‘आर्क ब्रिज’ नेपालको पूर्बाधार क्षेत्रमा नयाँ डिजाइन हो । बिशेषगरी चीनको पूर्वाधार क्षेत्रमा प्रख्यात कमाएको आर्क ब्रिजले नेपालमा प्रवेश पाएसँगै चर्चा बढेको छ । अन्य पुलको तुलनामा निकै सस्तो मानिएको यो पुल पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनमा निर्माणाधिन छ ।

पृथ्वीराजमार्ग अन्तर्गत त्रिशुली नदिमा ‘आर्क व्रिज’ निर्माणाधीन छ । फागुनदेखि सवारीसाधन गुडाउने योजनाका साथ पुल निर्माण कार्य अघि बढेको छ । यहाँ पुल मात्रै तयार हुने छैन, नेपाली आफैले डिजाइन गरेर आर्क व्रिज निर्माण गर्न सक्छन् भन्ने प्रमाणित पनि गर्नेछ । कुल १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ८० प्रतिशतभन्दा बढि निर्माण कार्य पुरा भएको छ । २०७१ फागुनबाट निर्माण आरम्भ गरिएको व्रिज २०७४ असारमा सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प, नाकाबन्दी र निर्माण सामाग्रीको अभावमा निर्माण कार्य ढिलो भएको बताइएको छ ।

पुलमा टेक्निकल काम र गाडी गुडाउनका लागि डेक राख्ने काम बाँकी छ । दुई लेनको यो पुल साढे १२ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । नेपालमा पहिलोपटक २०६८ सालमा चोभारस्थित मन्जुश्री पार्क र भैसेलाई जोड्ने गरी ६० मिटर लामो पुल निर्माण गरिएको थियो । अहिले सडक विभागले गोरखा, दोलखा, ओखलढुंगा लगायतका जिल्लामा आधा दर्जन बढि ‘आर्क ब्रिज’ निर्माण सुरु गरेको छ ।

आर्क व्रिज सामान्य पुलभन्दा बलियो मानिन्छ भने यो नयाँ प्रविधिमा आधारित भएका कारण निर्माणका लागि लाग्ने लागत पनि कम छ । सामान्य पुलमा लोड पिलरमा थाम्छ तर आर्क व्रिजमा लोड आर्कले नै लिन्छ र छड्के केवलले आर्कमा लोड ट्रान्सफर गर्ने गर्दछ । सवारीसाधन गुड्दा पुलमा भाइब्रेसन नआउने र पिलर निर्माण गर्न नसकिने खोच तथा अप्ठ्यारा ठाउँमा समेत यी पुल सहजै निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया