विप्लवले दोहोऱ्याए- ‘दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको भलो हुनेवाला छैन’

विप्लवले दोहोऱ्याए- ‘दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको भलो हुनेवाला छैन’


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजो शनिबार राजधानीमा विशाल जनप्रदर्शन गरी मुलुकमा आफ्नो सशक्त अस्तित्वको बोध मात्र गराएन, सरकार र शासनप्रति जनतामा बढ्दो असन्तुष्टिको द्योतक पनि बन्न पुग्यो नेकपाको जनप्रदर्शन ।

देशमा चाहेजस्तो परिवर्तनको अभावका कारण मनमा अझै विद्रोह हुर्काएर बसेका जनसमूहको नेतृत्व गर्दै आएको नेकपाका निम्ति अहम् महत्व बोकेको ‘जनसभा’मा स्वयम् नेकपा–महासचिव विप्लव भने अनुपस्थित रहे ।

देशैभरबाट जम्मा भएका आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई उनी स्वयम् उपस्थित भएर सम्बोधन गरेका भए सायद नेकपाका कार्यकर्ता पङ्क्तिमा बेग्लै उर्जा पैदा हुन सक्थ्यो । तथापि, सभालाई महासचिव विप्लवले ‘शुभकामना सन्देश’मार्फत् सम्बोधन गरे ।

आफ्नो सन्देशमा विप्लवले भनेका छन्– ‘चुनावपछि सरकार बनेको यो १० महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन् । ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको छ । जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगेका छन् ।’

‘यो दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो हुनेवाला छैन । बरु राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन कमजोर र कष्टकर बन्दै जानेछ । त्यसैले यो संसदीय व्यवस्थाअन्तर्गत बनेको संविधान, त्यही संविधानले निर्देश गरेअनुसार भएका सबै तहका चुनावहरू खारेज र बहिष्कार गरेका थियौंँ’– उनको थप भनाई छ ।

नेकपा महासचिव विप्लवको विज्ञप्तिको पूर्णपाठ यस्तो छ–

बधाई तथा शुभकामना !

‘हाम्रो पार्टीले विगत ४ वर्षदेखि मङ्सिर ८ गतेलाई विशेष दिनका रूपमा मनाउँदै आएको छ । त्यसैले यस वर्ष पनि मुख्य रूपमा काठमाडौंको प्रदर्शनीमार्गमा विशाल जनप्रदर्शनसहित भव्य जनसभा आयोजना गर्दैछ । साथै देशका सबै जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । उक्त सभालाई हाम्रा पार्टीका प्रवक्तालगायत जिम्मेवार कमरेडहरूका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरूमा सहकार्य र संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनमा सहभागी हुँदै आउनुभएका मित्र पार्टी तथा सङ्गठनहरूका मुख्य नेताहरूले पनि उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सर्वविदितै छ, हाम्रो पार्टीले प्रतिक्रियावादी र प्रतिगामीहरूका विरुद्ध मात्र होइन, संशोधनवाद, नवसंशोधनवाद र छद्म संशोधनवादका विरुद्ध शृङ्खलाबद्ध संघर्ष गर्ने क्रममा २०७१ साल मंसिर ८ मा निर्णायक, उच्च र नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी महत्व राख्ने विद्रोह गरेको थियो । साथै नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै एकीकृत जनक्रान्तिको कार्यदिशालाई अँगाल्दै नेपाली क्रान्तिलाई पूरा गर्न वैज्ञानिक समाजवादको स्थापनासहित साम्यवादमा पुग्ने लक्ष्य लिई २०७१ साल मङ्सिर ८ गते क्रान्तिकारी पार्टी पुनर्गठन गरेका थियौँ । आज क्रान्तिकारी पार्टी पुनर्गठन भएको ४ वर्ष पूरा भएर ५ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा हामी नेपालका क्रान्तिकारी, वामपन्थी, देशभक्त, जनवादी सबै शक्तिहरूलगायत हाम्रो पार्टीका नेता(कार्यकर्ता, नेपाली क्रान्तिका मुख्य आधार नेपाली जनता, न्यायका क्षेत्रमा काम गरिराख्नुभएका मानवअधिकारवादी, कानुनविद्, पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

हामीले विगतमा भन्दै आएको र अहिले पनि भन्ने कुरा के हो भने यो दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो हुनेवाला छैन । बरु राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन कमजोर र कष्टकर बन्दै जानेछ । त्यसैले यो संसदीय व्यवस्थाअन्तर्गत बनेको संविधान, त्यही संविधानले निर्देश गरेअनुसार भएका सबै तहका चुनावहरू खारेज र बहिष्कार गरेका थियौं । चुनावपछि सरकार बनेको यो १० महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन् । ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको छ । जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगिराखेका छन् ।

यहाँ भनिराख्नु पर्दैन, राष्ट्रियता, जनतन्त्र र जनजीविका त इतिहासकै गम्भीर घुम्तीमा पुगेका छन् । साथै महिला हिंसा, हत्या र बलात्कार चरम छन् । महँगी, भ्रष्टाचार, कालोबजारीले नयाँ इतिहास बनाएको छ । कहाँसम्म भने हाम्रो देशका नदी एउटा देशले अर्कोलाई बेचिदिन्छ । हत्या, हिंसा, लुटका कारण देश र जनता असुरक्षित छन् ।

त्यसैले अहिले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेका छन् । त्यो वैकल्पिक राज्यप्रणाली वैज्ञानिक समाजवादी व्यवस्था हो । यसै सन्दर्भमा उक्त वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी अहोरात्र खटिराखेको र मेहनत मात्र गरेको छैन, जनतासँग एकाकार भएर अभियानमा लामबद्ध छ । यो महान् अभियानमा लामबद्ध हुन, आवश्यक सहयोग, समर्थन र ऐक्यबद्धता व्यक्त गर्न न्याय र समानताका पक्षमा उभिनुहुने सबैमा आग्रह गर्दछौँ ।

विप्लव
महासचिव
८ मङसिर, २०७५