अमेरिका प्रवेशको माग गर्दै आप्रवासीले भोक हडताल गर्ने

अमेरिका प्रवेशको माग गर्दै आप्रवासीले भोक हडताल गर्ने


दशजना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हडताल शुरु गर्ने घोषणा गरेका छन् ।

‘हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौँ । र हामी भोकहडताल गर्दै छौँ,’ होन्डुरसकी क्लाउडिया मिरान्डाले बताइन् । तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरूले आप्रवासीको रूपमा अमेरिका प्रवेश गर्न र आवेदनसमेत लिन अस्वीकार गरेकोमा आक्रोश व्यक्त गरिन् ।

उत्तरी मेक्सिको शहर तिजुआनामा हाल ६ हजारभन्दा बढी मध्यअमेरिकीहरू अमेरिका प्रवेशको पर्खाइमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिस आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाइ रहेको बताइन्छ । उनले मध्यअमेरिकी आप्रवासीहरू आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने बताएका छन् ।

सीमाक्षेत्रमा हाल हजारौँ सैनिक परिचालन गरिएको छ । भोक हडतालमा उत्रने घोषणा गरेका महिलाहरूले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीसँग आग्रह गरेका छन् । उनीहरूले आफ्नो भोक हडताल कति दिन गर्ने भन्नेबारे अझै निर्णय गरेका छैनन् ।

अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करिब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करिब पाँच सय आप्रवासीले आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर, उनीहरूलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।