पार्टी बलियो बनाउन कोइरालाहरू एकजुट : सुजाता

पार्टी बलियो बनाउन कोइरालाहरू एकजुट : सुजाता


नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छिन् ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले दुईतिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन् । ‘दुईतिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ,’ उनले भनिन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताइन् । उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् । नेतृ कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण कांग्र्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउन कोइरालाहरू एकजुट भएको स्पष्ट पारिन् ।

‘कोइरालाभित्र नेतृत्वबारे कुनै मनमुटाव छैन, समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र संगठन हाँक्न सक्ने नेतृत्वलाई अगाडि सार्छौं,’ उनले भनिन् । केन्द्रदेखि स्थानीय स्तरसम्म संगठन निर्माणका लागि कांग्रेसले ध्यानु दिनुपर्ने उनको भनाइ थियो ।

प्रजातन्त्र बलियो भए मात्र कांग्रेस बलियो हुने भन्दै उनले प्रजातन्त्र बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने बताइन् । ‘कांग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्न सक्छ,’ कोइरालाले भनिन् । पार्टी बलियो भए मात्र नेता बलियो हुने उनको भनाइ छ ।