जनसभामा एक लाख समर्थक उतार्ने नेकपाको दाबी

जनसभामा एक लाख समर्थक उतार्ने नेकपाको दाबी


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गर्न लागेको कार्यक्रम प्रदर्शनी मार्गस्थित सडकमै हुने भएको छ । यसअघि खुल्ला मञ्च (रत्नपार्क)मा कार्यक्रम गर्ने भनिएको थियो तर अन्तिममा आएर कार्यक्रमस्थल परिवर्तन गरिएको हो ।

पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवसका अवसरमा विशाल जनसभा आयोजना गरेको हो । सभामा करिब १ लाख कार्यकर्ता तथा समर्थक उतार्ने दाबी गरिएको छ । यसका लागि शुक्रबारदेखि नै पर्चा र पोस्टरिङलाई व्यापकता दिइएको थियो भने आज बिहानै मञ्च झकिझकाउ पारिएको छ ।

यसअघि यसअघि जनसभा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नै मुख्य रुपमा सम्बोधन गर्ने बताइएको थियो । तर उनी आउने निश्चित नभएकाले प्रवक्ता प्रकाण्डले मुख्य सम्बोधन गर्ने बताइएको छ ।

खुलामञ्च अर्थात रत्नपार्क आफैमा खुल्ला नरहेकोले सडकमा कार्यक्रम गर्न लागिएको नेकपाले जनाएको छ । हाल रत्नपार्कको आधा भाग बसपार्कले ओगटेको छ भने आधा भागमा दरबार हाइस्कुलका विद्यार्थीहरु पढ्ने टहरा बनाइएको छ ।

आज दिनभरि नै प्रदर्शन मार्ग हुँदै चल्ने सवारी साधन ठप्प हुनेछन् । बाटो दुवैतर्फ बन्द गरिएको छ । सरकारले नेकपाको कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका मुख्य स्थान र सभास्थल नजिक सुरक्षकर्मी तैनाथ गरेको छ ।