नौ महिना नियाल्दा पनि कांग्रेसले देखेन सरकार

नौ महिना नियाल्दा पनि कांग्रेसले देखेन सरकार


केपी ओली सरकार गठन भएको ९ महिना पुगिसक्दासमेत देशमा सरकार छ कि छैन भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको निष्कर्ष कांग्रेस केन्द्रीय समितिको बैठकले निकालेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘मंसिर ३ गते ओली सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ’ भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था आएको बताए ।

शर्माले नागरिकको सरकारसँगको सबैभन्दा ठूलो अपेक्षा सुरक्षाको हुने भए पनि सरकार जनताको जिउधनको सुरक्षा गर्न असफल रहेको बताए । उनले भने, ‘सरकारसँग नागरिकको सबैभन्दा ठूलो अपेक्षा सुरक्षाको हुन्छ, तर सरकार सबै नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा २ जनाको हत्या भएको, सर्लाही तथा रोल्पामा कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेका भन्दै सरकारको सुशासनको नारा पनि नमच्चिने पिङको सय झट्का मात्र भएको शर्माको भनाइ छ ।

मन्त्रिपरिषदको निर्णय ७ दिनमा मात्र सार्वजनिक गर्ने सरकारको तयारी तत्कालै सूचना पाउने नागरिकको हक र पारदर्शिताविपरीत रहेको शर्माले बताए । सरकारको यो तयारीप्रति विमति प्रकट गर्दै सरकारका निर्णय २४ घन्टामै सार्वजनिक गर्ने प्रबन्ध मिलाउन पनि सो अवसरमा शर्माले आग्रह गरे ।