इमरानका सय दिन, सबैतिर सुधारको संकेत

इमरानका सय दिन, सबैतिर सुधारको संकेत


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सयदिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक वृद्धि गर्ने संकेतहरू देखिएको खान सरकारको दाबी छ ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारी अधिकारीहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूको ठूलो उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरूमध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए । उनले सरकारको काम प्रगतिपूर्ण नै रहेको दाबी गर्दै अरू १६ काम पनि सन्तोषजनक तरिकाले अगाडि बढेको बताए ।

यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तीकरण, कृषि क्षेत्रको उत्थान र पानीको स्रोतको संवद्र्धन, सामाजिक सेवामा परिवर्तन तथा राष्ट्रिय सुरक्षा गरी ६ वटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिए ।

गत अगस्त १८ मा प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएका हुन् । उनले त्यति बेला नै सयदिने योजना र कार्यक्रमहरू सार्वजनिक गरेका थिए । उनी आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बनेका हुन् ।