आईएसबीएन नम्बर अब अनलाइनबाट

आईएसबीएन नम्बर अब अनलाइनबाट


‘अन्तर्राष्ट्रिय पुस्तक क्रमांकन नम्बर’ (आईएसबीएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौं आउनु नपर्ने भएको बताए । यसअघि लेखकले आईएसबीएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो । अनलाइनबाट फारम भरेपछि आईएसबीएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बंैकबाट पठाउनुपर्नेछ । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आईएसबीएनको प्रतिनिधिका रूपमा नेपालका प्रकाशित पुस्तकलाई आईएसबीएन प्रदान गर्ने गरेको छ । उनका अनुसार अहिले त्रिविमा करिब ४० हजार पुस्तकले आईएसबीएन नम्बर लिइसकेका छन् ।

आईएसबीएनका लागि पुस्तकालयले रु. ३०० शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आईडीन्टिफिकेसन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए ।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरसीप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए । पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करिब चार लाख पुस्तक रहेका छन् ।