काबुल आक्रमणका घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि

काबुल आक्रमणका घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि


अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।