इजरायलद्वारा इरानमाथि आक्रमण शुरु

इजरायलद्वारा इरानमाथि आक्रमण शुरु


यही अक्टोबर १ का दिन इरानले गरेको आक्रमणको बदलास्वरूप इजरायलले इरानविरुद्ध आक्रमण शुरू गरेको छ । इजरायली सेनाले इरानको सैनिक अड्डाहरुलाई निशाना बनाएको जनाइएको छ ।

‘संसारका हरेक सार्वभौम राष्ट्रलाई भएजस्तै इजराइललाई पनि जवाफ फर्काउने अधिकार छ र यस्तो गर्नु मुलुकको कर्तव्य पनि हो’ भन्दै इजरायली सेनाका प्रवक्ताले इजरायलले इरानविरुद्ध आक्रमण शुरु गरेको जानकारी दिएका छन् । आफ्नो देशको रक्षा गर्न जुनसुकै कदम पनि चाल्ने चेतावनी इजरायलले दिएको छ ।

इजरायलले आक्रमण शुरु गरेको जानकारी दिएसँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको बताइएको छ । इरानका कैयौं ठाउँमा विस्फोटको अवाज आएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

ज्ञातव्य छ, अक्टोबर १ मा इरानले हज्बुल्लाहका नेता हसन नासरल्लाहको हत्या गरेको आरोपमा इजरायलमाथि २०० सय भन्दा बढी मिसाइल आक्रमण गरेको थियो ।