नेकपा सचिवालय बैठक बस्दै, सरकारको समीक्षा पनि हुने

नेकपा सचिवालय बैठक बस्दै, सरकारको समीक्षा पनि हुने


आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आजका लागि बैठक तय गरेका हुन् ।

पार्टी एकतालगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ । बैठक अपरान्ह् तीन बजेका लागि बोलाइएको छ । दुई अध्यक्षबीच भएको छलफलले सचिवालयको बैठकबाट स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने सहमति भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा नहुँदा जिल्ला, प्रदेश सबैतिर विवाद देखिन्छ । त्यसैले विवाद मिलाउने गृहकार्यका लागि पनि सचिवालय बस्न लागिएको पार्टी नेताले बताएका छन् । यसअघि, पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेको लगायत कारण देखाउँदै नेकपाका माधव नेपाल निकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । उनीहरूले हिजो बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न ध्यानाकर्षण समेत गराएका थिए । सचिवालयमार्फत निर्णय गर्न थालिएको भन्दै त्यसमा पनि उनीहरूले आपत्ति जनाएका छन् ।