नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेपालको एक मात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् ।
इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलद्वारा संयुक्त रूपमा राजधानीमा आयोजित युवा सम्मेलनको उदघाटन गर्दै सभापति देउवाले भने, ‘कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत रहेको पार्टी हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोसिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताए ।
कांग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्तिप्रक्रिया सफल भएको अवगत गराउँदै देउवाले कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको उल्लेख गरे ।
सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशितालाई अंगीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए ।
कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवअधिकारका लागि दशकौँ लामो संघर्षपछि कांग्रेसकै नेतृत्वमा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताए । निधिले नयाँ संविधान कार्यान्वयनका लागि कांग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफल रूपमा सम्पन्न भएको धारणा व्यक्त गरे ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै नेपालमा प्राकृतिक स्रोतसाधनको अपार सम्भावना रहेको र मुलुकमा राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धितिरको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको उल्लेख गर्दै सरकार कामभन्दा बढी प्रोपोगाण्डामा लागेको आरोप लगाए ।
तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया