पार्टी पुनर्गठन दिवसको अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा विशाल जनसभा आयोजना गरिएको छ । काठमाडौंको भृकुटीमण्डप (प्रदर्शनी मार्ग)मा आयोजित जनसभामामा सो पार्टीका देशैभरबाट कार्यकर्ता तथा समर्थकहरु भेला भएका थिए ।
भेलालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ओली सरकारले आफ्नो पार्टीलार्इ अघोषित प्रतिबन्ध लगाउन षडयन्त्र गरिरहेको आरोप लगाए । आफूहरुलाई प्रतिबन्ध लगाए जनताको साथ लिएर नेकपाले पनि उनीहरुलाई प्रतिबन्ध लगाउने उदघोष उनले गरे ।
सभाका प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले अघिल्लो देउवा सरकारभन्दा ओली प्रचण्ड नेतृत्वको कम्युनिस्ट नामधार सरकार झन् बढ्ता दमनकारी बनेको आरोप लगाउँदै सरकारले नेकपालाई प्रतिबन्ध लगाएर फासिवादको अभ्यास गर्न खोजिरहेको आफूहरुलाई सूचना मिलेको बताए । दमन नरोके ओली सरकार जनताको अदालतमा उभिनुपर्ने चेतावनीसमेत प्रकाण्डले दिए ।

उनले भने, ‘दलालको इसारामा देउवा सरकारले भन्दा पनि बढी ओली सरकारले हाम्रो पार्टीलाई दमन गरेको छ। हाम्रो पार्टी देश द्रोही हो भनेर सरकारले पुष्टि गरी देखाओस्, अन्यथा दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ ।’ आफूहरुले प्रचण्डको नेतृत्वमा देखिएको विचलनका विरुद्ध लड्ने पार्टीको स्थापना गरेको पनि उनले बताए ।
यति मात्र नभई प्रचण्डले दुबइमा ४५ अर्ब लुकाएर राखिरहेको गम्भीर आरोपसमेत लगाए । प्रचण्डले अर्बौं पैसा जम्मा गरेर कस्तो समाजवाद निर्माण गर्न खोजेको भन्ने प्रश्न गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले उनीहरूले देशमा लुटतन्त्र निर्माण गर्न लागिपरेको ब्यंग्य गरे । ओली र प्रचण्डले कम्युनिस्टको नाम लिएर सच्चा कम्युनिस्टहरूकै बदनाम गरेको भन्दै नक्कली कम्युनिस्ट सरकारलार्इ जनताको बीचमा नांगेझार पार्नुपर्ने तर्क उनले गरे ।
सोही सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका संयोजक गोपाल किरातीले माओवादी पार्टीलार्इ प्रचण्डले एमालेमा लगेर विलय गरेपछि अब सिंगो माओवादी आन्दोलनको नेता नेत्रविक्रम चन्द विप्लव भएको उदघोष गरे । प्रचण्डले माओवादी आन्दोलनलार्इ आफ्नो नीजि स्वार्थको लागि दुरूपयोग गरेको भन्दै किरातीले यस्तो गर्नु डकैती भएकोले उनी डाँकाको रूपमा परिणत भएको गम्भीर आरोप लगाए ।
यसैगरी आफूलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष बताउँदै आएका ऋषि कट्टेलले विप्लव नेतृत्वको नेकपाले अब सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलार्इ पुनगर्ठन गर्ने अभिभारा पूरा गर्नुपर्ने सुझाव दिए ।
तस्बिर रासस
प्रतिक्रिया