उत्तरी चीनको हेबेई प्रान्तको जांजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार बुधबार मध्यराति १२ः४० बजे हेबेइं सिंगहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टी कोपरेसन लिमिटेड’नजिकै उक्त विस्फोट भएको थियो । यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जांजीकाउ नगरको नगर सरकारका अधिकारीहरूले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
यस विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार एक सवारीसाधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात् विस्फोट भएको थियो ।
उक्त कारखानानजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन । तर, विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरू सवारीसाधनहरूमा भने आगलागी भएको थियो । विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ट्रक र १२ कार विस्फोट भएका छन् । सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ ।
संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ । यस विस्फोटमा परेकाहरूको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगायत थप अनुसन्धान जारी रहेको बताइएको छ ।
प्रतिक्रिया