अञ्जुले व्यवसायिक धर्म छोड्दा…

अञ्जुले व्यवसायिक धर्म छोड्दा…


funtimeमीठो आवाजकी धनी गायिका अञ्जु पन्त विचार, सोच र मानसिकताको आधारमा भने कहिले पनि धनी हुन सकिनन्– गायिका अञ्जुका शुभचिन्तकहरू यसै भन्छन् । तर, अञ्जु स्वयम् भने यो मान्न तयार छैनन् । ‘ममाथिको गलत आरोप हो यो । म सबैसँग खुलेर प्रस्तुत हुन सक्दिनँ । हाइहेल्लो पनि कम छ मेरो । मेरो यही रिजर्भ व्यवहारलाई लिएर बजारमा मेराबारे गलत अफवाह फैलाउने गरिन्छ,’ उनको तर्क यस्तो छ ।
कहिले साङ्गीतिक कार्यक्रमहरूमा मदिरा पिई हल्लाखल्ला गरेर त कहिले श्रीमान्सँगको असान्दर्भिक पारपाचुकेका कारण बजारमा ‘समाचार’ बनिरहने गायिका अञ्जु पन्त यो हप्ता एउटा धार्मिक गीतका कारण चर्चामा आएकी छिन् । आफू क्रिश्चियन भएका कारण हिन्दू देवताको नाम भएको गीत नगाउने उनको तर्कसँग उनका प्रायः प्रशंसक उनीप्रति रुष्ट हुन पुगेका छन् । ८६ प्रतिशत हिन्दूहरू भएको यस मुलुकमा अञ्जुजस्ती प्रतिभाशाली गायिकाले क्रिश्चियन भएकै कारण आफू हिन्दू देवताको नाम उच्चारण गरेर गीत गाउन असमर्थ भएको जवाफ दिएपछि उनको यो सोच र विचारको चौतर्फी विरोध सुरु भएको थियो । कलाकारको कुनै धर्म, जात वा पेसा हुँदैन भनेर कुनै समय गीतबाटै उदाहरण पेस गर्ने अञ्जुलाई कसको, किन दबाब आयो र उनले हिन्दूहरूको महान् चाड दशैँसम्बन्धी गीत गाउन मानिनन् ? कुरा बुझिसक्नु छैन ।
पारिश्रमिक कुरा नमिलेर, समय नमिलेर वा स्वास्थ्य बिग्रनाले गीत गाउन नसक्ने कारण पेस गरेको भए सबैलाई मान्य हुन्थ्यो होला, तर पछिको बाटो र त्यसले बजारमा जन्माउने क्रिया–प्रतिक्रियाको वास्ता नै नगरी अञ्जुले धार्मिक गीत नलगाउने जुन कारण पेस गरिन् त्यो कारणले गर्दा उच्चकोटिको श्रेणीमा राखिएकी यी गायिकाको साख, वजन र गरिमामा असर मात्र परेको छैन कि दीर्घकालीन रूपमा पनि उनलाई ठूलै असर पर्ने निश्चित भएको छ ।
पारिवारिक विक्षिप्तता अनि सङ्गीतकारहरूसँगको मनमुटाव र आफ्ना सहकर्मी गायिकाहरूसँगको वैमनष्यताले पनि यतिबेला अञ्जुलाई विचलित पारिरहेको कुरा जानकारहरू बताउँछन् । उनलाई गीत गाउन लगाउन वा विदेशको कार्यक्रमतिर लैजानका लागि अञ्जुसँग सिधै भेट्ने अवसर आजभोलि पाइँदैन । उनकी दिदीसँग कुराकानी मिलेपछि मात्र अञ्जुजीको ‘दर्शन’ पाइन्छ । अञ्जुलाई दुःख पर्दा सहयोग गर्ने र पु-याउने अनि उनलाई गीत गाउन अवसर दिने गीत–सङ्गीतकर्मीहरू पनि यतिबेला अञ्जु र उनकी दिदीको यस्तो व्यवहारबाट रुष्ट हुन पुगेका छन् । राजा–महाराजाहरूलाई भेट्न जान पर्ने गरी अञ्जुलाई सम्पर्क गर्नुपर्ने दिन आएपछि गीत÷सङ्गीतकर्मीहरू अञ्जुलाई छाडेर अन्य गायिकाहरू मिलन अमात्य, रजिना रिमालतिर आकर्षित हुन थालेका छन् । अञ्जुको यस्तै व्यवहारले गर्दा पछिल्लो समय उनको आवाज चलचित्रका गीतहरूमा सुनिन छाडिएको छ ।
आफूले हिन्दू देवताबारे त्यसो नभनेको प्रस्ट पार्दै अञ्जुले हस्तलिखित विज्ञप्ति पनि निकालिन्, तर प्रस्तुत विज्ञप्तिमा कहीँ पनि ‘म व्यावसायिक गायिका हुँ, मेरा श्रोता र प्रशंसक सबै भाषाभाषी, जाति र धर्म मान्ने हुन् अनि म सबै गीत गाउँछु’ भनेर उल्लेख गरेकी छैनन् । उनको विज्ञप्ति पढ्दा लाग्छ उनले गीत गाइदिएर श्रोतालाई ‘दया’ गरिरहेकी छिन् । त्यही गीत गाएकै कारण आफ्नो यात्रा अगाडि बढेको र श्रोताहरूकै कारण आफू यो ठाउँमा पुगेको कुरा उनले बिर्सिएकी छिन् ।

हट सुधाको पसिना छुटाउने को ?
‘चिट चिट पसिना पार्ने भए आऊ
ठूलालाई मसिना पार्ने भए आऊ
म यति गरम छु भनिसाध्य छैन
आगोलाई असिना पार्ने भए आऊ’
कस्तो खालको गीत हो यो ? यतिबेला बजारमा गर्माइरहेको यसै गीतकी गायिका सुधा रत्नलाई प्रश्न गर्दा उनको जवाफ थियो, ‘यो एउटा यौवनाको गीत हो । एउटी युवतीले आफ्नो पे्रमीलाई आफूमा समेट्न आग्रह गरेको गती हो ।’ यो गीतलाई त अश्लील पनि भनियो नि ? यो कुराको प्रतिवाद गरिन् सुधाले । ‘गलत हो यो, गीतको भोगाइ र बुझाइमा फरक पर्दछ । कसले कुनै सोच र हेराइले यो गीत सुन्छ, उसमा भर पर्ने कुरा हो । मैले गीतको शब्द, उच्चारण र गायकीमा यस्तो अश्लीलता प्रस्तुत गरेकी छैन,’ सुधारले भनिन् ।
लामो समयदेखि गायन क्षेत्रमा लागे तापनि सुधाको गायनयात्राले भने अहिले आएर मात्र प्रशंसा पाउन थालेको छ । दाङकी यी सुधा अहिले काठमाडौंको बालुवाटारमा बस्छिन् भने उनको साँझ ७ बजेपछि राति १२ बजेसम्मको समय भने दरबारमार्गमा नै बित्ने गर्छ । दरबारमार्गमा रहेको नर्लिङ गजल रेस्टुरेन्टमा गइयो भने उनको सुमधुर आवाजको बारेमा जानकारी पाउन सकिन्छ । यहाँ उनी लामो समयदेखि गीत गाउँदै आइरहेकी छिन् ।
आधा दर्जनभन्दा बढी चलचित्रमा गीत गाइसकेकी सुधा विशेष गरेर रोमान्टिक गायनमा बढी रुचि राख्दिरहिछिन् । किन त ? जवाफमा उनले भनिन्, ‘मेरो आवाज बढी मात्रामा यस्तै गीतहरूमा सुट हुन्छ भन्ने कुरा सङ्गीतकारहरू बताउनुहुन्छ अनि म पनि यसमै बढी भिज्ने गर्छु ।’
दुई दर्जनभन्दा बढी एल्बममा आवाज दिइसकेकी सुधा अब एल्बम प्रकाशितलाई निरन्तरता दिने योजनामा रहेकी छिन् । विगतको दाँजोमा हाल एल्बम बिक्री सन्तोषजनक नरहेको कुरा बताउने सुधा एल्बममा गरिएको लगानी स्टेज कार्यक्रमहरूबाट उठाउनुपर्ने अवस्थासँग जानकार छिन् । उनी भन्छिन्, ‘स्टेज कार्यक्रमहरूमा पनि गु्रपिजम भएकाले स्वतन्त्र रूपमा गीत गाउनेलाई समस्या छ । क्षमता र प्रतिभा भएकाहरूभन्दा नातागोता र आफ्नाहरूले प्राथमिकता पाउनाले हामीजस्ता नयाँ छायामा परेका छौँ ।’
आफू जस्तोसुकै गीत गाउन पनि सक्ने कुरा सुधाले बताइन् । उनी चलचित्रको गायनलाई पनि राम्रो अवसरको रूपमा लिन्छिन् । ‘चलचित्रको गीतले जनमानसमा चाँडो स्थापित गराउँदो रहेछ । श्रोताहरू माझ चिनिन चलचित्रको गीतको महत्वपूर्ण हात हुँदोरहेछ,’ उनले बुझेकी रहिछिन् ।