नेवि सङ्घले सार्वजनिक गर्यो महाधिवेसनको कार्यतालिका

नेवि सङ्घले सार्वजनिक गर्यो महाधिवेसनको कार्यतालिका


समयमै महाधिवेशन नगरेकोमा आलोचित बन्दै आएको नेपाल विद्यार्थी सङ्घले महाधिवेसनको तिथि तय गरेको छ । आगामी पुसको २८, २९ र ३० गते सङ्घको १२औँ महाधिवेसन गर्ने गरी नेतृत्वले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

१२औँ महाधिवेसनको तयारीमा जुटेको नेवि सङ्घले यही मङ्सिर २२ गतेभित्र मावि, उच्च मावि, सिटिइभिटी र क्याम्पसहरूको अधिवेसन गरिसक्नुपर्ने, मङ्सिर २५ गतेभित्र स्थानीय गाउँ/नगर अधिवेशन गरिसक्नुपर्ने, आगामी पुस ८ गतेभित्र राजधानी उपत्यकाभित्रका क्याम्पस/विश्वविद्यालयहरूको अधिवेसन गरिसक्नुपर्ने, पुस १४ गतेभित्र ७७ वटै जिल्लाको अधिवेसन गर्नुपर्ने, पुस २० गतेभित्र प्रदेशको अधिवेसन सम्पन्न गर्नुपर्ने र पुस २८, २९ र ३० गते केन्द्रिय महाधिवेसन सम्पन्न गर्नुपर्ने कार्यतालिका निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा देशमा भइरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कालोबजारिया र माफियातन्त्रले सिङ्गै देश आक्रान्त रहेको र वर्तमान केपी ओली नेतृत्वको सरकारले यस्ता विकृतिलाई पश्रय दिएको आरोप लगाइएको छ । महाधिवेसन सम्पन्न गरेर यस्ता विकृतिका विरुद्ध सिङ्गै देश जुरुक्क उठ्ने गरी प्रतिवाद गरिने पनि अध्यक्ष महरले जनाएका छन् ।