नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताएका हुन् ।
नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्ने सुझाव सो अवसरमा देउवाले दिए । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने उदघोष पनि उनले गरे ।
उक्त कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने समय आएको बताइन् भने नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले पुस १७ गते वर्तमान प्रधानन्यायाधीशको पदावधि सकिने भएकाले मङ्सिर १७ अगावै संवैधानिक परिषद्ले सिफारिश गर्नुपर्ने औंल्याए। खस्कँदो अवस्थामा रहेको स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि उउनले सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, वसन्तराम भण्डारी, नेपाल बार एशोसियसनका महासचिव खम्बाबहादुर खाती, आयोजक समितिका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, उपाध्यक्ष सुरेश पौडेल, नेपाल लयर्स एशोसियसनका अध्यक्ष रुद्र नेपाल, राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी समूहका अध्यक्ष राजु बस्नेत, डिएलए काठमाडौंका अध्यक्ष प्रकाश रावल, नेपाल कानून आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशीलगायतले खस्कँदै गएको स्वतन्त्र न्यायपालिकाको साख उँचो बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
तस्बिर रासस
प्रतिक्रिया