साग–सिस्नोभन्दा सस्ता नेता !– वीरेन्द्रमणि पौडेल

साग–सिस्नोभन्दा सस्ता नेता !– वीरेन्द्रमणि पौडेल


bicharबिग्रिने चिज एकैछिनमा बिग्रिँदैन, विस्तार–विस्तार बिग्रिन्छ । बिग्रिनलाई लामो समय लाग्छ । सप्रिने चिज पनि एकैछिनमा वा एकै दिनमा सप्रिँदैन, लामो समय लाग्छ । एउटा घर आजको आजै बिग्रिएको हुँदैन । आज अलिकति, हिजो अलिकति र भोलि अलिकति गर्दै बिग्रिएको हुन्छ । घरमा बा हुन्छन्, आमा हुन्छिन्, दुई–चारवटा छोराछोरी हुन्छन् । कसैका घरमा हजुरबा–हजुरआमासमेत हुन्छन् । घरमुली बा आज बेलुका ढिलो घर आउँछ । भोलि अलिक ढिलो आउँछ । पर्सि रक्सी खाएर आउँछ । अर्को दिन आधारातमा आउँछ । प्रत्येक दिन ढिलो आउँछ । उसलाई घरका सदस्यहरूको कुनै चिन्ता हुँदैन । बिहान उठेपछि उसको दिमागमा बेलुका रक्सी कसरी बन्दोबस्त गर्ने भन्ने घुम्छ फनफनी । न उसको दिमाग घरको सरसामान सकिएकोमा चिन्तित हुन्छ न बच्चाबच्चीको पढाइलेखाइ र कापीकलम बन्दोबस्त गर्ने विषयमा नै । जँड्याहा श्रीमान् आफू अनुशासनबाट बाहिर हुँदाको परिणाम उसकी श्रीमती उस्तै अनुशासनहीन भएकी छे । जसोतसो घरधन्दा भ्याएर गाउँ डुल्न निस्किन्छे । अर्काका बारे हुँदोनहुँदो कुरा गर्नु र नसुहाउने फुर्ती लाउनु उसको दिनचर्या भएको छ । छोरो कलेज जानैका लागि घरबाट निस्किएको हो, तर उसलाई कलेजमा भेटिँदैन । बिहान चोक–चौराहको चिया पसलमा, दिउँसो क्यारेमबोर्डमा, साँझ परेपछि गाँजाको सर्को तानिरहेको अवस्थामा एकान्तको जङ्गलछेउ र राति अबेर मात्रै घरको कोठामा । छोरीको उही ताल । कहिले कपाल स्ट्रेट गर्ने, कहिले त्यही कपाललाई गुटुमुटु पारेर खुम्च्याउने, कहिले खैरो रङ दल्ने कहिले रातो । घरबाट क्याम्पस जानै निक्लिने हो, तर महिना दिनमा दुई–चार दिनभन्दा ज्यादा त्यो ज्यानलाई कलेजमा भेटिँदैन । सिनेमा हल, रेस्टुरेन्ट र रमाइलो मेलामा भेटिन्छ । कहिले कुन साथीसँग भेटिन्छ कहिले कुन साथीसँग । नानीको जागिर छैन । आम्दानीको कुनै स्रोत छैन । बाउले पैसा दिने होइन । आमाको हालत त्यस्तै हो । तर, खर्च चलेको छ । कसरी चलेको छ अरूलाई थाहा छैन । मीठो खाएकै छ, आधुनिक फेसनका साथ शरीरका केही भाग ढाकिएकै छ, कम्तीमा २० हजारको मोबाइल सेट हातबाट कुनै बेला पनि छुट्दैन । अबेर रातिसम्म घरमूली कहाँ गएको कसैलाई थाहा छैन । न कसैले सोध्छ न कसैलाई जवाफ दिनुपर्छ । छोराछोरीका आमा कसको घरमा गएको, के कामले गएको कसैलाई थाहा छैन । कसैले सोध्न पर्दैन, कसैलाई जवाफ दिनुपर्दैन । छोरो के तरिकाले हिँडेको छ, किन हिँडेको छ, कसैलाई केही चासो छैन, चिन्ता पनि छैन । छोरीको कुरा गर्नै लाज लाग्ने खालको । तर पनि त्यो घर चलेको छ । कोही भोका छैनन् । सबैले खाएकै छन् । सुहाउँदो र मन लागेका खालका कपडा ओढेकै छन् । आम्दानीको स्रोत कसैको केही देखिँदैन, तर घर चलेकै छ । घर त चलेको छ तर कति र कहिलेसम्म चल्ने हो त्यसको चाहिँ ठेगान छैन । बा कुनै दिन भट्टीमै ढल्ने हुन् कि यो सम्भावना पनि छ । छोरो गाँजा सेवन र खरिद बिक्री काण्डमा प्रहरीको खोरमा थुनिने हो कि यो सम्भावना पनि उत्तिकै छ । छोरीको रहस्यमयी आम्दानीले एक न एक दिन उसलाई खाडलमा पार्ने सम्भावना अझै बढी छ । कुरौटे र गाउँ डुलुवाई आमाचाहिँको भूमिका झनै नकारात्मक देखिएकै छ । यो परिवार बिग्रिएको परिवार हो । यो परिवार बिग्रिएको हो तर एकै दिनमा वा एकै हप्तामा बिग्रिएको होइन । सबैभन्दा पहिले बा बिग्रियो । बा अनुशासनमा नबसेपछि आमाचाहिँले अनुशासन तोडिन् । बाआमाको अनुशासनहीन काम देखेपछि छोराछोरीलाई गलत बाटोमा जान बल मिल्यो । एक दिन दुई दिन गर्दै छोराछोरी बिग्रिए । कुल मिलाएर एक–एक गर्दै परिवार बिग्रियो । यो परिवारको प्रभाव गाउँका अरू परिवारमा प-यो । विस्तार–विस्तार जँड्याहा घरमूलीको सङ्ख्या बढ्दै गयो । गाउँ डुल्ने र बाह्रसत्तरी कुरा गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गयो । गजँडी युवा र भौतिक सुविधा प्रयोगका लागि अनेक–अनेक काम गर्न पछि नपर्ने युवतीको सङ्ख्या पनि बढ्दै गयो । बिग्रिएको गाउँका परिवारको प्रभाव अन्यत्र फैलियो । हेर्दाहेर्दै यस्तै बिग्रिएको परिवारको सङ्ख्या बढ्दै गयो । एउटा व्यक्ति पहिले बिग्रियो । उसका कारण परिवार बिग्रियो । एक परिवार बिग्रिएपछि अर्को परिवार हुँदै गाउँ–सहर बिग्रिँदै गयो । हेर्दाहेर्दै आज बिग्रिएका मान्छेहरूको प्रभावले देशै बिग्रियो । परिवार त त्यसरी बिग्रियो, तर देश पनि बिग्रियो । परिवार बिग्रिनुमा घरमूली कारण बनेको देखियो भने देश बिग्रिनुको कारणचाहिँ देशका मूली बिग्रिएको अवस्था देखियो । देशका मूलीको अर्थ हुन्छ राजनीतिक दलको नेतृत्वपङ्क्ति बिग्रिएको अवस्था । यतिबेला दोस्रो संविधानसभा निर्वाचन परिणामअनुसार हिसाब गर्ने हो भने नेपाली काङ्ग्रेस पार्टीका नेता, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरूलाई यो देशको खास नेतृत्वपङ्क्ति भन्नुपर्ने हुन्छ र देश बिग्रिनुमा यिनीहरू बिग्रिएका कारणले हो भन्नुपर्छ प्रमाणका साथ ।
सुशील कोइराला बिरामी शरीरवाला मान्छे हुन् । बूढा भइसकेका छन् । जिब्रोको क्यान्सर पहिले नै छ, फेरि फोक्सोमा पनि क्यान्सर पैदा भएछ । कुल मिलाएर सुशील कोइराला नेपाली जनताले सम्मान गर्न लायक मानिस हुन सक्लान्, तर शारीरिक अवस्था ठीक नभएका कारण उनी लामो समय प्रधानमन्त्रीको कुर्सीमा बस्न सक्दैनन् । यो सत्य थाहा नपाएकाहरूले अब थाहा पाउँदा हुन्छ । सुशील कोइराला आफ्नै इच्छाले बिग्रिएका होइनन्, शरीरले नै साथ नदिएपछि उनलाई अब प्रकृतिले नै बिगा-यो भन्नुपर्छ ।
एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल एकपटक यो देशको प्रधानमन्त्रीसमेत भए । देशलाई केही दिन सकेनन् । कुर्सीमा बसे । दुई–चारवटा कार्यक्रमको उद्घाटन गर्न रिबन काटे । आँखा चिम्लिचिम्ली भाषण गरे । केही महिना बिताएर प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिए । झलनाथ प्रधानमन्त्री भएर यो मुलुकलाई केही फाइदा भएन । केही महिनाको समय मात्रै खेर गयो । प्रचण्डको कुरा पनि त्यस्तै हो । प्रधानमन्त्री त एकपटक भए, तर मुलुकलाई लाभ दिन सकेनन् । यतिबेला मुलुकमा पहिलो, दोस्रो र तेस्रो नम्बरको पार्टीको रूपमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको हालीमुहाली चलेको छ । नेपाली काङ्ग्रेसलाई लतार्ने जिम्मेवारी सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले लिएका छन् । एमाले जुन तरिकाले चले पनि केपी ओली, झलनाथ खनाल र माधवकुमार नेपालले चलाएका छन् । एकीकृत नेकपा माओवादी अनेक खालको आन्तरिक द्वन्द्वको सिकार भए पनि अहिलेसम्म यतातिरबाट प्रचण्डले हाँकेका छन् उतातिरबाट बाबुराम भट्टराईले । चित्रबहादुर केसी र नारायणमान बिजुक्छेहरूलाई तीन दलले खास भूमिका दिएका छैनन् । अरू पार्टीका अरू नेताहरू प्रभावहीन भूमिकामा छन् । कुरा यी तीन दलका नेताकै गर्नुपर्छ । यी नेताहरू दूरदर्शी देखिएनन् । देश हाँक्ने सवालमा तीन दल एउटा घर हो भने नेताहरू घरका हर्ताकर्ता । राष्ट्रहितका निम्ति नेता–नेताबीच सरसल्लाह हुन्छ, छलफल र बहस हुन्छ । विकासका लागि हुन्छ र विनासबाट जोगाउनका लागि पनि हुन्छ । राष्ट्र हाँक्ने तरिका अलग हुन सक्छ, तर राष्ट्रियताका सवालमा एउटै मत हुन्छ फरक हुन सक्दैन । संसारको नियम नै यस्तै छ । छिमेकी मुलुक भारतमा अलग–अलग राजनीतिक दल छन् । प्रतिस्पर्धा पनि गतिलै हुन्छ, तर जब राष्ट्रियताको सवाल अगाडि आउँछ सबै दल एक हुन्छन् र एउटै विचार निर्माण गर्छन् । तर दुर्भाग्य ! नेपालका नेताहरू राष्ट्रियताका सवालमा समेत मत विभाजन गर्छन् । महाकाली सन्धिका बखत नेपाली नेताले राष्ट्रहित र राष्ट्रघात बताउँदै मध्यरातमा सन्धि पास गरे । त्यतिबेलाको त्यो मत विभाजन नै प्रमाण हो नेपाली नेताहरू राष्ट्रियताको मामलामा समेत अध्ययनशील र इमानदार छैनन् भन्ने । कुनै पनि देशको नेता सम्बन्धित देशको साझा सम्पत्ति हुन्छ । उसले लाएको, खाएको निष्कर्षमा बाँचेको देशका लागि हुन्छ । कुनै बाहिरी देश जाँदा जानकारी दिएर जाने चलन हुन्छ । गएर फर्किएपछि किन गएको, के उपलब्धि भयो राष्ट्रलाई जानकारी दिनुपर्छ । तर नेपाली नेताहरू आफूखुसी विदेश जाने चलन छ । प्रचण्ड सिंगापुर जान्छन् । तीन दिनमा फर्किन्छन् । किन गए, केका लागि गए कसैलाई जानकारी हुँदैन, दिइँदैन । माधव नेपाल अमेरिका गए, फर्किए । फर्किएपछि बताइन्छ, ‘यो उहाँको निजी भ्रमण हो ।’ भूतपूर्व प्रधानमन्त्री नेपाली जनताको सम्पत्तिको रूपमा रहन्छ । माधव नेपालको भ्रमण निजी हुन सक्दैन तर निजी भनिन्छ र निजी बनाइन्छ । यदि भूतपूर्व प्रधानमन्त्रीको भ्रमणलाई निजी भ्रमण भन्ने हो भने एउटा जागिर खान कुनै देश गएको नेपाली नागरिक र भूतपूर्व प्रधानमन्त्रीमा केही फरक हुँदैन । आजसम्मको अवस्था यही छ । प्रचण्ड सीताको श्रीमान् र प्रकाशको बाबु हुन्, तर त्यति मात्र नभई नेपालका भूतपूर्व प्रधानमन्त्री हुन् र नेपाली जनताका साझा सम्पत्ति हुन् । तर दुर्भाग्य ! स्वयम् प्रचण्डले यो कुरा बुझेको देखिएन । त्यसैले भन्न सकिन्छ– प्रचण्ड पनि बिग्रिएका छन् । हाम्रा राष्ट्रिय नेता बिग्रिएका छन् । फेरि हाम्रा नेता झुट पनि बोल्छन् । नेताले झुट बोल्न पर्दैन । यो विकास गर्छौं, त्यो विकास गर्छौं भन्छन् । कालान्तरमा झुट जनताको माझमा आइछाड्छ । निरन्तर यसै गर्दा जनताको नजरमा नेताको भाउ साग–सिस्नोजत्तिकै हुने अवस्था सिर्जना भएको छ । पार्टी फरक देखियो, भूमिकामा केही फरक देखियो, तर हाम्रा नेताहरूको चरित्र रक्सी खाएर ढिलो घर आउने अनुशासनहीन बाबुको भन्दा खासै फरक देखिएन । त्यसकारण घर बिग्रियो जँड्याहा बाबुको कारणले देश बिग्रियो भौतिक सुविधाका लोभी, अदूरदर्शी र जिम्मेवारीबोध गर्न नसक्ने नेताहरूको कारणले । तल समस्या जँड्याहा बाबु हो, माथि समस्या सुविधाभोगी नेता । समाधान नेपाली समाज हो जसले हिजो जँड्याहा बाबु र अदूरदर्शी नेता जन्माएर गल्ती ग-यो भने भोलि इमानदार अभिभावक घर–घरमा उत्पादन गर्न सक्छ भने देशमा दूरदर्शी नेता । गल्ती गर्ने पनि समाज हो सच्याउने जिम्मेवारी पनि नेपाली नागरिक समाजले नै गर्नेछ । ढिलो–चाँडो अवश्य गर्नेछ ।