सञ्चारमाध्यमको नकारात्मक टिप्पणी : उपप्रम पोखरेल

सञ्चारमाध्यमको नकारात्मक टिप्पणी : उपप्रम पोखरेल


उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेसालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उदघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्क र बिमस्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरिद गर्न लागेको साधनबारे नकारात्मक टिप्पणी गरेको बताए ।

‘महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती सार्न २० वर्षअघि नै सात सय रोपनी जग्गा खरिद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्,’ उपप्रधानमन्त्री पोखरेलले भने ।

कलेजले १५ वर्षअघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाए । वार्षिक एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि बिदेसिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्न लागेको जानकारी पनि सो अवसरमा उनले गराए ।

राष्ट्रिय सभाकी सांसद कोमल वलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगतले खबरदारी गर्नुपर्ने बताइन् । ‘सञ्चार जगतले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन,’ कलेजमा पत्रकारितामा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उनले भनिन् ।

राजनीति गर्नेले स्पष्ट र इमानदार हुनुपर्ने सांसद वलीको भनाइ थियो । कलेजका संस्थापक क्याम्पसप्रमुख डा. मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापन–अध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रूपमा विकास गर्न पूर्वाधार तयार पारिएको बताइन् ।

कार्यक्रममा निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उनले माग गरिन् । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा ६ तला र ३४ कोठा छन् । कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको जनाइएको छ ।
रासस