नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको छ । नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा कमिटी गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) सम्पन्न सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बिहीबारको बैठकमा सो प्रस्ताव पेश गरेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार प्रतिवेदनमाथि छलफल भयो, छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदनलाई टुङ्गो लगाएको छ । टुङ्गो लागेको प्रतिवेदनलाई सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।
प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरण र कार्यविभाजन हुने जानकारी पनि उनले दिए । साथै अगामी बैठकमा सरकार, पार्टी र संसद् सञ्चालनसम्बन्धी समीक्षा गरी नयाँ कार्ययोजना बनाउने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया