‘राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका योगीलाई मजस्तो धर्मनिरपेक्षतावादी नेताको मान्यतालाई बेवास्ता गरी कसरी जनकपुर बोलाउनुभयो ?’ भनी जनकपुरस्थित राम–जानकी मन्दिरका महन्तलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फोनमार्फत धम्क्याएको सन्दर्भ यतिबेला चर्चामा छ ।
यही मङ्सिर २१ देखि २७ गतेसम्म चल्ने राम–जानकी विवाह महोत्सवमा सहभागी हुन उत्तर प्रदेश (भारत)का मुख्यमन्त्री योगी आदित्यनाथ मुख्य अतिथिका रूपमा मङ्सिर २६ गते जनकपुर आउने कार्यक्रम तय भएको बताइन्छ ।
मिथिलाको परम्पराअनुसार राम–जानकी विवाह महोत्सवमा उत्तर प्रदेशको अयोध्याबाट जन्ती जनकपुरधाममा भित्रिन्छ र जन्तीको जमातलाई हर्षोल्लासपूर्वक त्यहाँ स्वागत गरिन्छ । यस वर्ष उक्त सांस्कृतिक जन्तीको नेतृत्व उत्तर प्रदेश अर्थात रामको जन्मभूमि अयोध्याका मुख्यमन्त्रीले नै गर्ने तत्परता दर्शाएका हुन् भने मिथिलावासीका निम्ति मात्र नभई सिङ्गै नेपालको निम्ति गर्वको सन्दर्भ हो । जनकपुरवासी त यस कुराले उल्लसित भएकै छन् ।
तर, यसरी उत्तर प्रदेशका मुख्यमन्त्री अतिथिका रूपमा जनकपुर आउन लागेको सन्दर्भलाई नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका विमलेन्द्र निधिले विरोध गर्दै आएका छन् । मन्दिरका महन्तलाई निधिले धम्क्याएको पनि मुख्यमन्त्री योगी आदित्यनाथको आगमनको बाटो छेक्नकै लागि हो भन्नेमा भ्रम पालिराख्नु परेन ।
आखिर किन र कसको निर्देशनमा निधि यस्तो हर्कत गर्दैछन् ? रहश्य र खोजीको विषय हो ।
आफूलाई मिथिलावासी भन्न रुचाउने निधिलाई योगी आदित्यनाथको ‘जनकपुर आगमन’ बिझाउने विषय किन बन्यो ?
अयोध्याका विशिष्ट व्यक्तिले जन्तीको प्रतिनिधित्व गरिदिँदा नेपाल र भारतबीचको परम्परा, धर्म र संस्कृतिले उच्च प्राथमिकता पाएको अर्थ पनि लाग्छ । यसमा गर्व गर्नुको साटो ब्यवधान पुऱ्याउने कर्म गर्न निधिजत्तिका पात्रलाई सुहाउने कुरा पक्कै होइन ।
उनले आफू धर्मनिरपेक्षवादी भएको हवाला दिँदै ‘हिन्दुवादी’ नेताको आगमन हुन नहुने तर्क जो गरेका छन्, यो आपत्तिजनक तथा निन्दनीय मात्र नभई उनकै धर्मनिरपेक्षतावादी ‘आदर्श’कै विपरीत पनि छ । के हिन्दु परम्पराबाट प्रेरित सांस्कृतिक महोत्सवमा हिन्दुवादी व्यक्तिको आगमन हुनु हुँदैन ? उनको ‘निरपेक्षतावाद’ले त्यहाँ कुनै मुस्लिम, क्रिश्चियन वा अन्य गैरहिन्दुवादी पाहुना आगमनको वकालत गर्छ कि ? यस्ता प्रश्न उठाइएको छ विवाह महोत्सवका आयोजक पक्षबाट ।
बुझिएअनुसार राम–जानकी विवाह महोत्सवको प्रमुख आतिथ्यता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै आग्रह गरिएको थियो । तर समयाभावका कारण मोदीले आफ्नो प्रतिनिधिको रूपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुर पठाउन लागेका हुन् । यस अर्थमा योगीको आगमन दुई देशको सम्बन्धलाई सांस्कृतिक रूपले थप कसिलो तुल्याउने सवालमा एक महत्वपूर्ण कदम पनि हो ।
तर, यस्तो सकारात्मक सन्दर्भ आफूलाई मिथिलावासी भन्न रुचाउने निधिलाई बिझाउने विषय किन बन्यो ? दुई देशबीचको कुटनीतिक सम्बन्धमै असर पर्ने व्यवहार किन दर्शाउँदै छन् उनी ? काङ्ग्रेसको उच्च नेतृत्वले यसबारे विशेष तवरले गम्भीर चासो राख्दै उचित कारवाही गर्नु वान्छनीय छ ।
प्रतिक्रिया