पत्रकारिता क्षेत्रका जिउँदो इतिहास रामाशीष

पत्रकारिता क्षेत्रका जिउँदो इतिहास रामाशीष


bichar‘काठमाडौंमा पहिलो पाइला हाल्दा मैले देव भूमिमा प्रवेश गरेको महसुस गरेको थिएँ । साँच्चै यो ठाउँमा देवताहरूको बसोबास छ जस्तो लाग्थ्यो र कतिपय घटनाले यहाँका मानिस दैवबराबर हुन् जस्तो महसुस पनि मलाई गराएको थियो ।’
० अहिले कस्तो लाग्दै छ त ?
– ‘धेरै कुरा बदलिए । अब पहिले जस्तो रहेन काठमाडौं ।’
० यहाँको सबभन्दा नराम्रो पक्ष के लाग्दै छ तपाईंलाई ?
– रक्सी, जुवा र वेश्यावृत्तिमा भएको बढोत्तरी यहाँको सबभन्दा खबर पक्ष हुन् ।
० अनि राम्रो पक्षचाहिँ ?
– ‘अभितक यहाँ के लोग मन्दिर जाने पूजा करेत है, बुद्धिष्ट हो या हिन्दू । यह हमे अच्छे लगते हैं ।’ विगत पाँच दशकदेखि काठमाडौं उपत्यका र समग्र नेपाललाई नजिकबाट नियाल्दै आउनुभएका वरिष्ठ पत्रकार रामाशीषसँगको सम्वाद हुन् यी ।
सन् १९३७ को जुलाई १४ मा भारत सीतामडीको सुरसन्डमा जन्मनुभएका रामाशीषले आफ्नो थर कहिल्यै लेख्नुभएन । दोलखा जफेकी नेपाली ब्राह्मण कन्यासँग पे्रम–मागी विवाह गर्नुभएका उहाँले बिहार विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । नौ वर्षको उमेरमै भारतको शक्तिशाली एवम् प्रतिष्ठित स्वयम्सेवी संस्था राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस)मा आबद्ध उहाँको परिचय एक पत्रकारका रूपमा भए पनि भारत र नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदानका आधारमा उहाँलाई प्रजातन्त्र सेनानी पनि भन्न सकिन्छ । सन् १९५४ मा मेट्रिक (एसएलसी) पास गर्नुभएका रामशीष सन् १९५५ मै राष्ट्रिय स्वयम्सेवक सङ्घको कार्यकर्ताका रूपमा भूमिकासहित क्रियाशील रहन पटना जानुभएको थियो । त्यसबेला भारतमा गोहत्या निरोध आन्दोलन चलिरहेको थियो, रामाशीषलाई पटनास्थित कार्यालयको मन्त्री बनाइयो । सत्र वर्षकै उमेरमा यसरी राष्ट्रिय स्वयम्सेवक सङ्घको कार्यालय मन्त्री बनाइएपछि रामाशीषले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । त्यसताक गोहत्या निरोध समितिले ‘सावधान’ नामक पत्रिका प्रकाशित गर्ने गथ्र्यो । सन्ध्याकालीन दैनिकको रूपमा प्रकाशित उक्त अखबारमा उहाँ आबद्ध हुनुभयो र समाचार कसरी लेख्ने भन्ने कुराको अभ्यास गर्दै ज्ञान आर्जन गर्न थाल्नुभयो ।
केही कालपश्चात् गोबध निरोध आन्दोलन सकियो, त्यसपश्चात् ‘सैनिक शिक्षा मन्दिर’ खोलेर प्रारम्भिक सैन्य शिक्षा दिने काम आरम्भ गरियो, जसमा आठ वर्षसम्म शिक्षक भएर काम गर्नुभयो रामाशीषले । उक्त स्कुलको मुख्य प्रशिक्षक नै उहाँ हुनुहुन्थ्यो । सैन्य शिक्षा दिनुहुने रामाशीष सङ्गीतसम्बन्धी शिक्षा पनि दिने गर्नुहुन्थ्यो । उहाँ सङ्गीतका पनि पारखी हुनुहुन्छ । सङ्घ (रास्वसेसङ्घ) का कार्यक्रमहरूमा ब्यान्डप्रमुखको रूपमा पनि उहाँले नै भूमिका निर्वाह गर्नुहुन्थ्यो ।
सन् १९५३ मा नेपाल आउने मौका भने उहाँले बेग्लै कारणले पाउनुभयो । मुजफ्फरपुरको प्रकाशन संस्था पुस्तक भवनका मालिकले रामाशीषलाई आफ्नो संस्थाको प्रमुखमा नियुक्त गरेका थिए । उक्त प्रकाशनगृहको शाखा नेपालको वीरगन्ज र काठमाडौंमा पनि खोलिएको थियो । दुवै शाखा हेर्ने गरी रामाशीष काठमाडौं आउनुभएको र त्यसैबैला उहाँलाई काठमाडौं ‘देवभूमि’ महसुस भएको थियो । प्रकाशनगृह प्रमुखका रूपमा त्यसताक उहाँले काठमाडौं र वीरगञ्ज मात्र होइन नेपालको गाउँ–गाउँ घुम्नुभयो र नेपाललाई राम्ररी बुझ्नुभयो । सन् १९६६ सम्म प्रकाशनगृहमा सम्बद्ध रहँदाको रोचक स्मरण गर्दै उहाँले भन्नुभयो, ‘गाउँ–गाउँमा पुस्तक पु-याइयो, खुब घुमियो नेपाल । गाउँ–गाउँमा किताब पु-याउँदा कति ठाउँमा मलाई बाजागाजासहित फूलमालाले भव्य स्वागत गरिएको थियो । सन् १९६६ मा नेपाल सरकारले सिलेबल्स बनाएर पाठ्यक्रमबाट हिन्दी हटाइदियो । राजा महेन्द्रले हिन्दी खत्तम गरिदिए । जनक शिक्षा सामग्री केन्द्र स्थापना गरी पाठ्य पुस्तकहरूको प्रकाशन गर्ने काम पनि सुरु गरियो । हरेक पक्षबाट ‘हिन्दी’ हटाइयो ।’
राजा महेन्द्रको यस्तो कदमबाट रामाशीष निकै दु:खी बन्नुभयो । जनताले माया गर्दागर्दैको भाषा (हिन्दी) लाई हटाउने काम मात्र तत्कालिक राजा महेन्द्रले नगरेको रामाशीषको भनाइ छ । राजा त्रिभुवनको पालादेखि काठमाडौंमा क्रियाशील ‘हिन्दुस्थान समाचार संस्था’लाई बन्द गराएर ‘राष्ट्रिय समाचार समिति’ स्थापना पनि महेन्द्रले नै गरेका थिए– रामाशीषले भन्नुभयो ।
रामाशीष सन् १९६७ को सेप्टेम्बर २२ देखि ‘हिन्दुस्थान समाचार संस्था’मा आबद्ध हुनुभएको थियो । काठमाडौंमा संस्थाको कार्यालय बन्द भए पनि १९७० मा उक्त संस्थाको दिल्लीस्थित प्रधान कार्यालयमा एक वर्ष काम गरेपछि सन् १९७१ को फेबु्रअरीमा उहाँ ब्युरो प्रमुखको रूपमा काठमाडौं आउनुभएको थियो । सिंहदरबार आगलागीको समयमा पनि उहाँ काठमाडौंमै हुनुहुन्थ्यो । ९ जुलाई १९७३ को रात सिंहदरबारमा आगलागी भयो । रामाशीषले आगलागीको घटनालाई प्रजातान्त्रिक आन्दोलनसँग जोडेर समाचार पठाउनुभएको थियो । भारतीय सञ्चारमाध्यमहरूले रामाशीषको समाचारलाई निकै महत्वका साथ प्रकाशन÷प्रसारण गरे । त्यसपछि के चाहियो नेपाल सरकारले रामाशीषलाई देश निकाला ग-यो । काठमाडौं छोडेपछि समाचार संस्थाको पटना कार्यालयतर्फ लाग्नुभएका उहाँ सन् १९७८ सम्म दिल्लीस्थित प्रधान कार्यालयमा र त्यसपछि पटना कार्यालयमा रहेर उहाँले आफ्नो पत्रकारिता जीवनलाई निरन्तरता दिइरहनुभयो । तर, सन् १९८४ मा राजीव गान्धी प्रधानमन्त्री बनेपछि विभिन्न आरोप लगाउँदै हिन्दुस्थान समाचार संस्थामा तालाबन्दी गरियो । त्यसपछि रामाशीष फेरि काठमाडौं आउनुभयो । काठमाडौंमा यसपटक उहाँको जीवन निकै कष्टपूर्ण हुन पुगेको थियो । भन्नुहुन्छ, ‘हातमुख जोड्नै समस्या प-यो, तथापि मैले स्वतन्त्र पत्रकारको रूपमा काम गर्दै गरेँ । ३१ जुलाई १९८५ मा आत्मकथा दैनिक (भारत) मा मेरा दुईवटा लेख छापिए । त्यसबापत दुई हजार रुपैयाँ प्राप्त गर्दाको क्षण म कहिल्यै भुल्न सक्दिनँ । तर, त्यही लेखका कारण म आफ्नै गाउँमा नौ महिनासम्म भूमिगत भएर रहनुप-यो ।’
१९८६ मा उमाकान्त दासको सुझाव र आग्रहमा रामाशीष काठमाडौं आउनुभयो र दासकै सम्पादकत्वमा प्रकाशित नेपाली हिन्दी पत्रिकामा जोडिएर उहाँले दिनमान र नवभारत टाइम्सका लागि पनि संवाददाताको रूपमा काम गर्न थाल्नुभयो । ०४६ को जनआन्दोलनको समयमा दिनमानमा छापिएको उहाँको एउटै लेखका कारण नेपालमा सबै भारतीय पत्रपत्रिकामाथि प्रतिबन्ध लाग्यो, उक्त प्रतिबन्ध प्रजातन्त्र स्थापनासँगै खुलेको थियो ।
राजीव गान्धीको कार्यकालमा हिन्दुस्थान समाचार संस्थामाथि लागेको तालाबन्दी सर्वोच्च अदालतको आदेशले १९ वर्षपछि खुल्यो । प्रतिबन्ध हटेपछि सन् २००४ देखि नै रामाशीष उक्त संस्थामा आबद्ध रही विशेष संवाददाताका रूपमा पत्रकारितालाई निरन्तरता दिँदै हुनुहुन्छ ।
रामाशीष नेपाललाई धेरै नजिकबाट बुझेका भारतीय पत्रकारमध्ये पर्नुहुन्छ । ७७ वर्षको उमेरमा पनि उहाँको पेसाप्रतिको निष्ठा र लगाव अनुकरणीय छ । जीवनमा कहिल्यै मदिरा, सुर्ती, चिया ग्रहण नगर्नुहुने बरु नियमित रूपमा व्यायाम गर्नुहुने रामाशीषलाई सन् २००३ को २८ डिसेम्बरका दिन हृदयाघात भयो । नर्भिक अस्पतालले बाँच्ने सम्भावना सात प्रतिशत मात्र रहेको बताए पनि रामाशीषले पुनर्जीवन पाउनुभयो । त्यो पनि बिनाअपे्रसन । नेपाल र भारतका चिकित्सकहरूले बारम्बार अप्रेसन गर्न भनिरहेका भए पनि रामाशीष अप्रेसनबिना नै बाँचिरहने जिद्दी गर्दै हुनुहुन्छ । उहाँलाई दुईपटक हृदयाघात भइसकेको छ, तै पनि उहाँ अप्रेसन नगरी बाँच्न कटिबद्ध हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आरएसएसका सरसङ्घ चालक सुदर्शनजीले औषधि गर्नू तर अप्रेसन नगर्नू, बरु नियमित लौकाको जुस खानु भन्नुभयो, त्यसैले अप्रेसन गरिनँ, दश वर्षदेखि जीवित नै छु ।’