जर्जियामा जुराबिसभिली राष्ट्रपति निर्वाचित

जर्जियामा जुराबिसभिली राष्ट्रपति निर्वाचित


जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिसभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी उनी जर्जियाको पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।

फ्रान्समा जन्मेकी सालोमले करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा ६० प्रतिशत मत प्राप्त गरेको बताइन्छ । राष्ट्रपतिका लागि बुधबार भएको दोस्रो चरणको मतदानमा विपक्षी दलहरूले भने धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।

निर्वाचनमा एघार विपक्षी दलको गठबन्धन उम्मेदवार बनेका ग्राइगोल भासाजले ४० प्रतिशत मत प्राप्त गरेका छन् । हाल निर्वासनमा रहेका पूर्वराष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रूपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।

सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यसपटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्ने बताइन्छ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नवनिर्वाचित ६६ वर्षीया जुराबिसभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वाचित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् ।

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा जुराबिसभिलीले ३९ प्रतिशत र अर्का उम्मेदवार भासाजले ३८ प्रतिशत मत प्राप्त गरेका थिए । जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।