहरू रहेका छन् । ‘मासबेस्ड’ पार्टीमा साधारण सदस्यहरूमध्येबाट नै नेतृत्व चयन गर्नु उपयुक्त हुने नेताहरूको धारणा छ । तर, पौडेलसहित केही नेताहरू भने सदस्यता व्यापक तुल्याइँदा व्यवस्थापन गर्न कठिन हुने तर्क दिँदै हालको दुई सदस्यता प्रणाली कायम राख्न जोड दिँदै छन् ।

पार्टीका कमिटीहरूको संरचना जनसङ्ख्याको अनुपातमा बनाइनुपर्छ भन्ने विषयमा पनि पार्टीभित्र मतान्तर रहेको छ । जनसङ्ख्याको अनुपातमा संरचना (गाउँ तथा नगर समिति, जिल्ला र केन्द्रीय समिति एवम् महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू) बनाइँदा सबै समितिहरूमा क्षेत्री–ब्राह्मणहरूको बाहुल्य रहने अवस्था छ, तर समानुपातिक प्रतिनिधित्वको पक्षमा रहेकाहरूमध्ये केहीले साङ्गठनिक संरचना समानुपातिक भए पनि क्षेत्री–ब्राह्मणहरूको सङ्ख्या कम गराइनुपर्ने ‘तर्क’ दिइरहेका छन् । बहसमा आएका यी विषयहरूको टुङ्गो केन्द्रीय कार्यसमितिले लगाउनुपर्ने हुन्छ । अब बस्ने कार्यसमिति बैठकले विवादमा आएका विषयहरूको टुङ्गो लगाएपछि विधान संशोधन प्रक्रियाले अन्तिम रूप लिने र निर्धारित महासमिति बैठकले अनुमोदन गरेपछि विधान कार्यान्वयन हुनेछ ।

पार्टीमा हाल उपसभापति एक, महामन्त्री दुई र सहमहामन्त्री एक रहने वैधानिक व्यवस्था छ । अर्को दलबाट पार्टी प्रवेश गर्नेलाई ‘एडजस्ट’ गर्न सकिने वैधानिक प्रावधानमा टेकेर हालै विजयकुमार गच्छदारलाई उपसभापति बनाइएको छ, तर दुई उपसभापति रहने प्रावधान नरहेकोले गच्छदार नियुक्तिको व्यापक विरोध पनि भइरहेको छ । अब सात प्रदेशको कमान सम्हाल्ने गरी सात उपसभापति, चार महामन्त्री र चारैजना सहमहामन्त्री राख्ने पक्षमा परिस्थिति बन्दै गएकोले अन्ततः काङ्ग्रेस विधानमा बहुपदीय संरचना बन्ने विश्वास गर्न थालिएको छ ।

काङ्ग्रेस पूर्वनिर्धारित विचार–सिद्धान्तबाट च्यूत भएको यस अवस्थामा पार्टीले आफू कम्युनिस्टभन्दा भिन्न रहेको देखाउन सैद्धान्तिक एवम् वैचारिक रूपले नसके पनि प्राविधिक रूपले फरक देखिने कसरत काङ्ग्रेसले गर्दै आएको छ । यस क्रममा सदस्यता, संरचना, नेतृत्व र कार्यशैली परिवर्तनमा मात्र काङ्ग्रेसले जोड दिने गरेको छ ।