अब जता फर्किनुहुन्छ त्यतै सरकार भेट्नुहुनेछ : प्रधानमन्त्री

अब जता फर्किनुहुन्छ त्यतै सरकार भेट्नुहुनेछ : प्रधानमन्त्री


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अब देशका कुनै पनि नागरिक रोग र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको घोषणा गर्दै प्रधानमन्त्री ओलीले राज्य आफ्ना नागरिकको अभिभावक भएकोले उनीहरूलाई सुरक्षा दिने र उनीहरूको सुरक्षित भविष्यको सुनिश्चितता गर्ने काम राज्यको जिम्मेवारी भएको बताए ।

कांग्रेसप्रति लक्षित गर्दै कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को पनि भाँचेन भन्ने गरेको भन्दै ओलीले भने, ‘यो सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो । यो कार्यक्रम सरकार के गरिरहेको छ भन्नेहरूलाई जवाफ पनि हो ।’ उनले अगाडि भने, ‘मजदुरलाई सोध्नुस्, श्रमजीवीलाई सोध्नुस्, दुःख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ? उनीहरूले उत्तर दिनेछन् ।’

उनले कार्यक्रममा भने, ‘केही दिनमा मेलम्चीको पानी आउनेछ, बाटोमा धुलो उड्न कम भएको छ, कलंकी–नागढुंगा सडक हेर्न जानुस्, तपाईंहरूले सरकारलाई त्यहाँ पाउनुहुनेछ, सरकार त्यहीँ छ ।’ जता फर्कियो, त्यतै सरकार देख्न थालेपछि विरोध गर्नेहरू आफैँ चुप लाग्ने प्रधानमन्त्रीको भनाइ छ ।

सामाजिक सुरक्षा योजनाले करिब १० लाख श्रमिक लाभान्वित हुने सरकारको अनुमान छ । योजनामा पेन्सन, अवकाश सुविधा र आश्रित परिवारका लागि विभिन्न सुविधाको व्यवस्था छ । यसका लागि आगामी फागुन ५ भित्र रोजगारदाताहरूको नामावली संकलनको गरिसकिनेछ । सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ ।