‘दलित समुदायको हित र अधिकार नेपाली कांग्रेसबाट मात्र सम्भव’

‘दलित समुदायको हित र अधिकार नेपाली कांग्रेसबाट मात्र सम्भव’


रमेश विश्वकर्मा, गुल्मी

प्रतिनिधि सभाका सांसद तथा नेपाल दलित संघका पूर्वमहासचिव प्रकाश रसाइलीले दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य दिँदै उनले दलित उत्थानमा नेपाली कांग्रेसले खेलेको भुमिका ७० वर्षदेखि नै समावेसीकरणको सिद्धान्तबमोजिम दलित, जनजाती र महिलाको उत्थानको लागि महत्वपूर्ण रहेको दाबी गरेका हुन् ।

सांसद रसाइलीले बामपन्थी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दलित, जनजातिहरुको भोटले निर्वाचन जितेर उनीहरुलाई नै शोषण गरिरहेको आरोप लगाए। नेपाली कांग्रेसको अब बन्ने विधान नेतामुखी नभई कार्यकर्ता र देशको आवश्यकताबमोजिम अग्रगामी तथा प्रगतिशील विधान निर्माण हुने विश्वास उनले व्यक्त गरे ।

नेपाली कांग्रेस परिवर्तनको प्रमुख संवाहक भएको दाबी गर्दै ७० वर्षको इतिहासमा बामपन्थी दल र पञ्चायती शासन व्यवस्थामा गर्न नसकेको परिवर्तनलाई नेपाली कांग्रेसले शान्तिपूर्ण ढङ्गबाट देशमा परिवर्तन ल्याएको विचार व्यक्त गरे ।

बीपी स्मृति भवन तम्घासमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, दलित संघ गुल्मीका जिल्लास्थित पदाधिकारीको समेत उपस्थित रहेको थियो ।