रिलिजपूर्व नै रजनीकान्तको फिल्मको कमाइ १२० करोड भारु

रिलिजपूर्व नै रजनीकान्तको फिल्मको कमाइ १२० करोड भारु


रिलिज हुनुपूर्व नै सुपरस्टार रजनीकान्त र अक्षयकुमार अभिनीत फिल्म २.० ले यतिबेला सनसनी फैलाएको छ । प्राप्त जानकारीअनुसार २.० ले एडभान्स बुकिङमै १२० करोड भारतीय रुपैयाँ संकलन गरिसकेको छ ।

बहुचर्चित २.० फिल्म आगामी २९ नोभेम्बरमा रिलिज हुँदै छ । ५ सय करोड भारुमा निर्माण भएको यो फिल्मले रिलिज हुनुअगावै १२० करोडको एडभान्समा कमाइसकेकोे छ । रिलिज हुनुपूर्व नै १ सय करोडभन्दा बढी रकम कमाउने २.० पहिलो तमिल फिल्म बनेको छ ।

२.० यो वर्षको सबैभन्दा बहुप्रतीक्षित फिल्म हो । यो फिल्म २.० पूरा भारतभरि ६ हजार स्क्रिनमा रिलिज हुँदै छ । विश्वस्तरमा धेरै स्क्रिनमा भारतद्वारा रिलिज गरिन लागेको २.० पहिलो फिल्म हो । यसअघि हालै ठग्स अफ हिन्दुस्तानलाई ५ हजार स्क्रिनमा रिलिज गरिएको थियो ।

यतिबेला रिलिज हुनुपूर्व नै २.० ले १२० करोडको एडभान्स बुकिङमार्फत कमाए पनि यो फिल्म प्रदर्शनपछि कस्तो व्यापार गर्छ त्यो चासो विषय बनेको छ । यसभन्दाअघि कीर्तिमानी ओपनिङ गरे पनि नेगेटिभ प्रचारका कारण एक साताभित्र १ सय ५० करोडमा ठग्स अफ हिन्दुस्तान सीमित बनेको थियो । अव २.० ले बाहुबलीको रेकर्ड तोड्छ कि आमिर खानको फिल्मले झैँ नेगेटिभ प्रचारको सिकार बन्छ त्यो रिलिज पछि थाहा हुनेछ ।

यो फिल्मको निर्देशन एस. शंकरले गरेका हुन् । फिल्ममा रजनीकान्तले मुख्य भूमिका अर्थात हिरोको रोल निभाएका छन् भने भिलेनको भूमिका अक्षयकुमार रहेका छन् ।