भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएको प्रतिक्रिया दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे प्रतिक्रिया दिँदै जोलीले उक्त रिपोर्ट भारतले स्वीकार नगर्ने खुलासा गरेका हुन् ।
इपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरूसँग कुनै छलफल नै नगरिएको उनको दाबी छ । नागरिक समाज, पत्रकार, राजनीतिकर्मी, शिक्षाकर्मी, विद्यार्थी नेता र उद्योगपतिहरूको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल नगरिएको जोलीको आरोप छ । यस्ता सरोकारवालाहरूसँग छलफल नै नगरी बनाइएको प्रतिवेदनको कुनै सार्थकता नभएको तर्क उनको छ ।
साक्षात्कारमा बोल्दै उनले आफू इपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो पोखे । जोलीले भने, ‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन । प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो त्यो उनीहरूले पूरा गरेका छैनन् । बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन ।’
नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको बताए । तर, इपीजीका सदस्यहरुले प्रतिवेदन तयार पार्दा आफूसँग कुनै छलफल र राय नै नलिएको गुनासो उनले पोखे । उनले भने, ‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन । कुनै एक सिद्धान्तविशेषमा बनाइएको प्रतिवेदन सार्थक हुँदैन ।’
यसरी रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि इपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे । उनले भने, ‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा इन्फास्ट्रक्चरको कुरा होस, या हाइड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस्, यससम्बन्धी एक्टिभ प्लेअर्सहरूसँग वार्ता भएन् । यसमा मेरो गहिरो दुःख छ । इपीजीले प्राथमिक कुराहरू नै पूरा गर्न सकेन । यो मेरो आलोचना होइन, तर यसलाई उहाँहरुले ‘कन्स्ट्रक्टिभ–सजेशन’को रुपमा लिनुपर्छ ।’
आफू धेरै वर्षदेखि नेपालको राजनीतिक घट्नाक्रमसँग जोडिएको सुनाउँदै जोलीले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेपनि आफ्नो एकमात्र जोड भनेको नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर र मजबुद बनाउनु रहेको स्पष्ट पारे । उनले भने, ‘म त नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने पक्षधर हुँ । यो सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ । म अहिले पनि यही काममा लागिरहेको छु ।’
नेपालले पछिल्लो समय धेरै प्रगति गरेको र अहिले नेपाल–भारतबीच सक्रिय सम्बन्ध रहेको पनि जोलीले सुनाए । उनले भने, ‘भारतमा भाजपाको सरकार बनेपछि र नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि द्विपक्षीय सम्बन्ध सक्रियताका साथ अघि बढेको छ । अहिले हामीबीचको सम्बन्धले गति लिएको छ । यो गति अविस्मरणीय र ऐतिहासिक छ ।’
नेपालमा एउटा बम पड्कियो भने यसको महशुस दिल्लीमा पनि हुने उनको भनाई छ । उनले भने, ‘हाम्रो एक मात्र स्वार्थ भनेको शान्तिप्रिय र विकासशील नेपाल नै हो ।’ भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको उनको जिकीर छ । उनले भने, ‘अहिले हामीबीच राजनीतिक रुपमा मात्रै नभई सांस्कृतिक रुपमा पनि वार्तालापहरु भैरहेका छन् । यो खुशीको कुरा हो ।’ उनले भारतको तर्फबाट जुन तह र तरिकाको नेपालप्रति विश्वास, समर्थन र सम्मान रहँदै आएको छ अब त्यही तवरको सम्मान भारतप्रति नेपालको तर्फबाट पनि हुनुपर्नेमा जोड दिए ।
नेपालमा संविधान जारी हुँदै गर्दा मधेश आन्दोलन भएको सुनाउँदै त्यसमा भारतलाई मुछ्नु भारतप्रति अन्याय भएको उनको टिप्पणी छ । उनले भने, ‘भारतको सहयोगमा आन्दोलन भएको भनेर आरोप लगाइयो, यो भारतप्रति बेइन्साफी थियो । यहाँका पहाडी र मधेशी जनता नेपाली नै हुन् ।’ उनले नेपालको राजनीतिक घटनाक्रमको पुँजी वा चाबी भारतको नयाँ दिल्लीमा नभएर नेपालकै काठमाडौंमा रहेको स्पष्ट पारे । उनले भने, ‘नेपालमा जे÷जति समस्या छन्, ती सबै वार्ता तथा सम्वादको माध्यमबाट नै हल गर्नुपर्छ । हाम्रो जोड हरदम यसैमा छ ।’
प्रतिक्रिया