विधान संशोधन मस्यौदामाथि छलफल गर्न कांग्रेस बैठक शुरु

विधान संशोधन मस्यौदामाथि छलफल गर्न कांग्रेस बैठक शुरु


विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ ।

यसअघि मंसिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो । यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले मुलुकको संघीय संरचनाअनुसार पार्टीको विधान समयानुकूल परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

कांग्रेसले विधान परिमार्जनका लागि यही मंसिर २८ देखि पुस ३० गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौंमा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।