रुकुमको घुम्ती शिविरमा ४४० लाई नागरिकता

रुकुमको घुम्ती शिविरमा ४४० लाई नागरिकता


रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा घुम्ती शिविरबाट ४४० जनालाई नेपाली नागरिकता प्रदान गरिएको छ । यहाँको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ का सेवाग्राहीले गाउँमै सेवा पाएका हुन् ।

शिविरमा २६७ महिला र १७३ पुरुषलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । एक दिनका लागि तय गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि दुई दिनसम्म शिविर सञ्चालन गरेर यहाँका सेवाग्राहीलाई नागरिकता वितरण गरिएको बताइएको छ । नागरिकता लिनेमा पुरुषभन्दा महिला बढी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

रेग्मीका अनुसार शिविरमा सेवाग्राहीको बाक्लो भिड लागेपछि एक दिन थप गरेर बिहीबार बेलुकीसम्म सेवा प्रदान गरिएको थियो । शिविरको पहिलो दिन २३३ र दोस्रो दिन २०७ जनाले नागरिकता प्राप्त गरेको प्रजिअ रेग्मीले बताए ।

शिविरमा कम्प्युटरबाट सेवाग्राहीलाई नेपाली नागरिकता प्रदान गरिएको थियो । दुईदिने शिविरमा सबैभन्दा ज्येष्ठ ७२ वर्षीया तुलसा खत्री भण्डारीलाई नागरिकता वितरण गरिएको थियो । स्थानीयस्तरमै सेवा पाउनुपर्ने जनताको अपेक्षा र गृह मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयले चौरजहारीमा शिविर सञ्चालन गरेको हो ।
नेपाली नागरिकता वितरणसँगै शिविरमा जिल्ला निर्वाचन कार्यालयले समेत चार सय बढी मतदाताको नामावली संकलन तथा अद्यावधिक गरेको छ ।

उता, पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तीलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् ।

शिविरमा क्याप्टेन डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएको हो । नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर आयोजना गरेको हो ।

शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरियो । ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको पालिका अध्यक्ष सन्तोष थापामगर बताए । स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका नागरिक खुसी भएका छन् ।